आहा राराको १६ औं सस्करण पर्सीदेखि, सहाराले सुदुरपश्चिमसँग उदघाटन खेल खेल्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ७ गते २०७४ मा प्रकाशित


धन बस्नेत, पोखरा-   सहारा क्लबले सुदुर पश्चिम स्पोर्टिङ क्लब ११ सित उदघाटन खेल्दै आहा राराको १६ औं सस्करण पोखरा रंगशालामा पर्सी मंगलबारदेखि शुरु हुने छ । खप्तड गोल्डकपमा शसस्त्र प्रहरी बलसित टाइब्रेकरमा पराजित हुदैं फर्किएको सहाराले घरेलु मैदानमा सुदुर पश्चिमलाई न्यानो आतित्थ्यता गर्ने छ । उपविजेताको शाख पहिलो खेलबाट शुरु हुने छ । प्रतियोगिता माघ ९ गतेदेखि शुरु हुदैं छ ।

सिजनको चौथो उपाधि उचालेको नेपाल आर्मीले अर्को उपाधिको लागि पोखरा आउने छ । आर्मीसँगै पोखरामा गर्विलो छवि बनाएको टोलीद्वय मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लबको उपस्थितिले गोल्डकपको रौनक बनाएको छ । अर्को विभागिय टोली शसस्त्र प्रहरीसँगै रुस्लान थ्रीस्टारले पनि मोसफलको प्रतियोगितामा फेरी छाउने सम्भावना छ । दुई विदेशी टोली बरिन्धरा बंगलादेश र भारतको सिक्किम युनाईटेडले पनि उपाधि जित्ने रणनीतिसँगै पोखरा आउँदै छ ।मोफसलका टोली, धरान फुटबल क्लब, झापा ११ र ए डिभिजनको संकटा क्लब गरी १२ टोलीले पोखराको मैदानमा ७ लाख नगद पुरस्कारको लागि भिड्ने छन् ।

अस्थायी प्यारापिट

तर यो वर्ष दर्शक भने खाली चौरमा बस्नुपर्ने बाध्यता छ । दुई पुर्वाधारको रुपमा रहेका ३५ वर्ष अघिका दर्शक र भिआइपी प्यारापिट भत्काईएको छ । प्यारापिट भत्काईएकाले दर्शकलाई चौरमा बसेर गोल्डकपको मनोरन्जन लिनुपर्ने बाध्यता थपिएको हो । यद्यपी अस्थायी प्यारापिट निर्माणले भने केही सहज हुने छ । पाँचसय क्षमताका प्यारापिट निर्माण गरेर दर्शकलाई राहत दिने योजना सहारा क्लबले बनाएको छ ।

प्यारापिट भत्काउने कार्यलाई प्रतियोगिता अवधिसम्म रोकिएको छ । भत्काउँदा निस्किएको फोहोर व्यवस्थापन अझै हुन सकेको छैन् । यसले पनि १६ औं सस्करणको आहा रारा गोल्डकप प्रभावित बनाउने छ । अव्यवस्थित र उदाङ्गो रंगशालामा फुटबलको रौनक यो वर्ष निकै कम हुने सम्भावना समेत छ ।

दर्शकलाई स्कुटर र टिभी

आहा राराको यो सस्करणमा दर्शकले खाली चौरमा मात्रै बसेर फुटबल हेर्ने मात्रै नभई भाग्य पनि जाँचिन्छ । भाग्यमानी दर्शकले विगतमा टिभी उपहार पाएका थिए । यो वर्ष टिभी मात्रै नभई स्कुटर समेत पाउने छन् । टिकट काटेर उपस्थिति हुने दर्शकले हिरो ड्यास स्कुटर पाउने छन् । जसलाई प्रायोजन भने सहारा हङकङले प्रायोजन गरेको छ ।अर्को भाग्यमानी दर्शकलाई एलजीको टिभी प्रदान गरिने छ । टिभीको प्रायोजन भने चौधरी ग्रुपले गरेको हो ।

