दोस्रो रोजाईका खेलाडीबाट लेगानेस विरुद्ध रियललाई शतिप्रतिशत नजिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १० गते २०७४ मा प्रकाशित


एजेन्सी—स्पेनिस ला लिगामा रियल मड्रिडले कम महत्व दिएको लेगानेस विरुद्धको खेल भने दोस्रो रोजाईका खेलाडीले पनि शतप्रतिशत नजिता निकाल्दै ३ अंक जोडेको छ । तीन खेलाडी चोटग्रस्त तथा रोनाल्डोलाई आराम दिईएको खेलमा रियलले लेगानेस विरुद्ध कम ब्याक गर्दै ३—१ गोलले पराजित गरेको छ ।

बुधबार राती भएको खेलमा पहिलो हाफको ६ छैटौं मिनेटमा लेगानेसले गोल गर्दै रियल मड्रिडलाई दबाव सृजना गर्यो । युनाई बस्टिन्जाले पोष्टको नजिकैबाट हानेको हेडिङ गोल भएपछि रियल केहीछिन स्तब्ध बन्यो । ग्रावियल पेरिसले दिएको हेड पासलाई युनाईले पोष्टकै नजिकैबाट हानेका थिए तर सेभ भएको थियो । त्यही बललाई फेरी उपयोग गर्दै उनले गोल गरेका थिए ।

रियलले लेगानेसको अग्रतालाई केवल पाँच मिनेटमै बराबरीमा ल्यायो । ११ औं मिनेटमा लुकास भाजक्युजले गोल गर्दै रियललाई बराबरी गोल गरे । कासिमिरोले उपलब्ध गराईदिएको पासलाई लुकासले बक्सको सेन्टरबाट हानेको बल सिधै पोष्टको दायाँ कुनाबाट छिरेको थियो । १६ औं मिनेटमा मार्को असेन्सियोको प्रहार पनि बचाउ हुन पुग्यो । २९ औं मिनेटमा रियल मड्रिडले अर्को गोल थप्दै अग्रता दोब्बर बनायो । कासिमिरोले लुकासको पासलाई उपयोग गर्दै दायाँ खुट्टाले हानेको बल पोष्टको कुनाबाट भित्र छिरेको थियो । ३४ औं मिनेटमा करिमा बेन्जिमाले लुकासकै पासमा हानेको प्रकार पनि गुम्यो ।

६४ औं मिनेटमा लेगानेसका मार्टिन मान्टोभानीले जाभियर एरासोको कर्नर पासमा हानेको हेडिङ पोष्टबाट केहीपरबाट बाहिरियो । ८० औं मिनेटमा रुबेन पेरेजले नाविल ईजाहरको पासलाई पनि सदुपयोग गर्न नसक्दा लेगानेसको महत्वपूर्ण अवसर गुमायो । खेलको ९० औं मिनेटमा रियल मड्रिडका कप्तान सर्जियो रामोसले पेनाल्टी गोल गर्दै लेगानेस विरुद्ध सहज जित निकाल्यो । मोटओ कोभासिचलाई डिएगो रिकोले फउल हानेपछि रियलले पेनाल्टी हान्ने अवसर पाएको थियो । खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा नर्दिन अम्राबाटले हानेको बल खेर गयो । जुन अवसर लेगानेसको लागि अन्तिम मौका थियो । टोनी क्रसको घुडाँमा समस्या, मार्सेलोको पिडौंलाको समस्या र लुका मड्रिक पनि पिडौंलाको समस्याले ग्रसित छन् । मार्च ६ मा पेरिस सेन्ट जर्मेन विरुद्धको च्याम्पियन्स लिगको दोस्रो लेगको लागि रोनाल्डोलाई समेत विश्राम दिइएको थियो ।