खेलकुद व्यवस्थित गर्ने महानगरपालिकाको योजना

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ५ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—जिल्ला खेलकुद विकास समिति चैत मसान्तभित्र पोखरा लेखनाथ महानगरपालिकाको मातहतमा आउने छ । त्यसपछि महानगरपालिकाले पोखराको खेलकुदलाई विशेष महत्व दिदैं व्यवस्थित गर्ने ध्यान दिने छ । खेलकुदको पुर्वाधार विकास एवं खेलकुद प्रतियोगितालाई अझ व्यवस्थित रुपमा सञ्चालन गर्ने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले खेलकुद विकासको लागि २५ लाख रुपैयाँ छुट्टाउँदै आएको छ । अब यो बजेट बढ्ने सम्भावना समेत महानगरपालिकाले संकेत गरेको छ ।

‘खेलकुदलाई महत्व दिदैं व्यवस्थित गर्ने लक्ष्य महानगरपालिकाले लिएको छ ।’ सफल पोखरा म्याराथनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिकाका मेयर मानबहादुर जिसीले भने—‘पूर्वाधारको विकासमा मात्रै नभई खेलकुदलाई पनि विशेष महत्व दिईने छ ।’ चैत मसान्तभित्रमा खेलकुद महानगरपालिकाको मातहतमा आउने भन्दै उनले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको माध्यम खेलकुदलाई विशेष ध्यान दिईने स्पष्ट पारे ।

पोखरा लेखनाथ महानगरपालिकाको १२ वटा विभिन्न देशका शहरसँग भगिनी सम्बन्ध कायम गरेको छ । आगामी वर्ष भगिनी सम्बन्ध भएका शहरबाट समेत धावकलाई पोखरा म्याराथनमा सहभागिताको लागि आग्रह गरिने उनको भनाई थियो । ‘म्याराथन मात्रै नभई च्यारिटी समेत गर्नुपर्ने आवश्यकता छ ।’ उनले भने —‘च्यारिटीबाट संकलित पैसालाई खेलकुदको विकासमा लगानी गर्न सकिन्छ ।’ पोखरा स्पोर्टस टुरिज्म सिटीको रुपमा विकास हुदैं गएपछि स्पोर्टसको प्रोमोसनमा पर्यटन व्यवसायीले प्रभावकारी भूमिका खेल्न नसकेको गुनासो समेत छ ।

‘पोखरामा आयोजना हुने खेलकुद गतिविधिको लक्ष्य नै खेलकुद पर्यटन प्रवद्र्धन गर्ने मुख्य हो ।’ भुतपुर्व खेलाडी मन्चका अध्यक्ष तेजबहादुर गुरुङले भने—‘तर पोखरा म्याराथनमा भने पर्यटन व्यवसायीको संलग्नता भने खासै चासोको रुपमा लिएका छैनन् ।’ तर त्यसको प्रत्यक्ष प्रतिफल भने पर्यटन व्यवसायीले नै पाउँने उनको भनाई थियो । भुतपुर्व खेलाडी मन्चले सफल दुधको मुख्य प्रायोजनमा पर्सी सोमबार १२ औं सस्करणको सफल पोखरा म्याराथन गर्दै छ । त्यसलाई पनि महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता पत्रकार सम्मेलनमा गरेको छ ।