क्रिकेट हिरो करणलाई पोखरामा स्वागत गर्दै नगरपरिक्रमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ६ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)— नेपाली क्रिकेटलाई नयाँ इतिहास लेखाउन सफल करण केसीलाई पोखरामा पोखरेली क्रिकेट प्रेमीले भव्य स्वागत गरे । पोखरा विमानस्थनलमा दिउँसो आईपुगेका उनलाई पोखरेली क्रिकेट फ्यानहरुलाई उनलाई स्वागत गरे । विदेशिन हिडेको बाग्लुङे ठिटोको पोखरा रंगशालाबाट भाग्य फेरिएको थियो ।

भाग्य बदल्न धेरै चाहिदैैन् । केवल एकै बल भए पुग्छ । त्यही एकै बलले नेपालले क्रिकेटमा इतिहास लेखायो । त्यसको सम्पूर्ण जस भने करण केसीलाई आयो । १९९६ देखि अन्तराष्ट्रिय प्रतियोगितामा उपस्थिति जनाएको नेपालले दुई दशकपछि विश्वकप छनोटमा पुग्न सफल भएको छ । नेपाली क्रिकेटले निकै छोटो समयमा अविश्सनीय अविस्मरणीय उपलब्धी हासिल गर्दै क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता खेल्ने लायक बन्यो । त्यो लायक बनाउने जिम्मेवारी करण केसीले पुरा गरे । क्यानडासँगको अन्तिम खेल खेल्दै थियो नेपाल । जितले विश्वकप छनोटको बाटो तय हुने थियो । हारले डिभिजन टुमै रहनुपर्ने बाध्यता थियो । खेल निर्णायक मोडमा थियो । क्रिजमा थिए दुई बलर—करण केसी, सन्दीप लामिछाने । एक विकेट बाँकी थियो । ओभर पनि केवल एकै थियो । रन चाहिएको थियो ८ । यस्तो अवस्थामा निकै धैर्यताको खाँचो थियो । समन्वयको खाँचो थियो । जसलाई करण र सन्दीपले निकै संयमतापूर्वक खेले । चार बल डट हान्दा दुई बलमा ८ रन चाहियो । पाँचौ बलमा छक्का हिर्काए । एक बलमा २ रन । अन्तिम बल वाईड फालेपछि खेल टाई हुन पुग्यो । अन्तिम बलमा करण र सन्दीपले रनिङ बिटविन द विकेट गर्दै एक रन लिदैं विश्वकपको छनोट खेल्न नेपाललाई योग्य बनाए ।

उनै क्रिकेट हिरो करण केसीलाई पोखरामा स्वागत गर्दै नगर परिक्रमा गराईयो । एयरपोर्टबाट विरौटाचोक, लेकसाईड, जिरोकिलोमिटर, पस्र्याङ हुदैं पुरानो टुडिखेल हुदै बगर पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर, नालामुख, पालिखेचोकबाट पोखरा रंगशालामा पुगेर नगर परिक्रमा गरिएको थियो । पोखरा रंगशालाबाट क्रिकेट करियरको नयाँ उचाईमा पुगेका केसीले आफैंले पोखरामा राईजिङ क्रिकेट एकेडेमी सञ्चालन गरिरहेका छन् । गत वर्ष खेलकुद पत्रकार मन्च कास्कीले आयोजना गरेको वर्ष खेलाडीमा मनोनयनमा परेका केसीले तीन वर्षकै अवधिमा नेपाली क्रिकेट इतिहासमा अविस्मरणीय छाप छोड्न सफल भएका छन् ।