चार वर्षे एन्फा नेतृत्वको लागि शेर्पा र कुँवर बीच प्रतिस्पर्धा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ४ गते २०७४ मा प्रकाशित


काठमाडौं (खेलाडी न्युज)- एक महिनापछि नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ(एन्फा)को नयाँ नेतृत्वको लागि अधिवेशन हुदैं छ । एकवर्षपछि अधिवेशन गर्ने जिम्मेवारी लिदैं विशेष अधिवेशनबाट अध्यक्ष बनेका नरेन्द्र श्रेष्ठले भने आफनो उम्मेदवारी प्रस्तुत नगर्ने जनाएका छन् । पोखराबाट एन्फामा अध्यक्षको लागि पत्रकार सम्मेलन गर्दै उदघोष गरेका कृष्ण थापा भने उपाध्यक्षमा झर्दै अध्यक्षमा कर्मा छिरिङ शेर्पालाई समर्थन गरेका छन् । अध्यक्षको लागि बर्तमान उपाध्यक्ष मणि कुवँर र शेर्पा बीच प्रतिस्पर्धा हुने निश्चित देखिएको छ ।

अधिवेशनसँगै चार वर्षे नेतृत्वको लागि दुवै जनाले लबिङमा व्यस्त छन् । एन्फाका पूर्व प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधारले पनि यसपटक शेर्पालाई समर्थक गरेका छन् । उनी यसअघि संस्थापन पक्षका मुख्य व्यक्ति रहेका थिए । गत साता उम्मेदवारी घोषणा गरेका शेर्पा आज उम्मेदावरी दर्ता गर्दैछन् । चैत १४ गते का लागि हुने निर्वाचनका लागि उम्मेदवारी दर्ताको आज अन्तिम दिन हो । अध्यक्ष पदका लागि औपचारिक रुपमा उम्मेदवारी दिने घोषणा भएपनि दुवै आकांक्षीले आन्तरिक रुपमा प्यानलको समेत तयारी गरेका छन् ।

विगतमा १७ सदस्यीय कार्यसमितिका लागि ६० जना सम्मको उम्मेदवारी पर्ने गरेको एन्फामा अन्त्यमा सर्वसम्मत नेतृत्व चयन हुने परम्परा थियो । तर अहिले त्यो सम्भावना पनि कमजोर बन्दै गएको छ । यद्यपी समय भने एक महिनाको बाँकी रहेकोले सर्वसम्मतको प्रयास भने हुने छ । तत्कालिन एन्फा अध्यक्ष गणेश थापाको बहिर्गमनसँग एन्फाको सर्वसम्मतको अन्त्य भइसकेको छ र प्रतिस्पर्धा सुरु भइसकेको छ । गत वर्ष थापालाई फिफाले १० वर्षको प्रतिबन्ध र झन्डै २१ लाख रुपैयाँको जरिवाना तोकेपछि पहिलो पटक गत वर्ष अध्यक्ष र एक उपाध्यक्षमा बाँकी कार्यकालका लागि निर्वाचन भएको थियो । गत वर्ष मंसिरमा उपाध्यक्षमा राजीनामा दिदै शर्पाले अध्यक्षमा नरेन्द्र श्रेष्ठसँग प्रतिस्पर्धा गरेका थिए । कर्माले छाडेको उपाध्यमा कुवर, उपेन्द्रमान सिंह र दीपक खाती उपाध्यक्षमा लडेका थिए । शेर्पाको समूहबाट पंकज नेम्बाङ, उपेन्द्रमान, वीरबहादुर खड्का, कृष्ण थापालगायतले उपाध्यक्षमा उम्मेदवारी दिने सम्भावना रहेको छ । कुँवर समूहबाट गणेश चन्द, गणेश भट्टराईलगायतलाई सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ ।