एयरपोर्टको जग्गामा क्रिकेट स्टेडियम र गल्फ कोर्ष बनाउन सकिने खेलकुदकर्मीको सुझाव

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण ७ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-तीन वर्षपछि क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्ने आशा र विश्वास पोखरबासी छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पुरानो विमानस्थल प्रयोग विहीन हुने छ । तर खेलकुदकर्मीले भने प्रदेश सरकारको योजना अनुसारको अन्तर्राष्ट्रिय बहुउपयोगी खेल मैदान, गल्फ कोर्ष तथा एकिकृत खेलकुद एकेडेमी लगायतको खेलकुदको पुर्वाधार निर्माण गर्नुपर्ने सुझाव दिएका छन् ।

सयौं रोपनी क्षेत्रफलमा रहेको पुरानो एयरपोर्टको धावनमार्ग भन्दा पुर्व तर्फको जग्गामा गल्फ कोर्ष बनाउन सकिने सामाजिक विकास मन्त्रालयद्वारा आयोजित छलफलमा सुझाव पेश गरेका थिए । छलफलमा नेपाल गल्फ संघका सदस्य एवं पोखरेली गल्फर भुवन गुरुङले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पुरानो विमानस्थलको जग्गामा गल्फ कोर्ष बनाउन सकिने सुझाव दिए । ‘तीन वर्षपछि अन्तर्राष्ट्रिय एयरपोर्ट बनेपछि पुरानो एयरपोर्टको जग्गामा गल्फ कोर्ष बनाउन सकिन्छ ।’ उनले भने ।

प्रदेश सरकारले निजी क्षेत्रबाट सञ्चालित हिमालयन गल्फ कोर्षलाई पिपिपि मोडलमा सहकार्य गर्दै अगाडि बढ्न सकिने सामाजिक विकास मन्त्रालयको अधिकृत तिमिल्सिनाले सुनाए । उनले सिचाईको जग्गामा क्रिकेट र गल्फ कोर्ष बनाउन सकिने प्रतिवेदनमा उल्लेख गरेका छन् । जुन प्रतिवेदनलाई अन्तिम रुप दिन विभिन्न खेल संघमा आवद्ध सरोकारवालासँग छलफल गरिएको थियो ।

फुलबारी रिसोर्टभित्रको ९ होलको गल्फ कोर्षलाई एकेडेमीको रुपमा अगाडि बढाउँदै सोसियल गल्फ क्लबको रुपमा विकास गर्न सकिने अवधारणा समेत अघि सारिएको छ । क्रिकेट मैदान बनाउन भरतपोखरीस्थित पशुपति घाटको जग्गालाई कास्की जिल्ला क्रिकेट संघले प्रस्ताव गरेको छ । मुस्ताङ हाइअल्टिच्युड खेल मैदान निर्माण गर्ने योजनासहितको प्रतिवेदन गण्डकी प्रदेश सरकारलाई बुझाउने तयारी गरिएको छ । सामाजिक विकास मन्त्रालयद्वारा गठित खेलकुद विज्ञ टोलीले ै पोखरासँगै अन्य जिल्लामा पनि खेलकुदको पुर्वधार बनाउनुपर्ने जोड दिदैं निचोड निकालेका छन् ।

गण्डकी प्रदेश सरकारले खेलकुदको पुर्वाधारको लागि पाँचवटा बुदाँलाई प्राथमिकतामा दिएको छ । हाईअल्टिच्युड तालिम केन्द्र, सुविधा सम्पन्न अन्तर्राष्ट्रिय बहुउपयोगी खेलमैदान निर्माण, एक स्थानीय तह एक खेल मैदान, एकिकृत खेलकुद एकेडेमी र अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा गल्फ कोर्ष निर्माणलाई प्राथमिकता दिएको सामाजिक विकास मन्त्रालयका अधिकृत कृष्ण तिमिल्सिनाले बताए । उनले आईतबार तिनै विषयमा छलफल गर्दै अन्तिम निष्कर्षको नजिक पुगेको जानकारी दिए । छलफलका उठेका कुरालाई समावेश गर्दै केही परिमार्जन गरी अन्तिम प्रतिवेदन सरकार समक्ष पेश गर्ने योजनामा रहेको उनले सुनाए ।

प्रदेश सरकारलाई मुस्ताङको लुङसाङमाा हाल्टिच्युड तालिम केन्द्र निर्माण प्रस्ताव गरिएको छ । ३ हजार मिटरको उचाईमा रहेको उक्त ठाँउमा अल्टिच्युड तालिम केन्द्र बनाउन उपयुक्त हुने विज्ञ टोलीले समेत सुझाव दिएका छन् । संघीय सरकारले पनि एक करोड ४१ लाखको लागतमा मनाङको तिमाङमा हाईअल्टिच्युड खेल मैदानसहितको तालिम केन्द्र बनाइएको छ । जुन २७ सय मिटर उचाईमा छ ।

सुविधा सम्पन्न अन्तर्राष्ट्रिय बहुउपयोगी खेल मैदान निर्माणको लागि चीन सरकारले लगानी गर्ने समेत जनाइएको छ । बहुउपयोगी खेलमैदानको लागि पोखराको १४ र १५ नम्बर वडामा पर्ने फुलबारी रिसोर्टको दक्षिणी भेग, भेडीफार्मको तल्लो भेगको जग्गालाई समेटेर बनाउन सकिने सुझाव पेश गरिएको थियो । त्यस क्षेत्रमा झण्डै १५ सय रोपनी क्षेत्रफल समेत रहेको विज्ञ टोलीका सदस्य एवं नेपाल ह्याण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले सम्भाव्य अध्ययनसहितको कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।

४१७ रोपनी क्षेत्रफलको पोखरा रंगशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल स्टेडियम, क्रिकेट पेभेलियन, लन टेनिस कोर्ट, आर्चरी, ह्याण्डबल, भलिबल प्रशिक्षण केन्द्र र व्याडमिन्टन कोर्ट तथा बहुउद्देश्यीय कभर्ड हल छन् । राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशालाभित्र सुविधासम्पन्न डोम समेत निर्माण गर्ने योजना बनाएको छ । डोम निर्माणपछि पोखरा रंगशालामा अन्य भौतिक पुर्वाधार अटाउने सम्भावन निकै कम देखिन्छ । दुई नम्बर गेटदेखि दक्षिण तर्फ स्वीमिङ पुल बनाउने परिषदको गुरुयोजनामा छ ।

छलफलमा अखिल नेपाल फुटबल संघका उपाध्यक्ष कृष्ण थापाले जग्गा उपलब्ध भएको अवस्थामा फुटबल संघ (एन्फा)ले खेल मैदान निर्माण गरिदिने स्पष्ट पारे । गण्डकी प्रदेशमा ८५ वटा स्थानीय तह छन् । एक महानगपालिका २६ नगरपालिका र ५८ वटा गाउँपालिका छन् । मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले एक स्थानीय तहमा एउटा खेल मैदान निर्माण गर्ने लक्ष्य प्रदेश सरकारले लिएको बताएका थिए । छलफलमा कास्कीका विभिन्न खेलसँग सम्बन्धीत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।