महानगरपालिका र चारै गाउँपालिकाको खेलकुद पुर्वाधार अवस्थाको विवरण प्रदेश सरकारलाई पेश

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण १ गते २०७५ मा प्रकाशित


धन बस्नेत, पोखरा-जिल्ला खेलकुद विकास समिति कास्कीले महानरपालिका र चारै गाउपालिकामा सम्भावित क्षेत्रको पहिचान गरी बर्तमान खेलकुदको अवस्था सहितको विवरण प्रदेश सरकारलाई पेश गरेको छ । जिल्ला खेलकुद विकास समितिले महानगरपालिकाभित्र भईरहेको पुर्वाधार र स्तरोन्नतिसहितको प्रतिवेदन बुझाएको छ । गण्डकी प्रदेश सरकारले खेलकुदको पुर्वाधारको लागि सम्भाव्य अध्ययन गर्ने जनाउँदै खेलकुदसँग विवरण माग गरेको थियो ।

महागरपालिकाभित्र भौतिक पुर्वाधारयुक्त सिंगो पोखरा रंगशाला छ । जहाँ आवश्यक भौतिक पुर्वाधार निर्माणको चरणमा र निर्माणाधिन अवस्थामा छन् । पोखरा फुटबल स्टेडियम र क्रिकेट पेभेलियन बनाई अन्तराष्ट्रियस्तरको मापदण्ड अनुसार पुर्वाधार तयार गर्ने लक्ष्य राखिएको छ । बहुउद्देश्यीय कभर्ड हल, भलिबल कोर्ट, व्याडमिन्टन कोर्ट निर्माणाधिन, ह्याण्डबल कोर्ट, लनटेनिस कोर्ट र आर्चरी मैदान छन् ।

महानगरपालिकाका विभिन्न वडामा खेलकुदका सम्भावित पुर्वाधार बनाउन सकिने मैदान समेत छ । लेखनाथ भण्डारढीकस्थित रंगशालासँगै बहुउद्देश्यीय कभर्ड हल निर्माणाधिन अवस्थामा छ । जहाँ राष्ट्रिय खेलकुद परिषदले ५० लाख निर्माण सहयोग दिएर काम शुरु गरिएको हल अहिले रोकिएको छ । त्यसैगरी पोखरा वडा नं १० स्थित अमरसिंह माविको स्वामित्वको रहेको अमरसिंह खेल मैदान पनि पुर्वाधार निर्माणको लागि योग्य रहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालका अनुसार मालेपाटनस्थित खेलमैदानलाई संरक्षण गरी फुटबल प्रशिक्षण र भलिबल कोर्ट निर्माण गरिएको छ ।

पर्यटकीय क्षेत्र पामेमा समेत भलिबल कोर्टसहितको मैदान तयार गरिएको छ । हेमजास्थित गौरीशंकर खेल मैदानलाई स्तरोन्नति गर्नुपर्ने खाँचो सहितको प्रतिवदेनसहित गण्डकी प्रदेश सरकारलाई पेश गरिएको उनले बताए । उनका अनुसार कास्कीको पुम्दीभुम्दीमा ट्रायथोलन भेन्युको काम समेत अगाडि बढाइएको छ । लामाचौरस्थित गोस्ते खेल मैदान समेत निर्माणको अन्तिम चरणमा छ । ३५ रोपनी क्षेत्रफलमा फुटबल मैदानसहित अन्य पुर्वाधार तयार गरिदै छ । मौजामा समेत फुटबल मैदान निर्माणको काम भईरहेको छ । महानगरपालिकाको लगानीमा मैदान निर्माण कार्य गरिदैै छ ।

कास्कीको अन्नपूर्ण गाँउपालिकामा ३५ रोपनी क्षेत्रफलको ढिकुरपोखरी फुटबल मैदान निर्माण सम्पन्नको चरणमा छ । मैदानसँग फुटबल प्यारापिट, चेन्जिङरुम, स्टेज निर्माणको काम भईरहेको कार्यालय प्रमुख बरालले बताए । त्यसैगरी ५० रोपनी क्षेत्रफलमा पाउँदुर खेलमैदान ढिकुरपोखरी पनि निर्माणाधिन अवस्थामा छ । स्थानीय समाज सुधार युवा क्लबले गत आर्थिक वर्षदेखि काम शुरु गरेका थिए ।

