आहाको पाँचौ उपाधिको खोजीमा पुलिस र थ्री स्टार

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १९ गते २०७४ मा प्रकाशित


धन बस्नेत, पोखरा – आहा गोल्डकपको दर्शकको फाईनल हेर्ने चाहना र क्लबले उपाधि उचाल्ने सपना शनिबार साकार हुदैै छ । फाईनलमा पुरानै प्रतिस्पर्धी क्लब नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार मध्य एकले उपाधि उचालेसँगै वर्षदिनको विश्राम आयोजकले लिने छन् । सहारा क्लबका पदाधिकारीले ११ दिने रंगशालाको धपडीलाई अन्त्य गर्ने छन् । क्लबले ७ लाख नगदराशीसँगै ट्रफी लिएर काठमाडौं फर्किने छ । त्यसपछि पुर्वाञ्चलको प्रतिष्ठित गोल्डकप रेडबुल बुढासुब्बा गोल्डकपमा उपस्थिति जनाउने छन् ।

फाईनल यी दुबैको लागि पहिलो सस्करण बन्ने छ । यद्यपी आहाको संस्करणमा दुवैको प्रतिस्पर्धा भने तेस्रोे, छैटौ, सातौं र १३ औं सस्करणमा एकापसमा भईसकेको छ । चार सस्करणमा पुलिसले तीन पटक बाजी मारेको तथ्यांक छ । तेस्रोको भेटमा पुलिसले बाजी मार्दा १३ औं सस्करणमा भने थ्री स्टारले पुलिसलाई पराजित गर्दै उपाधिको यात्रामा निक्लिएको थियो । दुई सस्करणमा भने आहाको क्र्वाटरफाईनलमै आपमेसामने भईसकेको अवस्था छ । यद्यपी उपाधिलाई नियाल्दा थ्री स्टारले पाँचौ, नबौं, ११ औं र १३ औं सस्करणको उपाधि उचालिसकेको छ । १६ औं सस्करणको उपाधि आफनो नाममा लेखाउँदै पाँचौ पटकको च्याम्पियन बन्ने अभियानमा थ्री स्टार छ । पुलिस पनि पोखराको मैदानमा भाग्यमानी देखिदै आएको छ । पुलिसले पनि पहिलो, छैटौं, सातौं, आठौं सस्करणको उपाधि उचालिसकेको छ । दुवै पाँचौ उपाधिको खोजीमा छन् । यद्यपी त्यसको फाईनल लेखाजोखा भने शनिबार मात्रै हुने छ ।

पुलिसले अधिकांश नयाँ खेलाडीलाई मैदानमा उतारेको छ । यु—१९ र यु—२३ का उमेरसमूह जसले नेपाली राष्ट्रिय लगाईसकेका छन् । तिनीहरुलाई मैदानमा उतार्दै खरो प्रतिस्पर्धीको रुपमा देखिएको छ । रुस्लान थ्री स्टारले नेपाली राष्ट्रिय टोलीको उपकप्तान विक्रम लामाको नेतृत्वमा राष्ट्रिय खेलाडी तथा अन्य व्यवसायिक खेलाडीलाई उपाधि उचाल्ने लक्ष्यसहित मैदानमा उत्रिने छ । विश्वास श्रेष्ठ, निराजन खड्कालाई रोक्नुपर्ने चुनौति पुलिसका खेलाडी माथि छ । रवि पासवान, सुमन लामा र अभिषेक रिजालको कम्बिनेसनलाई विफल तुल्याउने योजना थ्री स्टारले बनाउने छ । थ्री स्टार फाईनलमा पुगेपछि अपराजित एक्लो टोली हो । त्यसैले शनिबारको फाईनल खेल जित्ने रणनीति बुन्न प्रशिक्षक मेघराज केसी व्यस्त छन् । ‘फाईनलमा हारेका छैनौं । खेल त्यही रणनीति बनाएर खेल्छौं ।’ केसीले भने—‘डेढ वर्षपछि नयाँ टिम तयार पारेर आएका छौं । इटहरी गोल्डकप जितेर उत्साहित छौं । त्यसले पनि प्रभाव पार्छ । आहाको संस्करण जित्छौं ।’ नेपाल पुलिस क्लब भने आठ वर्षपछि पोखराको मैदानमा फाईनल पुगेको हो ।

आठौं सस्करणको उपाधि उचालेपछि पोखराको मैदानमा पुलिस १६ औं सस्करणमा धरान फुटबल क्लबलाई पराजित गर्दै फाईनल प्रवेश गरेको थियो । ‘थ्री स्टार राम्रो टिम हो । फाईनल टप्स हुन्छ । फाईनल जहिले पनि ५०—५० हुन्छ ।’ नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले भने—‘९० मिनेटको खेलमा कसरी जित निकाल्ने भन्ने कोशिस हाम्रो हुन्छ । राष्ट्रिय खेलाडीको जमात भने छैन् ।’ अनन्त आफै पनि थ्री स्टारबाट खेलाडीको रुपमा मैदान उत्रिदाँ थ्री स्टार विरुद्ध जित्ने प्रयासमा खेल्थे । तर अहिले पुलिस प्रशिक्षकको जिम्मेवारी सम्हालेका थापाले थ्री स्टार विरुद्ध जित निकाल्ने रणनीति बनाउन उद्धत छन् । उपाधिसँगै उत्कृष्ठ खेलाडी, बेष्ट फाईभ र म्यान अफ दि म्याचको पुरस्कारको लागि समेत खेलाडीले उच्च प्रदर्शन गर्ने अनुमान गरिएको छ ।