पेनाल्टी गुमाएको शसस्त्र प्रहरी पेनाल्टी सुटआउटमा पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २३ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्न नसकेको शसस्त्र प्रहरी बलको एपीएफ क्लब पेनाल्टी सुटआउटमा पराजित हुदैं १८ औं सस्करणको आहा रारा गोल्डकपबाट बाहिरिएको छ । झापा ११ सितको प्रतिस्पर्धात्मक खेलमा ५३ औं मिनेटमा शसस्त्रले पेनाल्टीको अवसर पाएको थियो । पेनाल्टीलाई नविन लामाले प्रहार गरे । झापा ११ का गोलकिपरले बचाउ गरे । आफ्नै गल्तीमा पाएको पेनाल्टीलाई बचाउ गर्दै झापालाई पेनाल्टी सुटआउटसम्मको अवस्थामा पुर्याए ।

पेनाल्टी सुटआउटमा झापाकै गोलकिपर फेरी एकपटक नायक सावित भए । उनले शसस्त्र प्रहरी बलको एक पेनाल्टीलाई रोकेपछि झापा ११ ले क्वार्टरफाईनल भेट मनांग मस्र्यांगदीसँग पक्का गर्यो । पोखरा रंगशालामा बुधबार आयोजित गोल्डकपमा झापाले पेनाल्टी सुटआउटमा ५-३ गोलले पराजित गर्दै अन्तिम आठमा प्रवेश गर्यो ।

निर्धारित समय गोलरहित बराबरी खेलेको दुवै टोलीले थपिएको अतिरिक्त समयमा १–१ गोलको नतिजा निकाले ।
अतिरिक्त समयको २१ औं मिनेटमा सुनिल खड्काले गोल गर्दै झापालाई अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा एपिएफका लागि प्रविन स्याङताङको क्रसलाई आकाश बुढामगरले हेडमार्फत जाली चुमाएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुग्यो । एपिएफका सुदिप शिख्राकारको पेनाल्टी झापाका गोलरक्षकले पञ्च सेभ गरेपछि जित सुनिश्चित बन्यो । झापाको लागी हेमन्त थापामगर, मौसम लिम्बु, प्रमोद चौधरी, विशाल दर्जी र कप्तान संजित राइले गोल गरे भने एपीएफका लागी नविन लामा, राजिव लोप्चन र गोलरक्षक राजु नगरकोटीले गोल गरे ।

दुई पेनाल्टी प्रहारलाई बचाएका झापाका गोलरक्षक राजकुमार खेलको म्यान अफ द म्याच घोषित भए । झापाले फागुन २५ गते मनाङ मस्र्याङदी क्लवसँग प्रतिश्पर्धा गर्नेछ । शनिबार आयोजक सहाराले नेपाल पुलिस क्लवको सामना गर्नेछ ।