ट्रायथोलन भेन्युको जग्गा संरक्षण गर्न लगाइयो ग्याबिन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण १० गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पाखाबाट ठाडै खोल्सा झर्छ । फेवातालमा मिसिन्छ । तर त्यसको संरक्षण शुरु गरिएको छ । साहसिक खेलको रुपमा परिचित ट्रायथोलन एकेडेमीसहितको पुर्वाधार बनाउन संरक्षण गरिएको हो । तारजालीको ग्याबिन गरिएको छ । अर्को तर्फ पनि ग्याबिन भरेपछि ७५ रोपनीको भेन्यु आवश्यक पुर्वाधारको लागि योग्य बन्ने छ ।

जग्गा संरक्षण गर्न परिषदले सुनिश्चिताको बजेट २५ लाख दिएको थियो । २५ लाख रुपैयाँले खोलाको एकातर्फ ग्याबिन गरिएको छ । फेरी ५ लाख छुट्टिएको छ । त्यसले पनि अर्कोतर्फ ग्याबिन भरेर काम अगाडि बढाईने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले सुनाए । ‘ट्रायथोलनको लागि भेन्यु निकै उपयुक्त छ । तालसँगै जोडिएको जग्गालाई ग्याबिन लगाई संरक्षण गर्नुपछर्, गरिएको छ ।’ उनले भने ।

पोखरा पुम्दीभुम्दीमा ट्रायथोलन एकेडेमीको निर्माण कार्य अगाडि बढाइएको हो । ट्रायथोलनको अन्तराष्ट्रिय गन्तव्य बनाउने उद्देश्यसहित कास्की जिल्ला ट्रायथोलन संघले साविक लुकुनस्वाराँ गाविसको कि नं ६१५ को ७५ रोपनी रोपनी क्षेत्रफलमा एकेडेमीको लागि आवसिय पुर्वाधारसहित साईक्लिङ र रनिङ ट्रयाक, स्वीमिङ पुल लगायतको पुर्वाधार बनाईने लक्ष्य छ । ‘सुनिश्चितताको बजेट अनुसार जग्गाको ल्याण्डस्केपको काम गरिएको छ ।’ कास्की जिल्ला ट्रायथोलन संघका सचिव प्रकाश बरालले भने–‘खोल्सामा ग्याबिन भरिसकिएको छ । जग्गा संरक्षणको पहिलो चरणको काम टुंग्याइएको छ । ’

तत्कालिन लुकुनस्वाँरा वडा नं ८ ले ट्रायथोलनको आवश्यक पुर्वाधार बनाउन वडास्तरीय बैठकबाट जग्गा दिने निर्णय गरेको हो । वडाको बैठक २०७४ साल असार २३ गते बसेर जग्गा भोगचलनको लागि उपलब्ध गराउने निर्णय गरिएको उनले बताए । हाल पुम्दीभुम्दी पोखरा लेखनाथ महानगरपालिका वडा नं २२ अन्तर्गत पर्छ । महानगरपालिकाले पनि २०७५ जेठ १ गते उक्त जग्गालाई हकभोगको लागि आवश्यक व्यवस्था मिलाईदिनुपर्ने परिपत्र समेत गरेको जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख समेत रहेको बरालले बताए ।

संघले खोल्सामा ११० वटा दुईखण्डमा ग्याबिन जाली लगाईसकेको छ । एउटा ग्याबिन जाली दुई मिटर लम्बाई, एक मिटर चौडाई र एक मिटर उचाईको बनाईएको इन्जिनियर प्रनिस ताम्राकारले बताए । ‘इन्जिनियरिङ रुपमा काम गराई ठिक छ । अनुगमन समेत गर्यौं ।’ उनले भने– ‘ग्याबिन जाली ३ मिटर लम्बाई, एक मिटर उचाई र एक मिटर चौडाईको हालिएको छ ।’ दुवै प्रकृतिका ग्याबिन जाली ११० वटा हालिएको बताए । ग्याबिन जालीमा ढुंगा मात्रै ५५० घनमिटर भन्दा बढी लागेको छ ।

निर्माण शुरु गरिएको जग्गा सार्वजनिक हो । उक्त भेन्युलाई दक्षिण एशियालीस्तरीय ट्रायथोलन प्रशिक्षण तथा प्रतियोगिता आयोजनास्थलको रुपमा विकास गरिने नेपाल ट्रायथोलन संघ कास्कीको योजना छ । । पुम्दीभुम्दीमा खास गरी प्रशिक्षणमा आउने खेलाडी बस्ने आभाषसहितको भौतिक पुर्वाधार तयार गरिने उनको भनाई थियो । फेवातालसँगै जोडिएको उक्त ठाँउमा ट्रायथोलन गर्न सहज हुने छ । प्राकृतिक सुन्दरताले समेत भरिएको उक्त ठाँउबाट पुम्दीभुम्दीकोट, विश्वशान्ति स्तुपा, उत्तर तर्फ फेवातालसँगै हिमाली दृष्य रमणीय दृष्य देखिन्छ ।

स्टाण्डर्ड र स्प्रिन्ट दुई विधामा ट्रायथोलन प्रतियोगिता गरिन्छ । स्प्रिन्ट विधामा ७५०मिटर स्वीमिङ, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर रनिङ हुन्छ । स्टाण्र्डड तर्फ १५ सय मिटर स्वीमिङ, ४० किलोमिटर साईक्लिङ र १० किलोमिटर दौड(रनिङ) समावेश गरिन्छ । भेन्यु तालको किनारमै छ । ताल पल्लोकिनार रातोमाटो डाडाँसम्मको १५ सय मिटर दुरीमा छ । तालको किनारै किनार साईकल ट्रयाक बनाउने योजना समेत संघले बनाएको छ ।

एकेडेमी निर्माण गरिएको अवस्थामा ट्रायथलोन मार्फत पोखराको स्पोर्टस टुरिज्ममा नयाँ आयाम थपिने विश्वास छ । दक्षिण एशियालीस्तरीय ट्रायथोलन प्रतियोगिता समेत पोखरामा आयोजना गरिसकिएको छ । ट्रायथोलनको आवश्यक पुर्वाधारसहित निर्माण गरिए आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने मात्रै नभई स्थानीयस्तरको आर्थिक समृद्धिलाई पनि टेवा पुर्याउने विश्वास गरिएको छ ।  तस्बिर सौजन्य प्रनिस ताम्राकार