आगामी भदौमा पुरुष बिच भलिबल प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ३० गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पाँच वर्षपछि पोखराको फेवाताल किनारमा पुरुष बिच भलिबल प्रतियोगिता हुदैं छ । कास्की जिल्ला भलिबल संघले भदौको १ गते तेस्रो सस्करणको बिच भलिबल प्रतियोगिता गर्ने निर्णय गरेको संघका उपाध्यक्ष बावुराम केसीले सुनाए । उनले संघको भावी कार्ययोजना प्रस्तुत गर्दै बिच भलिबल प्रतियोगिता गरिने जानकारी दिए ।

पोखरामा बिच भलिबल ०६९ सालदेखि नै शुरु भएको हो । तत्कालिन नेपाली सेनाका पश्चिम पृतनाकाका पृतनापति भिक्टोर शमसेर जबराको पहलमै लेकसाईडस्थित रत्नमन्दिरको चौरमा कोर्ट निर्माण गरिएपछि प्रतियोगिता आयोजना गरिएको थियो । नेपाल भलिबल संघले ०६९ सालमा पहिलो पटक बिच भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । कोर्ट निर्माणपछि कोर्टको उदघाटन गर्दै मैत्रीपूर्ण मिक्स्ड बिच भलिबल समेत खेलिएको थियो ।

त्यसको वर्षदिनपछि कास्की जिल्ला भलिबल संघले राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेको थियो । नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङका अनुसार त्यतिबेला आयोजित प्रतियोगिताको दुवै सस्करण नेपाल प्रहरीको टोलीले उपाधि उचालेको थियो । प्रहरीका खेलाडीद्वय भरत शाह र सन्जय अर्यालको जोडीले नेपाली सेनाको टोलीलाई पराजित गर्दै उपाधि रक्षा गरेको थियो ।

जबराकै पहलमा पोखरा रंगशालाभित्र समेत बिच भलिबल कोर्ट निर्माण शुरु गरिएको थियो । यद्यपी त्यसलाई पछि स्थागित गरिएको थियो । अहिले सोही ठाँउमा चार वटा कोर्टसहित भलिबल प्रशिक्षण केन्द्रको रुपमा विकास गरिएको कास्की जिल्ला खेलकुद विकास समितिक अध्यक्ष समेत रहेका गुरुङले बताए । पुर्व पृतनापति जबराले फेवाकिनारसँगै पृतनामा समेत बिच भलिबल कोर्ट निर्माण गरेका छन् ।

‘तालकै किनारमा आयोजना हुने बिच भलिबलले पोखराको खेलकुद क्षेत्रमा नयाँ आयाम थपिने विश्वास भलिबल संघले लिएको छ ।’ उपाध्यक्ष केसी भने–‘प्रतियोगिताले बिच भलिबलको गन्तव्यको रुपमा विकास गर्न समेत सहज हुने छ ।’ उनले भलिबल खेलको बिकासका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने औल्याउँदै पोखराको भलिबलको इतिहासलाई फेरी ब्युताउँनुपर्ने जोड दिए ।

केही वर्षयता पोखराको महिला तथा पुरुष भलिबलको स्तर निकै खस्कदै गएको छ । नियमित रुपमा उपाधि उचाल्दै बर्चस्व कायम गर्दै आएको महिला भलिबल अहिले शीर्ष चारभित्र पर्न समेत कठिनाई हुदैं गएकोप्रति स्वयं भलिबलसंघ नै चिन्तित बनेको छ । आगामी भदौ १ गते देखि ३ गतेसम्म पोखरामा हुने खुल्ला पुरुष बिच भलिबल प्रतियोगिताको प्रथम र दोश्रोले क्रमश नगद ३० र २० हजारका साथमा ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गर्ने छन । पुरस्कार राशी केही बढ्न सक्ने सम्भावना छ ।

कास्की जिल्ला भलिबल संघले गाँउपालिका स्तरिय महिला÷पुरुष प्रतियोगिता आयोजना गर्ने मेयर कप भलिबल प्रतियोगिता, विद्यालय स्तरिय छात्र÷छात्रा प्रतियोगिता, वार्षिक रुपमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने, ट्रेनिङ सेन्टरलाई व्यवस्थित बनाउने, खेलाडी अक्षय कोषको स्थापना गर्ने, राष्ट्रिय रेफ्रि कोर्ष लगायतका कार्यक्रम गरिने जनाएको छ ।

कास्की जिल्ला भलिबल संघले खेलाडीलाई प्रोत्साहन दिन वािर्षक रुपमा एक–एक जना महिला तथा पुरुष खेलाडीलाई सम्मान गर्ने जनाएको छ कास्की जिल्लामा भलिबलका खेलाडी उत्पादन गर्न एक विद्यालय एक भलिबल खेलाडी कार्यक्रम सञ्चालन गरी भलिबलको स्तर माथि उकास्ने ठोस पहल समेत गरिने योजना संघले बनाएको छ ।
यसैबीच कास्की जिल्ला भलिबल संघको शनिबार पोखरामा सम्पन्न सातौं साधारणसभा मार्फत भीम पराजुलीको अध्यक्षतामा संघ पुर्नगठन गरिएको छ । बरिष्ठ उपाध्यक्षमा खगेन्द्र गौचन, उपाध्यक्षमा बाबुराम केसी, सचिबमा कुमार गुरुङ, कोषाध्यक्षमा टंकराज पौडेल र सहसचिबमा शेषकान्त शर्मा रहेका छन । सदस्यमा मनशान्त घिमिरे, तारानाथ पहारी, बुद्ध सिंह, राजेन्द्र जिशी, कृष्ण जोशी, योगेन्द्र बस्नेत, बलराम तिमिल्सीना र गोपाल थापा रहेका छन ।