खेलाडीलाई सम्मान

विगतमा जस्तै यो वर्ष पनि खेलाडीलाई सम्मानित गरिने छ । गत वर्षको संस्करणमा पुराना खेलाडीलाई सम्मान गरिदैं आएको थियो । तर यो वर्ष भने सर्वोत्कृष्ठ राष्ट्रिय फुटबल खेलाडी २०७४ बाट सम्मान गरिने छ । त्यसको लागि आवश्यक छनोट प्रक्रिया र छनोट समितिले सिफारिस गर्ने छ । २०७३ सालमा उत्कृष्ठ प्रदर्शन गरेका खेलाडीलाई दिईने पुरस्कारको राशी नगद ३५ हजार, दोसल्ला र प्रमाणपत्र रहेको छ । पुरस्कारको प्रायोजन भने क्लबका मानार्थ सदस्य एवं पश्चिमाञ्चल क्षेत्रीय फुटबल संघका अध्यक्ष खेमबहादुर गुरुङले गरेका हुन् ।

प्रायोजन र नगद पुरस्कार

आहा रारा गोल्डकपलाई हिमश्री फुड्सले निरन्तर प्रायोजन गर्दै आएको छ । प्रायोजन आगामी चार वर्ष अझै छ । हिमश्री फुड्ससँगै रेडबुलले उप प्रायोजन गरेको छ । कोकाकोला, सानमिगेल वियर, पृथ्वीराजमार्ग बस सञ्चालक समिति, मेची बस व्यवसायी संघ, एक्स टेप स्पोर्ट फेशन, लुम्बिनी विकास बैंक, जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समिति, राखेप, एन्फाहोटल गुडविल, प्रायोजनको भूमिका छन् । वेष्ट अफ फाईभ, बेष्ट प्लेयर, म्यान अफ दि म्याच, अफिसियल ट्रफी साथै नगद ५ हजार रुपैयाँको प्रायोजन सहारा युकेले गरेको छ । हङकङ निवासी देव गुरुङले समेत सहयोगी भूमिका खेलेका छन् । नेपाल पर्यटन बोर्ड, पोखरा लेखनाथ महानगरपाकिाले प्रवद्र्धक र संयोजनकारी भूमकिा छन् ।

विजेता क्लबले ७ लाख १ हजार नगद पुरस्कार पाउने छ । उपविजेताले ३ लाख ५१ हजार पाउने छ । त्यसैगरी बेष्ट अफ फाईभलाई नगद १५ हजारसहित ट्रफी प्रदान गरिने छ । त्यसैगरी प्रत्येक खेल वापत प्रिक्र्वाटर फाईनल विजेतालाई नगद २० हजार, पराजित टिमलाई १० हजार, क्र्वाटरफाईनल ३० हजार, हार्नेले २० हजार नगद अतिरिक्त रकम पाउने छ । त्यस्तै दुई सेमिफाईनल टोलीलाई नगद ५० हजार रुपैयाँ दिईने छ ।

प्रतिटिकट १ रुपैयाँ खेलकुदलाई

सहारा क्लबले यो वर्षदेखि प्रति टिकट १ रुपैयाँ जिल्ला खेलकुद विकास समितिलाई दिईने छ । खेलकुदको विकासमा सहकार्य गर्ने लक्ष्य र उद्देश्य सहित १ रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको सहारा क्लबका अध्यक्ष केशब थापाले बताए । यो वर्ष दर्शकको उल्लेख्य उपस्थिति हुने अनुमान गरिएको छ । विगतलाई केलाउँदा प्रतियोगितामा अवधिमा २५ हजार दर्शकले प्रत्यक्ष फुटबल हेरेका थिए ।

यसैबीच पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले आहा रारा गोल्डकपको लागि खेलकुदको तर्फबाट ५ लाख रुपैयाँ छुट्टयाईएको बताए । ‘प्रतियोगिता सकिएपछि आवश्यक कागजपत्र जिल्ला खेलकुद विकास समितिमा पेश गर्नुस अनि छुट्टाइएको रकम लैजानुस ।’ उनले आईतबार आयोजित पत्रकार सम्मेलनमा सुनाए । उनले पोखरा रंगशाला फुटबल मैदानसँगै प्यारापिट निर्माणको लागि ग्लोबल टेण्डरमा गईसकेको भन्दै आगामी वर्ष प्रतियोगिता गर्न सहज हुने विश्वास व्यक्त गरे ।