अझै आएन सुनिश्चितताको बजेट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार २३ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-काम सकियो । तर बजेट भने नआउँदा खेलकुदकर्मी यतिबेला विलखबन्दमा परेका छन् । राष्ट्रिय खेलकुद परिषदले सुनिश्चितताको बजेट विनियोजन गरेपछि खेलकुद पुर्वाधार निर्माणका काम फटाफट गरिएको थियो । असारको अन्तिम साता छुनै लाग्दा समेत बजेट नआउँदा थप काम अगाडि बढ्न नसकेको सम्बन्धितले बताएका छन् ।
सुनिश्चिताको बजेट आउने आशामा काम अगाडि बढाइएको छ । तर बजेट नै नआउँदा काम रोकिने अवस्थामा पुगेको छ । लामाचौरको गोस्ते खेलमैदानलाई ३० लाख रुपैयाँ बजेट थियो । परिषदले ट्रायथोलनको लागि २५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

फेवातालसँगै जोडिएको पुम्दीमा ट्रायथोलनको भेन्यु बनाउने संघले जनाएको छ । संघका सचिव प्रकाश बरालका अनुसार ग्याबिन जाली र जमिनको लेभलिङ गर्ने काम भईरहेको उनले बताए । ‘ट्रायथोलनको एकेडेमी बनाउने लक्ष्य हो । त्यसै अनुसार हामीले काम गरिरहेका छौं ।’ उनले भने –‘फेरी पनि बजेट परेको छ । एकेडेमीको अभियान अन्तर्गत काम पुरा गर्न सकिए स्पोर्टस टुरिज्मको रुपमा विकास हुने विश्वास लिइएको छ ।’

स्थानीयस्तरको सहयोगसँगै परिषदको आर्थिक सहयोगमा लामाचौरको गोस्तेमा फुटबल मैदानसहितको अन्य काम भईरहेको छ । फुटबल मैदानसँगै दुईस्टेपको प्यारापिट निर्माण गरिएको छ । तर बजेट समयमै नआउँदा भने चिन्ता थपिएको छ । ‘काम गरेर फस्र्याैटको विल पेश गरिएको छ । तर बजेट आएको छैन् ।’ लामाचौर खेल मैदान निर्माण समितिका सचिव बुद्धिबहादुर खत्री क्षत्रीले भने–‘बजेट आएको भए अझै काम हुन्थ्यो । तर आईनसकेकोले काम तिब्र रुपमा अगाडि बढाउन सकिएको छैन् ।’ उनले सुनिश्चिताको बजेट आउने आशमा काम लगाएको जनाउँदै ढिलो हुदाँ विश्वास नै गुम्ने पीरलो परेको बताए ।

यसैगरी पोखरा रंगशालाभित्रको ह्याण्डबलको लागि ९० लाख रुपैयाँ बजेट सुनिश्चिततामा थियो । ह्याण्डबल कोर्ट निर्माणको संघार अन्तिमचरणमा पुगिसकेको छ । कोर्ट बाहेक अन्य भौतिक पुर्वाधार तयार भईसकेका छन् । त्यसलाई फिनिसिङ टच दिन बाँकी छ ।

‘ड्रेनको काम बाँकी छ । कोर्टको जमिन सम्याउने काम गरेपछि फिनिसिङ हुन्छ ।’ नेपाल ह्याण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले भने–‘अब एकहप्ता भित्रका काम सकिने छ । ठेकेदारलाई पनि हामीले पेमेन्ट गरेका छौं ।’ एकसाताभित्र निर्माण पुरा गरी प्रतियोगिता त्यही कोर्टमा सञ्चालन गर्ने योजना समेत ह्याण्डबल संघले बनाएको छ ।
पोखरा रंगशालाभित्रै रहेको बास्केटबल कोर्टलाई पनि १० लाख रुपैयाँ सुनिश्चितताको बजेटबाट काम अगाडि बढाईएको छ । पुरानो ढलाने कोर्टलाई केही फराकिलो बनाई नयाँ ढलान गरिएको छ । स्कोरिङ बोर्ड समेत नयाँ हाल्ने संघले जनाएको छ । कोर्टको ढलानपछि काम रोकिएको छ ।

त्यसैगरी पामेको खेल मैदानलाई १५ लाख रुपैयाँ बजेट थियो भने सहारा एकेडेमीलाई पनि १० लाख रुपैयाँ छुट्टाइएको थियो । हेमजाको गौरी खेल मैदानलाई १० लाख रुपैयाँ सुनिश्चितताको बजेट उपलब्ध गराउने परिषदले निर्णय गरेको थियो । गौरी खेल मैदानको आवश्यक काम भने ढिलो भएको जिल्ला खेलकुद विकास समिति कास्कीले जनाएको छ ।