नेपालले दियो ओमानलाई १३९ रनको चुनौति

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २६ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—नेपालले आईसिसी विश्व क्रिकेट लिग डिभिजन—२ मा दोस्रो खेल ओमानसँग खेलिरहेको छ । टस हारेर व्याटिङको निम्तो पाएको नेपाललले रनको चुनौति तेर्साएको छ । नेपाली व्याटिङ लाईन फेरी एक पटक कमजोर देखिएको छ । दश रन नबन्दै ओपनर ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपालले दोस्रो विकेट भने ३८ रनमै गुमायो । विकेट जोगाएर खेल्नुपर्ने बाध्यता रहिरहँदा तेस्रो विकेट भने ५३ रन बनाउँदा गुमाउन पुग्यो । आरिफ शेखलाई ६ रनमै आउट भएपछि दबावमा रहेका कप्तान पारस खड्का पनि व्यक्तिगत १७ रनमा आउट भएपछि नेपालले ५६ रन बनाईसक्दा महत्वपूर्ण चार विकेट गुमायो ।

कलिमुल्लाहले १० ओभरमा दुई मेडन राखे । २८ रन दिएर चार विकेट लिए । फियाज भुटले एक मेडन राख्दै सात ओभरमा एक विकेट लिए । दिपेन्द्र सिंह ऐरीले पनि शरद भेषवाकरसँग साझेदारी निभाउन खोजेपनि ३२ बल खेल्दै तीन चौका हिर्काउँदै २० रनमा आउट भए । ९५ रन बन्दा नेपालले मध्यक्रमका व्याट्सम्यानलाई गुमाउन पुग्यो । छैटौं विकेटको रुपमा नेपालले बसन्त रेग्मीलाई गुमायो । नामिवियासितको खेलमा निर्णायक भूमिका खेल्दै जिताएका बसन्त ओडेड्राको बलमा एलबी डब्लुको शिकार बन्न पुगे । उनले केवल एक रन बनाई खेल्दै थिए । शरद भेषवाकर पनि ३९ बलमा केवल २२ रनमै आउट भएपछि नेपाल टिमले भरपर्दो व्याट्सम्यानलाई पवेलियन फर्किएको हेर्न बाध्य भयो । उनी विलाल खानको बलमा क्याच आउट भए । खानले दुई विकेट लिए । रोहितकुृमार पौडेल १४, सोमपाल कामीले नटआउट १७ रन जोडे । सन्दीप लामिछाने शुन्य रनमै आउट भए । करण केसी भने ४ रनमा रनआउट हुदै नेपालले ४६ ओभर खेल्दै १३८ रनमा अलआउट हुन पुग्यो ।