तनावपूर्ण खेल जित्दै मेयरकपको उपाधि वालिङलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २२ गते २०७४ मा प्रकाशित


बाग्लुङ (खेलाडी न्युज)—आफैंले चलाएको बल व्याकपासमा आउट गएपछि पाएको थ्रो बललाई सदुपयोग गर्दै वालिङ नगरपालिकलाले एक मिनेट वित्न पाउँदै गोल गरेपछि पोखरा लेखनाथ महानगरपालिका उपविजेतामा चिक्त बुझाउँदै फर्किएको छ । बाग्लुङको बाङ्गेचौर खेल मैदानमा फाईनलमा एक मिनेट बित्दै पोखराका डिफेन्सको सिल्ली मिष्टेकमा वालिङका सफल थापाले खाली पोष्टमा गोल गर्दै १—० को अग्रता दिलायो । जुन गोल उपाधिको लागि पर्याप्त बनिदियो । अजिजदिन मियाँले दिएको बल गोलकिपर र डिफेन्स समेत विट भईसकेको अवस्थामा सेकेण्ड बारमा अनमार्क रहेका थापाले गोल गर्दै उपाधि वालिङलाई दिलाउन महत्वपूर्ण भूमिका खेले । अधिकांश समय बल नियन्त्रणमा लिएको पोखराले गोल गर्ने उत्कृष्ठ अवसरलाई गुमायो । महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई स्वागत गर्दै गर्दा उक्त गोल भएको थियो ।

दोस्रो हाफमा दुवै टोलीका खेलाडीले रातो कार्ड खाँदै मैदान छाड्दा १०—१० हुदैं खेल टुंगिएको थियो । वालिङका कप्तान लक्ष्मण रुचाल र पोखरा लेखनाथ महानगरपालिकाका अन्जन देवकोटालाई रातो कार्ड देखाईएको थियो । रुचाललाई दोस्रो पहेलो कार्डको रुपमा रातो देखाउँदा सोही रातो कार्ड देवकोटालाई पनि देखाईदिए । अन्जनलाई रातो कार्ड दिईएकोप्रति पोखराका खेलाडी तथा अफिसियल आक्रोषित बन्न पुगे । केही बेर खेल अवरुद्ध हुन पुग्यो । वालिङले उपाधिसहित २ लाख २२ हजार २२२ रुपैयाँ पायो । महानगपालिकाले १ लाख ११ हजार १११ रुपैयाँमा चिक्त बुझायो । उत्कृष्ठ खेलाडीको पुरस्कार वालिङका गोलकिपर राजुबावु थापाले पाए । उनले नगद १० हजार पाए । सर्वाधिक गोलकर्ता पोखरा लेखनाथका विसन गुरुङ, उत्कृष्ठ स्ट्राइकर विजय श्रेष्ठ, मिडफिल्डर टंकप्रसाद गुरुङ, डिफेन्डर लक्ष्मण जिसी, उत्कृष्ठ गोलकिपर विशाल श्रेष्ठ र उत्कृष्ठ प्रशिक्षक वालिङका केशव थापा घोषित हुदाँ फेयर प्लेको पुरस्कार तनहुँ नगरपालिकालाई प्रदान गरिएको थियो । बाग्लुङ नगरपालिकाको आयोजनामा आयोजित प्रदेश नं ४ स्तरीय मेयर कपमा प्रदेशका एक महानगरपाकिला र दश नगरपालिकाको सहभागिता रहेको थियो ।