बजेट सकियो, कभर्ड हलको काम रोकियो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २८ गते २०७४ मा प्रकाशित


पोखरा (खेलाडी न्युज)—बजेट आउँदा निकै उत्साह थियो । बजेट सकियो, काम पनि रोकियो । रोकिएको पनि आधा वर्ष वित्यो । पोखरा लेखनाथ महानगरपालिकाको भण्डारढीक रंगशालामा निर्माण थालिएको बहुउद्देश्यीय कभर्ड हल अहिले अलपत्र परेको छ । काम अगाडि बढाउन थप बजेटको अभाव छ । अभावकै कारण जति बनेको छ त्यो पनि जीर्ण बन्ने सम्भावना छ । जेठमा काम गरियो । असारमा बजेट सकियो । त्यसपछि काम रोकिएकै रोकिएै हुन पुग्यो । राष्ट्रिय खेलकुद परिषदले हल निर्माणको लागि गत वर्ष ५० लाख रुपैयाँ बजेट दियो । दिएको बजेटले काम शुरु गरियो । बेसको टाईबिम निर्माण र पिलर ठडिने काम पुरा भयो । त्यसपछिको काम भने बजेट अपुगले शुरु हुनै नसकेको बहुउद्देश्यीय कभर्डहल निर्माण उपभोक्ता समितिका सचिव सुवास खड्काले गुनासो पोखे । ‘भएको बजेट सकियो । बजेट नभएपछि काम पनि लठापत्रै भयो ।’ उनले भने । स्थानीयले पनि पाँच लाख रुपैयाँ सहयोग जुटाएका थिए । यो वर्ष राखेपले बजेट छुट्टाईदिएको छैन् ।

लेखनाथको भण्डारढीक रंगशालामा कभर्ड हल नै छैन् । हलकै अभावमा मार्शल आर्टस् तथा अन्य इण्डोर खेल्न मिल्ने खेलको प्रशिक्षण भने बन्द जस्तै छ । रंगशालाको फुटबल मैदानमा प्रशिक्षण गरिएपनि चिसोले रोकिएको छ । निर्माणाधिन एकमात्रै कभर्ड हलको लागि आर्थिक सहयोग जुटाउनुपर्ने खाँचो देखिएको सचिव खड्काले औंल्याए । हल बनाउन तीन करोडको लागत अनुमान गरिएको छ । तर बजेट अभावले हलको सपना तत्काल पुरा हुन सक्ने अवस्था नदेखिएको स्थानीय खेलकर्मीहरु स्वीकार्छन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले भने चालु आर्थिक वर्षमै साग गेमको पुर्वाधार निर्माणको रकम माग गरेर पठाईएको बताए । ‘बजेटको लागि पत्राचार गरिसकेका छौं । साग गेमको पुर्वाधारको लागि छुट्टाइएको बजेट उपलब्ध गराउन माग गरेका छौं ।’ उनले भने—‘कामको निरन्तरता हो भन्दै एक करोड माग गरिएको छ ।’ उनका अनुसार स्थानीय समितिले समन्वयकारी भूमिका नखेल्दा समेत बजेट माग गर्न ढिलाई भएको हो । निर्माणाधिन हल ४९ मिटर लम्बाई र २९ मिटर चौडाईको छ ।