आरिफ र रोहितको उत्कृष्ठ साझेदारी, केन्यामाथि ३ विकेटको जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २९ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—मध्यक्रमका व्याट्सम्यान आरिफ शेख र रोहितकुमार पौडेलले छैटौं विकेटको लागि ८७ रनको उत्कृष्ठ साझेदारी गरेपछि नेपालले केन्यामाथि ३ विकेटको जित दर्ता गरेको छ । जितसँगै नेपाल डिभिजन १ मा उक्लिने सम्भावनालाई बलियो बनायो । चार खेलमा एक हार र तीन जितसँगै नेपाल अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।
छैैटौं विकेटको लागि महत्वपूर्ण साझेदारी गरेपछि जितको आधारशिला तयार भएको थियो । आरिफ शेख ४२ रन बनाउँदै पवेलियन फर्किदाँ रोहितले इनिङ सम्हाले । अन्य दिनमा सस्तैमा आउट भएका रोहितले जितको नायक बन्ने क्रममा सोमबार ४७ रन हिर्काए । उनको महत्वपूर्ण योगदानमा नेपालले पुरै ओभर खेल्दै केन्याले दिएको १७८ रनको चुनौतिलाई सात विकेटको क्षतिमा पुरा ग¥यो । उनले आफनो इनिङमा सिंगल र डबल रन लिदैं उत्कृष्ठ फिनिसर बन्ने मौकाबाट चुके । उनी जितको लागि दुई रन बाँकी छदाँ रनआउट हुन पुगे । उनी एनएम ओडियाम्बोको बलमा रन लिने क्रममा रनआउट भए । सोमपाल कामीले विजयी रन बटुले । उनले पाँच बलमा पाँचै रन ठोके । अन्तिममा करण केसी आए तर उनले बलको सामना भने गर्न पाएनन् ।

नेपाली ओपनर भने सस्तैमा आउट भएपछि निकै दवाबमा खेल्न पुग्यो । व्यक्तिगत ९ रनमा खेलिरहेको ज्ञानेन्द्र मल्ल रिन्गेराको बलमा ओबुयाको हातबाट क्याच आउट भए । उनीसँगै ओपनिङ थालेका अनिलकुमार शाह भने शून्य रनमै पवेलियन फर्किए । कप्तान पारस खड्काले नेपालको रन स्कोर माथि उकास्ने प्रयत्न गर्दै ४४ बलमा ४२ रन बनाई एनएम ओडियाम्बोको बलमा क्याच भए । दिपेन्द्रसिंह ऐरी चौथो खेलमा पनि फ्लप भए । उनी रिन्गेराको बलमा एक रनमै आउट हुदाँ नेपाली व्याटिङ दबावमा आयो । भरपर्दा व्याट्सम्यान शरद भेषवाकर पनि व्यक्तिगत १९ रनमा पवेलियनको बाटो समातेपछि नेपाली टोलीलाई सम्हालिनुपर्ने खाँचो देखियो । त्यो खाँचोलाई आज भने आरिफ शेख र रोहितले उकासे ।
आईसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा कमजोर मानिएको केन्याले नेपाललाई १७८ रनको चुनौति दिएको थियो ।

लेगस्पीनर सन्दीप लामिछानले उत्कृष्ठ बलिङ गर्दै पाँच विकेट लिदैं केन्यालीमािथ आफनो बलिङ जादु देखाउँदा अलराण्डर शरद भेषवाकरले पनि बलिङमा आफनो खुवी प्रष्टयाए । उनले सात ओभर बलिङ गर्दै एक विकेट लिए । सोमपाल कामीले पनि अन्य दिनको भन्दा कम विकेट हात पारे । उनको नाममा केवल एक विकेट मात्रै लेखियो । बसन्त रेग्मीले पनि एक विकेट लिदाँ कप्तान पारस खड्का र करण केसीले भने विकेटमा नाम लेखाउन सकेनन् ।
टस जितेर क्षेत्ररक्षण(फिल्डिङ) रोज्दै नेपालले व्याटिङको निम्तो भने केन्यालाई दियो । ओपनर आइए करिमले ४२ रन हिर्काए । एए ओबाण्डाले पनि ४१ रन बनाई आउट भएपछि केन्याले राहतको अनुभव ग¥यो । सि.ओ ओबुयाले २७ रनको योगदान दिए । एन एन ओडियाम्बोले ७ रन बनाई आउट भए । एनएम ओडियाम्बोले २४ र एस ओ एनगोचेले २३ रनमा नटआउट रहे । केन्याले आठ विकेटको क्षतिको क्षतिमा पुरै ओभर खेल्दै १७७ रनको स्कोर तयार पा¥यो । म्यान अफ दि म्याच भने सन्दीप लामिछाने भए ।  तस्वीर रमन शिवाकोटी