गाँउदेखि शहरका खेलकुद पुर्वाधारमा २३ करोड ६६ लाख खर्च

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण १० गते २०७५ मा प्रकाशित


पोखर(खेलाडी न्युज)-गाउँदेखि शहरमा यतिबेला खेलकुदकै चर्चा छ । भर्खरै विश्वकप फुटबल सकिएको छ । त्यसको रापले अझै छाडेको छैन् । फुटबलकै रापले हरेक ठाँउमा फुटबल मैदान बनाउने योजनाको माग आउँछ । मैदान भन्ने वित्तिकै फुटबल मात्रै सम्झिने परिपाटी गाँउतिर अझै छ । फुटबलसँगै गाँउघरमा सानो मैदानमा भलिबल र बास्केटबल कोर्ट निर्माण गरिएको छ । सके आफैं निर्माण गरिदैं आएको छ । नसके राज्य गुहार्ने चलन छ । सरकारले पनि एक स्थानीय तह एक खेल मैदानको अवधारणा अघि सारेको छ । राष्ट्रिय खेलकुद परिषदले पनि साना बजेट दिदैं गाँउघरका विद्यालय, सार्वजनिक चौरलाई उपयोग गर्दै खेलकुद पुर्वाधारको लागि लगानी गर्दै आएको छ ।

कास्कीमा विभिन्न खेलकुदको भौतिक पुर्वाधार निर्माणले रफ्तार लिएको छ । राष्ट्रिय खेलकुद परिषदले वर्षेनी पुर्वाधारको लागि बजेट छुट्टाउँदै आएको छ । परिषदले भौतिक पुर्वाधार निर्माणसँगै पुरानो पुर्वाधार भत्काउन समेत बजेट विनियोजन गरेको हो । परिषदले कास्की जिल्लामा खेलकुदको पुर्वाधार निर्माणमा पाँच वर्षमा २३ करोड ६६ लाख रुपैयाँ बजेट खर्च गरेको तथ्यांक छ ।

निकासा भएको बजेटले पुर्वाधारको निर्माणको काम भईरहेको छ । केही पुर्वाधारको काम भने पुरा गरिसकिएको छ । निर्माण पुरा गरेपछि पोखरा रंगशालाभित्रको सेमी कभर्ड हल भने ठेकेदार कम्पनीले जिल्ला खेलकुद विकास समितिलाई हस्तान्तरण गरिसकेको छैन् । आवश्यक भुक्तानी रकम पनि लिईसकेको छैन् । सेमी कभर्डको लागि ६५ लाख १७ हजार खर्च गरिएको छ । रंगशालाभित्र आर्थिक वर्ष २०७०÷७१ देखियता पुर्वाधार निर्माणले तिब्रता पाएको हो ।

परिषदले उपलब्ध गराएको बजेट अनुसार बहुउद्देश्यीय कभर्ड हल, आर्चरी खेल मैदान, ह्याण्डबल कोर्ट, गोस्ते खेल मैदान, भण्डारढीकको कभर्ड हल, ट्रायथोलनको भेन्युका पुर्वाधार निर्माणाधिन अवस्थामै छन् । परिषदले सबैभन्दा बढी रंगशालाभित्रको बहुउद्देश्यीय कभर्डको लागि १३ करोड ३१ लाख रुपैयाँ ठेकेदारलाई भुक्तानी गरिसकेको छ । १४ करोड ३० लाखमा निर्माणको ठेक्का दिइएको थियो । १५ महिनामै सक्ने लक्ष्य राखिएपछि अहिलेसम्म तयार भईसकेको छैन् । म्याद थप गर्दै निर्माण कार्यलाई अगाडि बढाउँदा बजेट पनि १ करोड ९० लाख रुपैयाँको भार बढिसकेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले सुनाए । उनका अनुसार कभर्ड हलमा फ्ल्स सिलिङको काम पुरा गरिएको छ । बत्ती जडान हुदैं छ ।

आर्चरी खेलमैदानलाई परिषदले पटक पटक गरेर १ करोड ६८ लाख ६९ हजार रुपैयाँ उपलब्ध गराईसकेको छ । मैदानको लागि पहिलो चरणमा ७२ लाख ६९ हजार परिषदले उपलब्ध गराएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । त्यसपछि १६ लाख रुपैयाँ थप गर्दै निर्माणलाई निरन्तरता दियो । अर्को वर्ष ३० लाख रुपैयाँ दिएर काम सम्पन्न गराउन फेरी परिषदले गएको आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरेको छ । विनियोजित कमबाट आर्चरी भवन, मैदानसँगै ड्रेन निर्माण गरिएको कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए ।

कास्की जिल्ला व्याडमिन्टन संघको सक्रियतामा निर्माण शुरु गरिएको व्याडमिन्टन कोर्टलाई १ करोड १० लाख रुपैयाँ उपलब्ध गराईसकेको छ । कोर्टको बजेट ३ करोड ५० लाख अनुमान गरिएको छ । परिषद र संघको पार्टनरसिपमा निर्माण पुरा गरिने लक्ष्य राखिएको छ । त्यसैगरी लामाचौरको गोस्ते खेलमैदानलाई पनि राष्ट्रिय खेलकुद परिषदले निकै चासो दिदैं निर्माणमा हातमालो गरिरहेको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको फुटबल मैदान निर्माण गरिएको छ । नवआर्दश सामुदायिक विकास समाजको अगुवाईमा फुटबल मैदान निर्माण गरिएको थियो । अहिले लामाचौर खेल मैदान निर्माण उपभोक्ता समितिले त्यसको अनुगमन र निरिक्षणसँगै निर्माणको जिम्मेवारी लिएको छ । परिषदले मैदानको लागि १ करोड रुपैयाँ उपलब्ध गराएको तथ्यांक छ । बजेटबाट मैदानसँगै वर्षातको पानी निकास गराउन ड्रेन निर्माण, प्यारापिट निर्माण गरिएको समितिका सचिव बुद्धिबहादुर खत्री क्षत्रीले सुनाए ।

