पोखरामा आगामी सेप्टेम्बर ३० मा आईटिएफ लेभल फोर प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण १४ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-अन्तर्राष्ट्रिय टेनिस फेडेरेशन(आईटिएफ)को कार्यतालिका अनुसार आगामी सेप्टेम्बर ३० मा पोखरामा लन टेनिसको आईटिएफ लेभल ४ को प्रतियोगिता हुदैै छ । त्यसको लागि कास्की जिल्ला लन टेनिस संघले खेलाडीलाई सूचीत गर्न वेभसाईडमा हालिसकिएको जनाएको छ ।

कास्की जिल्ला लन टेनिस संघले गत वर्ष आईटिएफ सर्किट लेभल ५ को प्रतियोगिता आयोजना गरेपछि फेरी लेभल ४ को प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी आईटिएफले सुम्पिएको हो । ‘सेप्टेम्बर ३० तारिखमा लेभल ४ प्रतियोगिता गर्दै छौं ।’ कास्की जिल्ला लन टेनिस संघका महासचिव लोकबहादुर गुरुङले भने–‘अगष्ट महिनाभित्र इन्ट्री गर्नुपर्छ ।’ उनका अनुसार खेलाडीलाई इन्ट्री गर्न एक महिनाको समय छ ।

आयोजक नेपालले प्रतियोगिताको लेभल ४ खेल्न पाउने छ । आयोजकको हैसियतले सिधै वाइल्ड कार्ड प्राप्त गर्ने छ । गत वर्षआयोजित प्रतियोगितामा भारतबाट ३० जना खेलाडीले सहभागिता जनाएका थिए । यो वर्षपछि भारतबाट अझै बढी खेलाडी सहभागि हुने विश्वास संघले जनाएको छ । लेभल ४ मा नेपाल, भारत, अष्ट्रेलिया लगायतका भेट्रान्स खेलाडीको सहभागिता रहने जनाइएको छ ।

प्रतियोगिता विशेष गरी टुर गर्दै हिड्ने खेलाडीलाई सहज हुने छ । प्वाईन्ट कलेक्सन गर्दै हिड्ने खेलाडीलाई यो प्रतियोगिता राम्रो हुने उनको भनाई थियो । सेमिफाईनल पुगेपछि खेलाडीले प्वाईन्ट पाउँछन् । वर्षभरी विभिन्न देशमा आयोजना हुने प्रतियोगितामा प्वाईन्ट कलेक्सन गर्दै लेभल ४ बाट लेभल ३ हुदैं लेभल २ र लेभल १ मा उक्लिन पाउँछन् । त्यसपछि खेलाडीले टेनिसको प्रोफेसनल प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने छन् ।

आईटिएफको तयारीको लागि कास्की जिल्ला लन टेनिस संघले वार्मअप प्रतियोगिता आयोजना गर्दै छ । यही साउनको २२ गते डबल्स इभेण्टमा प्रतिस्पर्धा गराईने छ । त्यसपछि भदौ १ गते सिंगल्स तर्फ प्रतिस्पर्धा गराईने लक्ष्य कास्की जिल्ला लन टेनिस संघले लिएको छ । आईटिएफको लेभल ४ मा डबल्स र सिंगल्स दुवै इभेण्टमा प्रतिस्पर्धा हुने छ । वार्म अप म्याचको तयारी अनुसार पाँच जोडी उत्कृष्ठ देखिएको छ । त्यसलाई अझ निखार्नुपर्ने संघले जनाएको छ । साउन २२ र भदौ १ गते आयोजना गरिने प्रतियोगिता आईटिएफ लेभल ४ को लागि अनुभव सगाँल्ने प्रतियोगिताको रुपमा उपयोग गरिने खेलाडीले जनाएका छन् । यसैबीच आगामी महिना इण्डोनेसियाको जकार्तामा हुने एशियाली खेलुकद प्रतियोगिताको लागि लन टेनिसमा पोखराका अभिषेक बास्तोलाले सहभागिता जनाउने छन् । ।

आईटिएफ लेभल फोरको लागि पाँच वटा क्ले कोर्ट तयारी अवस्थामा छन् । राष्ट्रिय खेलकुद परिषदले एउटा क्ले कोर्ट, हार्ड कोर्ट र प्यारापिट, चेन्जिङ रुम, शौचालयसहितको पुर्वाधार पोखरा रंगशालाभित्रको टेसिन परिसरमा थप्दै छ । त्यसको लागि ठेकेदार कम्पनीलाई जिम्मेवारी समेत दिईसकिएको छ । काठमाडौंको आर एण्ड सी नामक कम्पनीले ठेक्का लिएको छ । ठेक्का सम्झौता भने २ करोड ४० लाखमा भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।