साईकल रेस प्रतियोगितामा लक्ष्मी उपाधि नजिक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २ गते २०७४ मा प्रकाशित


धन बस्नेत, पोखरा-क्यानडेली साईक्लिष्ट करी वालेस चौथो स्टेज अन्तराष्ट्रिय साईकल रेसको तेस्रो दिनमा पनि प्रथम भएका छन् । टास्ककै सबैभन्दा लामो ८० किलोमिटर दुरीको तेस्रो स्टेज वालेसले २ घण्टा १२ मिनेट २० सेकेण्डमा पुरा गरे । तेस्रो दिनमा नेपाली साइक्लिष्ट नारायण गोपाल महर्जन भने दोस्रो स्थानमै चिक्त बुझाए । उनले ८० किलोमिटरको दुरीलाई २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गरेका थिए । तेस्रो स्थानमा भने ललितपुरकाआयमान तामाङ भए । उनले त्यो दुरीलाई भने २ घण्टा ३० मिनेट १५ सेकेण्डमा पुरा गरे ।

बुधबार बेगनासबाट शुरु टास्क भने सबैभन्दा लामो दुरीको थियो । बेगनासबाट शुरु भएको टास्क बेगनास, कालिका, बेगनासताल, रुपाताल हुदैं बेगनासताल किनारमा पुगेर टुंगिदाँ साइक्लिष्टले ८० किलोमिटरको दुरी पार गरेका थिए । महिला तर्फको प्रतिस्पर्धामा भने लक्ष्मी मगरले आफनो बर्चस्वलाई तेस्रो दिनमा पनि कायमै राखिन् । लक्ष्मी मगरले ३ घण्टा ५ मिनेत ३० सेकेण्डमा दुरी पुरा गर्दै प्रथम भईन् । रोजा केसी दोस्रो भईन् । ८० किलोमिटरको दुरीलाई उनले ३ घण्टा २२ मिनेट ३१ सेकेण्डको समयमा पुरा गरिन् । उषा खनाल भने एक सेकेण्डले पछि पर्दै तेस्रो स्थानमा चिक्त बुझाउन बाध्य भईन् । उनले दुरीलाई २ घण्टा २२ मिनेट ३२ सेकेण्डले पुरा गरेकी थिईन् ।

पोखरामा पहिलो पटक आयोजित ‘पोखरा चौथो स्टेज अन्तराष्ट्रिय साईकल रेस’ प्रतियोगिता भोलि बिहीबार टुंगिने छ । कास्की जिल्ला साइक्लिङ संघको आयोजनामा सञ्चालित चारदिनको प्रतियोगितामा सबैभन्दा कम समयमा दुरी पुरा गर्ने च्याम्पियन बन्ने छ । तेस्रो दिनको रेसलाई रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले औपचारिक रुपमा उदघाटन गर्दै शुरु गरिएको थियो । साईकल संघ कास्कीका उपाध्यक्ष शंकर भण्डारी, कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपकबहादुर गोदार लगायतको उपस्थिति थियो । भण्डारी र गोदार निर्णायकको भूमिका निर्वाह समेत गर्दै आएका छन् । चौथो तथा अन्तिम दिन बाटुलेचौर, डाडाँगाँउ, अर्मलाकोट, अर्मलाडिही, महेन्द्रगुफाहुदैं बाटुलेचौरमा पुगेर सकिने रेसको भने ५२ किलोमिटरको हुने छ ।