क्षेत्रीयस्तरीय बक्सिङमा कास्की च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार २८ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराद्वारा आयोजित क्षेत्रीयस्तरीय बक्सिङ प्रतियोगितामा कास्की टिम च्याम्पियन बनेको छ । कास्कीले पाँच स्वर्णसहित टिम च्याम्पियन बन्यो भने नवलपरासी एक स्वर्णसहित दोस्रो स्थानमा चिक्त बुझायो ।

पुरुष तर्फको ४९ केजी तौल समूहको प्रतिस्पर्धामा नवलपरासीका सुरज गुरुङले कास्कीका विष्णु गौतमलाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भए । ५२ केजी तौल समूहमा कास्कीका केशरबहादुर नेपालीले नवलपरासीकै अमिर गुरुङलाई पराजित गरेर स्वर्ण पदक थाप्दा कास्कीका जिनेश गुरुङले बाग्लुङका राजन श्रीमगरलाई पन्छाउँदै ५६ केजी तौल समूहमा स्वर्ण पदक आफनो नाममा लेखाए ।

बक्सर दिनेश बानियाले नवलपरासीका छविराज बोहोराको चुनौतिलाई पन्छाउँदै ६० केजी तौल समूहमा स्वर्ण पदक जिताए । उनले गत साता मात्रै काठमाडौंमा आयोजित प्रकाश दाहाल स्मृति बक्सिङ प्रतिस्पर्धामा आफनो तौल समूहमा स्वर्ण पदक जितेका थिए । ६४ केजी तौल समूहमा कास्कीका अमृत गुरुङले कास्कीकै विकल तिवारीलाई हराउँदै व्यक्तिगत स्वर्ण पदक भिर्न सफल भए । कास्कीकै सविन गुरुङले सहकर्मी कास्कीकै युवराज श्रेष्ठलाई टेक्निकल नकाउटको आधारमा पराजित गर्दै ६९ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भए ।

महिला तर्फको प्रतिस्पर्धामा कास्कीकी शिसम थापा मगरले रुपन्देहीकी संगीता दंगाललाई पराजित गर्दै स्वर्ण पदक जितिन । उनी प्रतियोगितामा बेष्ट फाईटरबाट समेत सम्मानित भईन् । पुरुष तर्फ भने कास्कीका केशरबहादुर नेपाली बेष्ट फाईटरबाट पुरस्कृत भए । विजेता खेलाडीहरुलाई पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी, क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यबहाक अध्यक्ष सम्पन्न श्रेष्ठ लगायतले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।