वैदेशिक प्रशिक्षण टुंगो नलागेसम्म प्रशिक्षण नगर्ने खेलाडीको घोषणा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण २ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-दुई महिने पोखराको बन्द प्रशिक्षणपछि एशियाडमा जाने सितेरियो कराँतेको टोली काठमाडौं फर्किएको छ । पदकको आशा गरिएको खेललाई बैदेशिक प्रशिक्षणमा लैजान राष्ट्रिय खेलकुद परिषदले उदासिनता देखाएपछि बन्द प्रशिक्षण रहेको टोली सुटुक्कै काठमाडौं हिडेको छ । टोली काठमाडौं प्रस्थान गरेको बारे जिल्ला खेलकुद विकास समितिलाई कुनै जानकारी नै दिईएन् । प्रशिक्षणमा रहेका खेलाडीहरुले दुई महिना लामो पोखरा प्रशिक्षणपछि वैदेशिक प्रशिक्षणको टुंगो नलागेसम्म सम्पूर्ण खेलाडीले प्रशिक्षण नगर्ने जनाएका छन् ।

खेलाडीहरुले राष्ट्रिय खेलकुद परिषद सदस्य सचिवलाई सम्बोधन गर्दै पत्र समेत लेखेका छन् । निवदेनमा यथासिघ्र बैदेशिक प्रशिक्षण व्यवस्था सम्बन्धमा उल्लेख गरेका छन् । खेलाडीहरुद्वारा हस्ताक्षरित निवदेनमा पोखराको प्रशिक्षण प्रभावकारी र उपलब्धीमुलक भएको छ भन्ने कुरा महशुस गर्दागर्दै हाल नियुक्ति भएका प्रशिक्षकहरुको कारणले सञ्चालन भईआएको प्रशिक्षणमा बाधा अडचनसँग्ै हामी सम्पूर्ण खेलाडीहरुले मानसिक याताना खेप्नुपरेको उल्लेख गरेका छन् । यसबाट उन्मुक्ति र हामीबाट सफलता प्राप्तका लागि यथासिघ्र वैदेशिक प्रशिक्षणका साथै विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुन अवसर जुराईदिन हुन अनुरोध गरेको निवेदनमा उल्लेख छ ।

निवेदनमा खेलाडीहरु परशुराम बास्तोला, दिवस श्रेष्ठ, सोनाम लामा, अनु अधिकारी, चन्चला दनुवार, सुनिता महर्जन र रिता कार्कीले हस्ताक्षर गरेका छन् । चञ्चला दनुवार र परशुराम बास्तोलाले एकल कातामा प्रतिस्पर्धा गर्ने छ । महिला तर्फ अनु अधिकारीले ५० केजी, सुनिता महर्जनले ६३ केजी र रिता कार्कीले ६८ केजीमाथिको तौल समूहमा एशियाडको एरिनामा पदकको लागि प्रतिस्पर्धा गर्ने छिन् । त्यस्तै गरी पुरुष तर्फ सोनम लामाले ५५ केजी, विजय लामा ६७ केजी र दिवस श्रेष्ठले ८४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

डेढमहिनासम्म पोखरामा प्रशिक्षक दिपक श्रेष्ठ र हिरासिंह डंगोलले प्रशिक्षण गराएका थिए । त्यसपछि कराँतेका मुख्यसहायक प्रशिक्षक दिपक श्रेष्ठ र प्रशिक्षक कुशल श्रेष्ठ प्रशिक्षणको लागि पोखरा आएका थिए । उनीहरुले पनि खेलाडीलाई केही दिन प्रशिक्षण गराए । खेलाडीहरुले विहान साढे दुई घण्टा र साँझ दुई घण्टा पोखरा रंगशालास्थित कभर्ड हलमा प्रशिक्षण गरेका थिए । प्रशिक्षणले पदकको अपेक्षा गर्न सक्ने आशा रहेपनि अन्तराष्ट्रिय(वैदेशिक) प्रशिक्षण भने अनिवार्य हुने प्रशिक्षक एवं खेलाडीहरुले बताउँदै आएका थिए ।

‘एशियाडमा पदकको लागि चुनौति र अवसर दुवै छ ।’ कराँतेका प्रशिक्षक दिपक श्रेष्ठले भने—‘पोखरामा मात्रै बन्द प्रशिक्षण गरेर पदकको आशा भने गर्न सकिने अवस्था रहेन् । बैदेशिक प्रशिक्षण जतिसक्दो छिटो गराउनुपर्छ भन्दै कुनै जानकारी नै नदिई काठमाडौं हिडियो ।’ उनले पोखरामा मात्रै प्रशिक्षणले नपुग्ने बताए । खेलाडीले समेत परिषद सदस्य सचिवलाई निवदेन नै लेखेर वैदेशिक प्रशिक्षण गराउनुपर्ने आवाज उठाउँदै प्रशिक्षण नगर्ने उदघोष गरेका छन् । परिषदले आवश्यक कागजपत्र माग गरेको छ । तर संघले त्यसको लागि आवश्यक कागजपत्र पेश नगर्दा वैदेशिक प्रशिक्षणमा जान ढिलाई भएको डेढ महिना प्रशिक्षणरत प्रशिक्षक दिपक श्रेष्ठले बताए । अब संघले आफनो दायित्व पुरा गर्नुपर्ने खाँचो देखिएको छ ।

नेपालमा २०३९ सालमा स्थापना भएको कराते खेल १९९४ को १२ एशियाली खेलकुदमा काश्य पदक प्राप्त गरेको थियो । सिता राइले उक्त पदक ल्याएकी थिइन । थाइलैण्डमा सम्पन्न १६ औ एशियाडमा सम्मर बहादुर गोलेले रजत पदक र इन्चोइनमा सम्पन्न १७ औ एशियाडमा बिमला तामाङले रजत पदक ल्याएकी थिइन ।