सातवर्षपछि पुलिसलाई आहा रारा गोल्डकप

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २० गते २०७४ मा प्रकाशित


धन बस्नेत, पोखरा- बैकल्पिक खेलाडीको गोलमा सातवर्षपछि नेपाल पुलिस क्लबले आहा रारा गोल्डकपको उपाधि उचाल्दा रुस्लान थ्री स्टार पुलिससँग फेरी स्तब्ध हुन पुग्यो । १००+२ मिनेटमा राम वाजीको गोलमा पुलिसले १६ औं सस्करणको उपाधि लेखायो । पाँचौ पटक आहा राराको संस्करणको उपाधि उचाल्न निर्णायक गोल गर्ने वाजी भने अभिषेक रिजालको ठाँउमा ८३ औं मिनेटमा मैदान छिरेका थिए ।

अफ्रिकन खेलाडी अजाई मार्टिनले क्लियर गर्न नसकेको बललाई निरकुमार राईले दिएको व्याकपासमा म्यान अफ दि म्याच वाजीले डिबक्सभित्रबाट सेकेण्डबारमा हानेको भली सिधै पोष्टभित्र छिरेपछि पुलिसले १-० ले उपाधिसहित सात लाख एकहजार रुपैयाँ आफनो बनाउन पर्याप्य बनिदियो । खेलको निर्धारितपछि थपिएको अतिरिक्त समयको १० औं मिनेटमा नेपाल पुलिसको लागि अभागी सिद्ध भयो । निरकुमार राईले हानेको बल क्रसबारमा लागेर फर्कियो । पुलिसका प्रशिक्षक अनन्त थापाले गोलको अपिल गरे तर रेफी सुदेश पाण्डेले सुनुवाई गरेनन् ।

दुई अफ्रिकन खेलाडीलाई मैदानमा उतारेपनि रुस्लान थ्री स्टारलाई पुलिसका युवा खेलाडीले हरेक प्रयासलाई विफल बनाईरहे । त्यसमा पनि डिफेन्सलाईनलाई भने थ्री स्टारका खेलाडीले चिर्नै सकेनन् । १५ वटा कर्नर किकको अवसर थ्री स्टारलाई जु¥यो । तर डिफेन्सले क्लियर गरिदिए । रेफ्रीले अन्तिम सिटी फुक्नु अघि अन्तिम कर्नर बललाई थ्री स्टारका गोलकिपर एलन न्यौपानेले गरेको हेडिङ फष्टबार नजिकैबाट आउट भएपछि पुलिसले जितको लामो श्वास फे¥यो । थ्री स्टारलाई भने उपाधिको लागि अर्को वर्षको सस्करणमा सहभागि हुनुपर्ने बाध्यता थपियो ।

६ मिनेटमा थ्री स्टारका अनन्त तामाङले हानेको हेड पुलिसका गोलकिपरले पन्च गर्दै बचाउ गरे । ८ औं मिनेटमा पुलिसले पनि राम्रो अवसर सृजना ग¥यो । रवि पासवानको पासलाई अभिषेक रिजालले लङक्रस बललाई हेडिङ गरेपनि थ्री स्टारका गोलकिपरकै हातमा प¥यो । ३१ औं मिनेटमा अभिषेक रिजालले निरकुमार राईको पासलाई पनि खेर फाले । ४८ औं मिनेटमा बुद्ध चेम्जोङको पासमा अनन्त तामाङको हेड पन्च सेभ गर्दै पुलिसलाई जोगाए । विजय धिमालले फ्रिकिकबाट हानेको लङ बल पुलिसका गोलकिपरले समाप्ते क्रममा हातबाट चिप्लिएपछि थ्री स्टारले कर्नर पायो । रवि पासवानले दिएको पासलाई थपिएको २० मिनेटको दोस्रो मिनेटमा निरकुमार राईले हानेको प्रहार फष्टबार भन्दा केही परबाट बाहिरियो । ८१ औं मिनेटमाा सुनिल बलको पासमा निराजन खड्काको प्रहार बाहिरियो ।

पाँचौ पटक फाईनल खेलेको रुस्लान थ्री स्टार उपविजेतामा चिक्त बुझायो । इहटरी गोल्डकप उचालेर मनोबल बढेपनि पुलिसका जोशिला युवाले कमजोर बनाईदिए । आहा रारा गोल्डकपको सस्करणमा नेपाल पुलिससँग फाईनलमा पहिलो भेट थियो । यद्यपी गोल्डकपमा भने यसअघि चार पटकमा तीन पटक पुलिस र थ्री स्टारले एक पटक मात्रै जितेको छ । पुलिसले उपाधिसँगै नगद सात लाख १ हजार रुपैयाँ पायो । उपविजेता थ्री स्टारले नगद ३ लाख ५१ हजारसहित ट्रफीमा सीमित हुन पुग्यो । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, नेपाल खेलकुद पत्रकार मन्चका पुर्व अध्यक्ष निरन्जन राजवंशी, एआईजी कमलसिंह बम लगायतले नगद, ट्रफी पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । उत्कृष्ठ खेलाडीले हिरो ड्यास स्कुटर, अन्य खेलाडीले भने नगद १५ हजार तथा सर्वाधिक गोलकर्ताले २५ हजार नगद पुरस्कार पाए । सहारा क्लबको आयोजना, हिमश्री फुड्सको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगितामा विभिन्न संघसंस्थाले प्रायोजन तथा सहयोग गर्दै आएका थिए ।

सर्वाधिक गोलकर्ता—सुमन लामा( नेपाल पुलिस क्लब), विश्वास श्रेष्ठ( थ्री स्टार)
उत्कृष्ठ खेलाडी— रवि पासवान(नेपाल पुलिस क्लब)
बेष्ट डिफेन्स—अजित भण्डारी( नेपाल पुलिस क्लब)
बेष्ट गोलकिपर—शत्रुघन चौधरी(नेपाल पुलिस क्लब)
बेष्ट मिडफिल्डर —सुनिल बल(थ्री स्टार)
बेष्ट प्रशिक्षक—अनन्त थापा
फेयर प्ले— सिजी सुदुर पश्चिम ११ स्पोर्टिङ क्लब