अन्नपुर्ण गाँउपालिकामै पारीपाखा खेलमैदान छ जुन १५० रोपनी क्षेत्रफलमा रहेको छ । गाँउपालिका आफैंले मैदानको स्तरोन्नतिको लागि सक्रियता देखाईरहेको छ । गाउँपालिकाकै लान्द्रुकमा भने भलिबल कोर्टको पुर्वाधार छ । जिल्ल खेलकुद विकास समितिको आर्थिक सहयोगमा स्थानीय कुप्चे बराह युवा क्लबले कोर्ट निर्माण गरी खेल्न योग्य बनाएको जानकारी जिल्ला खेलकुद विकास समितिलाई प्राप्त भएको छ । गाँउपालिकामै विरेठाँटीस्थित भलिबल कोर्टको पुर्वाधार तयार गरिएको छ । स्थानीय विरेठाँटी माविमा प्यारापिटसहित पुर्वाधार निर्माणले अहिले खेलकुद गतिविधि आयोजना गरिदै आएको उनले बताए ।

कास्कीको माछापुच्छ«े गाँउपालिकामा पाँचवटा विभिन्न फरक खेल गतिविधिका मैदान रहेको प्रतिवेदन समेत प्रदेश सरकारलाई बुझाइएको छ । सार्दीखोला तातोपानीमा २० रोपनी क्षेत्रफलको खेलमैदानलाई जिल्ला खेलकुद विकास समिति कास्कीले तीन वर्षअघिदेखि आर्थिक सहयोग गर्दै निर्माण कार्य पुरा गर्ने तयारीमा रहेको छ । भुजुङखोला खेल मैदान निर्माणाधिन अवस्थामा छ । आन्तरिक पर्यटनको लागि प्रमुख गन्तव्य धम्पुसमा भलिबल खेल मैदान निर्माण गरिएको छ । १० रोपनी क्षेत्रफलको मैदानलाई स्थानीय मिलन युवा क्लबको अगुवाईमा निर्माण गरिएको थियो ।

गुराँसेभूमि भलिबल कोर्ट र बास्केटबल कोर्टको पुर्वाधार छ । गाउँपालिका र वडा कार्यालयको पहलमाा निर्माण गरिएको हो । जुन खेलमैदानलाई २०६३ सालदेखि निर्माणकार्य शुरु गरिएको थियो । गाँउकै बराह मावि खेलमैदान १५ रोपनीको छ । चालु अवस्थामा रहेको उक्त खेलमैदान विद्यालयले स्वयंले निर्माण गरेको हो । तर त्यसलाई स्तरोन्नति गर्नुपर्ने खाँचो जिल्ला खेलकुद विकास समिति कास्कीले औंल्याएको छ । कास्कीको अर्को रुप गाउँपालिकामा बरनेपोखरी रंगशाला छ । २० रोपनी क्षेत्रफलमा रहेको रंगशाला अहिले निर्माणाधिन अवस्थामा छ । गाउँपालिकाले १० लाख रुपैयाँ बजेट छुट्टाई काम अगाडि बढाएको छ ।

मादी गाँउपालिकामा २० रोपनी क्षेत्रफलको नागिधार खेल मैदान छ । जहाँ फुटबल, बास्केटबल र भलिबल खेल्न सकिने स्थानीयले जनाएका छन् । स्थानीय नागिधार सृजनशिल युवा क्लबले जग्गा खरीद गरेको र निर्माण प्रस्ताव तयार पारेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले खेलकुदको पुर्वाधार सम्भाव्य अध्ययनको लागि बजेट विनियोजन गर्दै प्रतिवेदन समेत तयार गरेको छ । मन्त्रालयले पहिलो चरणमा अन्तराष्ट्रिय क्रिकेट मैदान र गल्फ कोर्ष बनाउने भन्दै विभिन्न जिल्ला भ्रमण गरी फर्किसकेको छ । एक निर्वाचन क्षेत्र एक खेलमैदान, एक नगरपालिका एक रंगशाला लगायतको नीति समेत प्रदेश सरकारले लिएको मन्त्रालयका शाखा अधिकृत कृष्ण तिमिल्सिनाले जनाए ।