गल्फकोर्षमा मन्त्रीको पटिङ

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण ६ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-प्रदेश सरकारले खेलकुद पुर्वाधारको लागि स्थानको खोजीकार्य गरिरहँदा प्रदेश आर्थिक मामिला मन्त्री किरण गुरुङ भने गल्फ प्रशिक्षणमा झुकाव देखाएका छन् । उनले शनिबार पोखराको हिमालयन गल्फ कोर्ष अवलोकन गरी ग्रिनमा पटिङ गर्दै आफनो गल्फ प्रतिको अभिरुची प्रष्टयाए । मन्त्री गुरुङलाई ग्रिनमा पटिङ गर्न भेट्रान एवं एमेच्योर गल्फर मेजर लक्ष्मीप्रसाद गुरुङले सिकाएका थिए ।

गल्फ कोर्षसँगै मन्त्री गुरुङले मुस्ताङचोकस्थित गल्फ स्कुल समेत अवलोकन गरी गल्फलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । निजी क्षेत्रबाट सञ्चालित गल्फ स्कुलको जग्गा भाडा महंगो भएको गुनासो गर्दै हिमालयन गल्फ कोर्षका व्यवस्थापक भुवन गुरुङले प्रदेश सरकारले आर्थिक सहयोग गर्नुपर्ने माग गर्दै आएको मन्त्री गुरुङलाई जानकारी गराए । त्यस विषयमा मन्त्री गुरुङ समेत सकारात्मक रहेको उनले सुनाए ।

मन्त्रालयले खेलकुदको पुर्वाधार सम्भाव्यता अध्ययनको लागि १० करोड रुपैयाँ छुट्टाएको छ । विनियोजित बजेटबाट सम्भाव्यता अध्ययनसहित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाई आर्थिक वर्ष देखि कार्यान्वयनमा लैजाने सामाजिक विकास मन्त्रालयले तयारी गरेको छ ।

गण्डकी प्रदेश सरकारले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम र गल्फ कोर्ष बनाउन जग्गा खोज्ने अभियानमा धम्मरधुस लागेको छ । ११ जिल्लाको २६ ठाँउ अवलोकन गरेर टोलीले प्रतिवेदन समेत बनाईसकेको छ । गल्फ कोर्षको लागि केवल ४ ठाँउ भन्दा पनि कम ठाँउ हेरिएको छ । मन्त्रालयका अधिकारी तथा सम्बन्धीत खेलकुदका खेलकर्मीको टोलीले अध्ययन भ्रमण गरी प्रतिवेदन तयार पारेका थिए । प्रतिवेदनमाथि मन्त्रालयका अधिकारीसहित मन्त्रालयले बनाएको विज्ञ टोली बीच विभिन्न चरण छलफल समेत भईसकेको छ ।

मन्त्री गुरुङले हिमालयन गल्फ कोर्षको अवलोकनपछि पोखराको पाँचतारे होटल फुलबारीस्थित गल्फ कोर्ष समेत अवलोकन गरेर फर्किएको नेपाल गल्फ संघका केन्द्रीय सदस्य भुवन गुरुङले बताए । फुलबारी रिसोर्टभित्र रहेको गल्फ कोर्ष केवल ९ होलको मात्रै छ ।