फुटबल विकास कार्यक्रम गर्न मर्सीकोर र आदर्श युवाक्लब बीच सम्झौता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार २९ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-आदर्श युवा क्लब भण्डारढीकले मर्सीकोर नेपालसँग तेस्रो चरणको कार्यक्रम गर्न बिहीबार सम्झौता भएको छ । मर्सीकोरले लेखनाथको फुटबल विकाससँगै युवा नेतृत्व सम्बन्धी तालिम प्रदान गर्न यसअघि दुई चरणका कार्यक्रम पुरा गरिसकेको छ । दुई चरणको कार्यक्रममा गैरसरकारी संस्था मर्सीकोर नेपालले आदर्श युवा क्लब भण्डारढीकलाई ८० लाख रुपैयाँ हस्तान्तरण गरी कार्यक्रम सम्पन्न गरिसकिएको छ ।

तेस्रो चरणको कार्यक्रम अन्तर्गत संस्थाले क्लबलाई ४१ लाख ७१ हजार ३७ रुपैयाँ आर्थिक सहयोग दिने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार कार्यक्रम दश महिना गरिने छ । कार्यक्रम अनुसार युवा तथा प्रशिक्षकलाई फुटबल सम्बन्धीत तालिम तथा परामर्श दिईने लक्ष्य छ । क्लबका अध्यक्ष लक्षु भण्डारीले फुटबलको विकाससँगै युवा नेतृत्व विकास, समुदायमा सकारात्मक विकासको लागि युवा परिचालन लगायनका कार्यक्रम समावेश गरिएको बताए ।

मर्सीकोरले कास्कीसँगै कैलाली, भक्तपुर, मकवानपुर लगायतका जिल्लामा फुटबल विकासको लागि ग्रास रुटका कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । फुटबलको लागि आवश्यक भौतिक पुर्वाधार क्षेत्रमा समेत संस्थाले आर्थिक सहयोग गर्दै आएको अध्यक्ष भण्डारीले बताए । ‘फुटबलको ग्रास रुट विकास कार्यक्रमसँगै युवा नेतृत्व विकासको लागि मर्सीकोरले नै प्रशिक्षक खटाउने छ ।’ उनले भने ‘यो वर्ष फुटबलका पुर्व राष्ट्रिय खेलाडी जीवन सिंकेमान आउने छन् ।’ गतवर्षको कार्यक्रममा भने पुर्व राष्ट्रिय खेलाडी उपेन्द्रमान सिंह आएका थिए ।

मर्सीकोर नेपालले पहिलो चरणको लागि आदर्श युवा क्लबसँग ५० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । उपलब्ध गराएको आर्थिक सहयोगबाट क्लबले ग्रास रुट कार्यक्रम शुरु गरिएको थियो । लेखनाथ क्षेत्रकै ९ वटा विद्यालयसँग आवश्यक साझेदारी गर्दै कार्यक्रम गरिएको उनले सुनाए । विद्यालयलाई डेढ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो । कार्यक्रमको प्रभावकारी अुनगमन भने सम्बन्धी संस्थाले नै गर्दै आएको छ ।

संस्थाकै दोस्रो चरण अन्तर्गत भण्डारढीक खेल मैदानको दक्षिण तर्फ प्यारापिट निर्माण र चेन्जिङ रुम निर्माणको लागि आर्थिक सहयोग हस्तान्तरण गरेका थिए । संस्थाकै सहयोगमा २५ लाख रुपैयाँको लागतमा प्यारापिट र ५ लाख रुपैयाँले फुटबलको लागि अत्यावश्यक चेन्जिङ रुम निर्माण गरिएको समेत आदर्श युवा क्लबका अध्यक्ष भण्डारीले बताए ।
यसैबीच संस्थाले दुईजना बालबालिकालाई राजदूत नै बनाई विदेश भ्रमण समेत गराउँदै आएको छ ।

यो वर्ष पनि राजदूतको ६ जना बालबबालिकाका ेअन्तिम नामावाली पेश गरिने उनले बताए । पेश गरिएको नाम अनुसार नै संस्थाले छनोट गरी आगामी २०२२ मा आयोजना हुने विश्वकपस्थल कतार भ्रमण गराउने छ । क्लबका अध्यक्ष भण्डारी र मर्सीकोर नेपालका कार्यक्रम व्यवस्थापक नविन लामिछाने बीच तेस्रो चरणको कार्यक्रमको लागि बिहीबार मात्रै सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।