राष्ट्रिय पहिचान नै खेलकुद–मन्त्री विक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण १२ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सुख र समृद्धिसँगै राष्ट्रिय पहिचान नै खेलकुद भएको उल्लेख गर्दै खेलकुदको पुर्वाधार विकासमा सरकारको ध्यान केन्द्रीत भएको बताएका छन् । उनले शनिबार पोखरा रंगशालामा आयोजित गण्डकी प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिताको उदघाटन गर्र्दै मन्त्री विश्वकर्माले १३ औं दक्षिण एशियाली खेलुकदको केही खेल पोखरामा गर्ने दायित्व र जिम्मेवारी भएको बताए ।

‘सागका केही खेल आयोजना गर्ने दायित्व र जिम्मेवारी पोखराको छ ।’ मन्त्री विकले भने–‘त्यसको पुर्वाधार निर्माणमा केन्द्रीत भएका छौं ।’ उनले स्पोर्टसबाट टुरिज्म प्रोमोसन तर्फ ध्यान दिनुपर्ने खाँचो औल्याउँदै प्रकृतिको बरदानलाई उपयोग गरी एडभेन्चर तथा हाइअल्टिच्युड स्पोर्टस सेन्टर बनाउनुपर्ने बताए । ‘एडभेन्चर र हाईअल्टिच्युड खेलको भौतिक पुर्वाधार बनाई अगाडि बढ्न सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने थियो ।’ उनले भने ।

शारीरिक र मानसिक स्वास्थ्य नागरिकको लागि खेलकुद अपरिहार्य भएको भन्दै मन्त्री विश्वकर्माले खेलकुदलाई सबैको पहुँच भित्र पुर्याउनुपर्नेमा जोड दिए । विगतमा खेलकुद कुनै समुदायको चासो र सरोकारभित्र रहेको अभिव्यक्ति दिदै अब खेलकुद स्वास्थ्यका लागि र राष्ट्रका लागि मात्रै नभई सबैका लागि खेलकुद हुनुपर्ने स्पष्ट पारे ।

सागको तयारीमा सरकार रहेको अवस्थामा मन्त्री विकले पोखरामा आयोजना हुने साग खेलका पुर्वाधारको समेत प्रत्यक्ष अवलोकन गरेका थिए । निर्माणाधिन व्याडमिन्टन कभर्ड हल, भर्खरै राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराएको सुनिश्चिताको बजेट मार्फत निर्माण गरिएको ह्याण्डबल कोर्ट, टेण्डरको अन्तिम चरणमा रहेको पोखराको फुटबल स्टेडियम, क्रिकेट मैदान र आर्चरी खेल मैदानसँगै बहुउद्देश्यीय कभर्ड हल निरिक्षण गरेका थिए । ह्याण्डबलको लागि डोम निर्माण गर्ने परिषदले टेण्डर आह्वान गरिसकेको छ । त्यसको लागि ४ करोड रुपैयाँ बजेट छुट्टाइएको छ ।

पोखराको क्रिकेट मैदानको लागि परिषद मार्फत १० लाख रुपैयाँ छुट्टाइएको छ । मन्त्री विकले शनिबार क्रिकेट मैदान समेत निरिक्षण गर्दै क्रिकेटको लागि आवश्यक बजेट थप गर्ने आश्वासन दिएको कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष चन्द्रकुमार गुरुङले बताए । साग गेमको लागि र्आचरी खेल मैदान पनि तयारी अन्तिम चरणमा पुगेको छ । मैदान सम्याई दुबो रोप्ने काम बाँकी छ ।

४० औं पुष्पलाल स्मृति दिवसको अवसरमा नेपाल राष्ट्रिय वाणिज्य संघ कास्की, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन कास्की, उद्योग तथा व्यवसायी महासंघको संयुक्त आयोजनामा आयोजित व्याडमिन्टन प्रतियोगिताको उदघाटन गर्न मन्त्री बिक शनिबार विहान पोखरा आईपुगेका थिए । पोखरा आए लगत्तै विकलाई विभिन्न खेलकुदका संघसंस्थाले आफना गुनासा राखेका थिए । प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगितामा १८६ खेलाडीको सहभागिता रहेको छ । मेन्स डबल्स तर्फ मात्रै प्रतिस्पर्धा हुने प्रतियोगिता तीन दिन चल्ने छ ।
तस्बिर धन बस्नेत