विश्वकपको महाभिडन्त आज, पौने नौबजे

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ३१ गते २०७५ मा प्रकाशित


एजेन्सी- एक महिने लामो रसिया विश्वकपले विधीवत रुपमा आजबाट विश्राम लिने छ । चार वर्षपछि कतारमा भेट हुने गरी उपाधि दिदैं रसियाबाट फुटबलको महाकुम्भ मेलाको विदाई हुने छ ।

२१ औं सस्करणको विश्वकपको यो दौडमा उपाधिको लागि पुर्व विजेता फ्रान्स र इतिहास लेखेको क्रोएसिया बीच भिड्दै छन् । राती पानै नौ बजे लुज्निकी रंगशालामा हुने फाइनलमा यी दुई युरोपियन राष्ट्रले खेल्ने छन् ।

क्रोएसिया पहिलो पटक विश्वकपको फाईनलमा पुग्दै इतिहास लेखाएको छ । उता फ्रान्सले भने सन २००६ मा दोस्रो पटक विश्वकप उचाल्ने सपनालाई यो वर्ष पुरा गर्ने लक्ष्य लिएको छ । उपाधि दोस्रो पटक उचाल्ने योजना बुनिरहेको छ । फ्रान्सले १९९८ मा घरेलु भूमीमा विश्वकपको उपाधि उचालेको थियो । ग्रुप अफ डेथ समुहबाट माथि उठेको क्रोएसियाले नकआउट चरणमा संघर्षपूर्ण जित निकाल्दै फाइनलसम्मको यात्रा तय गर्दै आएको हो । त्यसैले फाइनलमा पनि क्रोएसियाले फ्रान्सलाई पराजित गर्न सक्ने क्षमता राख्दछ ।

क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने १३ औं राष्ट्र हो भने युरोपबाट १० औं राष्ट्र हो । अहिलेसम्म फाइनल पुगेका मध्ये ८ टोलीले मात्रै उपाधि जित्न सफल भएका छन् । क्रोएसिया च्याम्पियन बने विश्वकप जित्ने नवौ र विश्वकपले नयाँ च्याम्पियन पाउनेछ । क्रोएसियाको यो ऐतिहासिक यात्रामा कप्तान लुका मोड्रिच, इभान राकिटिच, इभान पेरिसिच, मारियो म्यान्जुकिच र गोलरक्षक सुवासिच हतियार हुनेछ ।

यता, उपाधिको दावेदार मानिएको फ्रान्स क्रोएसियालाई पराजित गर्दै विश्वकपका दोस्रोपटक च्याम्पियन बन्ने योजनामा हुनेछ । फ्रान्सको उपाधि यात्रामा टिनेजर केलियन एमबाप्फे एन्टोइन ग्रिजम्यान, पल पोग्वा र ह्युगो लोरिस सारथी बन्नेछन् । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पलाई खेलाडी र म्यानेजरको हैसियतमा विश्वकप जित्ने महत्वपूर्ण अवसर आएको छ ।

फ्रान्सले उपाधि जितेमा डेसच्याम्प खेलाडी र प्रशिक्षकको रुपमा उपाधि जित्ने तेस्रो व्यक्ति बन्नेछन् । यसअघि ब्राजिलका मारियो जागोलो र जर्मनीका फ्रानज बेकेनवाअरले खेलाडी र प्रशिक्षकको रुपमा उपाधि जित्न सफल भएका थिए । फ्रान्सले सेमिफाइनलमा बेल्जियमलाई हराएर फाइनलमा स्थान पक्का गरेको थियो । क्रोएसियाले इंग्ल्यान्डलाई हराएर फ्रान्ससंगको भेट पक्का गरेको थियो ।

दुई टोलीबीच हालसम्म पाँच खेलमा भेट भएको छ । १९९८ को विश्वकपको सेमिफाइनलमा फ्रान्सले क्रोएसियालाई २– १ ले हराएको थियो । १९९९ मा भएको मैत्रीपूर्ण खेलमा फ्रान्स ३–० ले विजयी हुदा २००० मा भएको मैत्रीपूर्णमा पनि फ्रान्सले २–० को जित निकालेको थियो । यस्तै गोल्डेन बुटको दौडमा इग्ल्याण्डका कप्तान ह्यारी केन अगाडि छन् । उनी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानामा छन् । उनले ६ गोल गरेका छन् । फ्रान्सका केलियन एमवाप्पे, ग्रिजमन तथा क्रोएसियाका कप्तान लुका मड्रिच गोल्डेन बलको दावेदारीमा छन् ।