भोलिदेखि पोखरामा चारदिने अन्तराष्ट्रिय साईकल दौड

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २८ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)— पोखरामा भोलि सोमबारदेखि ‘पोखरा चौथो स्टेज साईकल रेस’ प्रतियोगिता हुदैै छ । कास्की जिल्ला साईक्लिङ संघको आयोजनामा पोखराको विभिन्न चार ठाँउमा प्रतियोगिता गरिने जनाएको छ । पहिलो दिनमा ४० किलोमिटर, दोस्रो, तेस्रो र चौथो दिनमा ४५देखि ५० किलोमिटरको दुरीमा रेस हुने संघका अध्यक्ष दिलिपराज श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए । सोमबारदेखि शुरु हुने प्रतियोगितामा नेपालसहित ९ देशका ३० जना साईक्लिष्टको सहभागिता रहने छ ।

अन्तराष्ट्रिय साईकल दौडको पहिलो दिन सोमबार कास्कीको पामेबाट शुरु भई चापाकोट, तारेभिर, भुम्दी, पुम्दी, विश्वशान्ति स्तुपा, छोरेपाटान, स्तुपा सानो ताल हुदैं पामेमै पुगेर टुंगिने छ । दोस्रो दिन मंगलबार छोरेपाटनबाट शुरु हुने छ । छोरेपाटन, शिवालय, कृस्ति, मट्टिखान हुदैै पुन छोरेपाटनमा आएर टुग्याइने संघले जनाएको छ । तेस्रो दिन बुधबार बेगनासबाट शुरु हुने छ । बेगनास, कालिका, बेगनासताल, रुपाताल हुदैं बेगनासताल किनारमा पुगेर टुगिने पत्रकार सम्मेलनमा जानकारी दिईयो । चौथो तथा अन्तिम दिन बाटुलेचौर, डाडाँगाँउ, अर्मलाकोट, अर्मलाडिही, महेन्द्रगुफाहुदैं बाटुलेचौरमा पुगेर दौडको समापन हुने छ ।

साईकल दौडको माध्यमबाट साहसिक खेलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित प्रतियोगिताको चारै दिनमा प्रतिस्पर्धीको समयलाई आधार मानेर विजयी घोषणा गरिने छ । विजेताले ट्रफी पाउने छ । साईक्लिङ संघले विगतमा राष्ट्रियस्तरको प्रतिस्पर्धा गरेपनि यो भने पहिलो अन्तराष्ट्रिय प्रतिस्पर्धा हो । विजेताले विदेशमा हुने अन्तराष्ट्रिय साईक्लिङ रेसमा सहभागिता जनाउन पाउने छ । नेपाली साइक्लिष्ट अजय पण्डितले सहभागिता जनाउने छन् । फोटो-पोखरासिटी डटकमबाट