चारवटा कोर्टसहितको भलिबल प्रशिक्षणको लागि ९७ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । उपलब्ध बजेटबाट प्यारापिट, कार्यालय भवनसहित चारवटा कोर्ट तथा वार्मअपको लागि ‘नक गर्ने वाल’ निर्माण गरिएको छ । ह्याण्डबल कोर्टको लागि गत वर्षको अन्तिममा मात्रै सुनिश्चितताको बजेट दिदैं कोर्ट निर्माणलाई अन्तिम चरणमा पुर्याइएको छ । ह्याण्डबल कोर्टको लागि ९० लाख रुपैयाँ छुट्टाइएको छ ।

अघिल्लो आर्थिक वर्षमा उपलब्ध गराएको ५५ लाखबाट निर्माण थालिएको भण्डारढीक कभर्ड हल भने अहिले अलपत्र परेको छ । विनियोजित रकमबाट हलको जग पुरेर पिलर उठाउने काम भने पुरा हुन सकेन् । निरन्तर बजेट आउन नसक्दा वर्षदिनदेखि हलको काम लठपत्रै छ । पुर्वाधार बनाउन मात्रै नभई जीर्ण बनेको दुई प्यारापिट भत्काउन समेत खेलकुद परिषदले ४४ लाख रुपैयाँ बजेट जिल्ला खेलकुद विकास समिति कास्कीलाई दिएको थियो । दिइएको बजेटबाट दर्शक र भिआईपी प्यारापिट भत्काईएको छ । जहाँ महिला सागलाई लक्षित गर्दै आधुनिक फुटबल स्टेडियम बनाउने परिषदले योजनासहित टेण्डर आह्वान गरिसकेको छ । प्यारापिट भत्काउनु अघि परिषदले एथलेटिक्स ट्रयाक मर्मत सम्भार गर्न सुर्की हाल्न ४५लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

पोखरा रंगशालाभित्र खानेपानीको व्यवस्थापनको लागि विनियोजित १७ लाख रुपैयाँले बोरिङ गरिएको छ । १५ लाखको लागतमा रंगशाला मुख्य प्रवेशद्वार, गार्ड कक्ष तथा १३० मिटर लामो वाकिङ ट्रयाक बनाइएको छ । भलिबल खेललाई लक्षित गर्दै कोर्ट नजिकै शौचालय निर्माण गरिएको छ । जुन १० लाखमा निर्माण गरिएको हो । रंगशालाभित्रैको बास्केटबल कोर्ट पुर्ननिर्माण गर्न १० लाख दिइएको छ । क्रिकेट मैदानलाई १३ लाख रुपैयाँ उपलब्ध गराईएको थियो । परिषदले पोखरालाई ट्रायथोलन भेन्यु बनाउन २५ लाख रुपैयाँ दिएको छ । उपलब्ध रकमबाट कास्कीको पुम्दीभुम्दीमा जमिनको लेभलिङ र ग्याबिन जाली भर्ने काम भईरहेको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।

गाँउ गाँउमा फुटबल मैदानसँगै अन्य खेलकुदको पुर्वाधार बनाउने चासोमा समेत परिषदले साना रकम उपलब्ध गराउँदै आएको छ । कास्कीको ढिकुरपोखरीस्थित फुटबल मैदानलाई तीन पटक गरेर २२ लाख रुपैयाँ उपलब्ध गराएको छ । विनियोजित रकमबाट फुटबल मैदानमा दुबो रोप्ने काम भईरहेको स्थानीय ढिकुरपोखरी युवा सञ्जालका शुशिल भट्टचनले बताए । ढिकुरपोखरीमा वर्षेनी क्लबस्तरीय नकाउट फुटबल प्रतियोगिता आयोजना हुदैं आएको छ । हेमजास्थित गौरीशंकर खेल मैदानलाई १२ लाख र दोस्रो वर्ष १० लाख बजेट उपलब्ध गराएपनि काम नगर्दा बजेट फर्किएको थियो ।

निजी क्षेत्रबाट फुटबल एकेडेमी सञ्चालन गर्दै आएको सहारा क्लबलाई परिषदले १० लाख रुपैयाँ उपलब्ध गराएको थियो । पामेस्थित भलिबल कोर्टलाई १५ लाख रुपैयाँ, मालेपाटन खेलमैदान संरक्षण गर्न तारजालीको लागि ४० लाख रुपैयाँ र भलिबल कोर्ट बनाउन १५ लाख रुपैयाँ परिषदले दिएको थियो । मौजामा बास्केटबल कोर्ट बनाउन ५ लाख, सादीखोलामा दुईवटा मैदानको लागि ६ लाख, विरेठाँटी माविमा भलिबल कोर्टतथा प्यारापिट निर्माण गर्न ४ लाख, भरतपोखरी तिकलाङ खेल मैदानको लागि ४ लाख ४५ हजार, बेगनासस्थित आनन्दज्योति माविको खेल मैदानलाई ५ लाख, लान्द्रुक खेल मैदानको लागि ५ लाख, भरतपोखरीकै अर्को खेल मैदानलाई ३ लाख, आदर्श क्लब भण्डारढीकलाई ५ लाख रुपैयाँ परिषदले विनियोजन गरिदिएको थियो ।