ओमानले नेपालसँग लियो हारको बदला, नेपाल ६ विकेटले पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २६ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—ओमानले आईसिसी विश्व क्रिकेट लिग डिभिजन ३ मा नेपालसँग भोगेको पराजयको बदला पाँच वर्षपछि लिग डिभिजन २ मा आएर लिएको छ । १३९ रनको लक्ष्य पछ्याएको ओमानले चार विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै छ विकेटको जित निकाल्यो । अकिब आयासले सर्वाधिक ४६ रन बनाएपछि ओमानले मध्यमभन्दा पनि कम स्कोरलाई सहजै पछ्याईदियो । अर्धशतक पुरा गर्ने लक्ष्यमा देखिएका उनलाई बसन्त रेग्मीले बोल्ड गरिदिए । तेस्रो ओभरमा सोमपाल कामीले एसएस खाड्येलाई १ रनमै एलबी डब्लुको शिकार बनाए । लेग स्पीनर सन्दीप लामिछानेले सेट हुदैं गएको व्याट्सम्यान जतिन्दर सिंहलाई बोल्ड गर्दै पवेलियन पठाए । उनले २४ रन बनाएका थिए । लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा खावर अलीलाई ११ रनमा बोल्ड गर्दै आउट गरे । तर भि.एस वाटेगवोन्कर र कप्तान सुल्तान अहेमदले ओमानलाई जितसम्मा डोहो¥याए । वाटेगवोन्करले ३७ रन र अहेमदले १६ रन बनाई नटआउट खेल्दै जित दर्ता गरे । हिजो नामिवियाले नेपाललाई दिएको लक्ष्य आज नेपालले ओमानलाई दिएको लक्ष्य(१३९ रन) भने उस्तै रह्यो ।

टस हारेर व्याटिङको निम्तो पाएको नेपाललले १३९ रनको चुनौति तेर्साएको थियो । नेपाली व्याटिङ लाईन फेरी एक पटक कमजोर देखियो । दश रन नबन्दै ओपनर ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपालले दोस्रो विकेट भने ३८ रनमै गुमायो । विकेट जोगाएर खेल्नुपर्ने बाध्यता रहिरहँदा तेस्रो विकेट भने ५३ रन बनाउँदा गुमाउन पुग्यो । आरिफ शेखलाई ६ रनमै आउट भएपछि दबावमा रहेका कप्तान पारस खड्का पनि व्यक्तिगत १७ रनमा आउट भएपछि नेपालले ५६ रन बनाईसक्दा महत्वपूर्ण चार विकेट गुमउन पुग्यो । कलिमुल्लाहले १० ओभरमा दुई मेडन राखे । २८ रन दिएर चार विकेट लिए । फियाज भुटले एक मेडन राख्दै सात ओभरमा एक विकेट लिए ।

दिपेन्द्र सिंह ऐरीले पनि शरद भेषवाकरसँग साझेदारी निभाउन खोजेपनि ३२ बल खेल्दै तीन चौका हिर्काउँदै २० रनमा आउट भए । ९५ रन बन्दा नेपालले मध्यक्रमका व्याट्सम्यानलाई गुमाउन पुग्यो । छैटौं विकेटको रुपमा नेपालले बसन्त रेग्मीलाई गुमायो । नामिवियासितको खेलमा निर्णायक भूमिका खेल्दै जिताएका बसन्त ओडेड्राको बलमा एलबी डब्लुको शिकार बन्न पुगे । उनले केवल एक रन बनाई खेल्दै थिए । शरद भेषवाकर पनि ३९ बलमा केवल २२ रनमै आउट भएपछि नेपाल टिमले भरपर्दो व्याट्सम्यानलाई पवेलियन फर्किएको हेर्न बाध्य भयो । उनी विलाल खानको बलमा क्याच आउट भए । खानले दुई विकेट लिए । रोहितकुृमार पौडेल १४, सोमपाल कामीले नटआउट १७ रन जोडे । सन्दीप लामिछाने शुन्य रनमै आउट भए । करण केसी भने ४ रनमा रनआउट हुदै नेपालले ४६ ओभर खेल्दै १३८ रनमा अलआउट हुन पुग्यो ।

नेपालले ओमानलाई लिग डिभिजन ३ मा पराजित गरेको थियो । २०१३ मा सम्पन्न खेलमा नेपालले दिएको १६० रनको लक्ष्य पछ्याएको ओमान केवल १३२ रनमै आउट हुदाँ २८ रनले जितेको थियो । ज्ञानेन्द्र मल्ल म्यान अफ दि म्याच घोषित भएका थिए । लिग डिभिजन खेल्नु अघि नेपालले ओमानसित तीन खेल खेलिसकेको छ । त्यसमा दुई हार नेपालले व्यहोरिसकेको छ । एक खेल मात्रै नेपालले जितेको छ ।