गोल्डकप फाइनलमा दुई विभागीय टोली

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १० गते २०७४ मा प्रकाशित


हेटौंडा,(खेलाडी न्युज)—हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा सीएमजी संकटालाई २–० ले संकटग्रस्त पार्दै विभागीय टोली नेपाल पुलिस क्लबले शनिबार हुने फाइनलमा अर्को विभागीय टोली आर्मीसँगको उपाधि भेट पक्का गरेको छ । बुधबारको पहिलो सेमिफाइनलमा मनाङ मस्र्याङ्दीलाई १–० ले पराजित गर्दै आर्मी फाइनल प्रवेश गरिसकेको छ । पुलिसले विहीबार सेमिफाइनलमा संकटा क्लबको चुनौती पन्छाउँदै उपाधिका लागि आर्मीसँगको भेट पक्का गरेको हो । हेटौंडा–१० स्थित बनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा जारी प्रतियोगितामा पुलिसले संकटालाई सहज पराजित ग¥यो ।

पुलिसका लागि दिनेश राजवंशीले १९ औं मिनेटमा र निरकुमार राईले ५३ औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच निरकुमार घोषित भए । उनले नगद पाँच हजार रुपियाँ प्राप्त गरे । दिनेशले डिबक्स नजिक प्राप्त फ्रिकिकमा हेडमार्फत् गोल गरेका थिए । पुलिसका फरवार्ड सुमन लामाले उपलब्ध गराएको बलमा उनले हेड गरेका थिए । निरकुमारले गरेको दोस्रो गोल भने आकर्षक थियो । उनले डिबक्सभित्र सुमन लामाले उपलब्ध गराएको बललाई संकटाका दुई डिफेन्डरलाई छक्याउँदै सुन्दर गोल गरेका थिए । उनको प्रहारमा संकटाका कप्तानसमेत रहेका गोलरक्षक विनय श्रेष्ठले प्रतिक्रिया जनाउनै पाएनन् । संकटाले पहिलो हाफमा खासै ‘मुभ’ बनाउन सकेन ।

दोस्रो हाफमा संकटामाथि पुलिस हाबी भएको थियो । तर, पुलिसले दोस्रो हाफमा आधा दर्जनभन्दा बढी मौकाको सदुपयोग गर्न सकेन । संकटाका गोलरक्षक विनयले ८८ औं मिनेटमा निरकुमारले सिक्स यार्ड बक्सबाट प्रहार गरेको बललाई उत्कृष्ट बचाउ गरेका थिए । संकटाले अघिल्लो खेलमा थ्री स्टार पराजित गर्दा उत्कृष्ट खेल प्रदर्शन गरेका कर्ण लिम्बु र प्रकाश बुढाथोकी उक्त खेलमा फिक्का साबित भए ।

विजय युथ क्लब हेटौंडाविरुद्ध ३–० को प्रभावशाली जित हात पार्दै पुलिसले प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको थियो । दोस्रो हाफको सुरुमा संकटा केही आक्रामक देखिए पनि खेलमा फर्किन सकेन । ४९ औं मिनेटमा संकटाका सेड्रिक अबाले गरेको वान भर्सेस वान हेडर पुलिसका किपर शत्रुघन चौधरीले उत्कृष्ट बचाउ गरेका थिए । विपक्षी थप खतरनाक देखिनुअघि नै राईले २ रक्षकलाई छलाउँदै उत्कृष्ट गोल गरेपछि पुलिसको अग्रता दोब्बर भएको थियो । उक्त गोलपछि संकटाले खेलमा फर्किने मौका पाएन ।

खेलपछि प्रतिक्रिया दिँदै पुलिसका प्रशिक्षक अनन्तराज थापाले खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए । ‘हामीले खेलाडीलाई दिएको रणनीतिअनुसार खेल भयो । हामीले विपक्षी कमजोरभन्दा पनि आफ्नो उत्कृष्ट प्रदर्शन हुँदा खेल जित्न सक्यौं,’ उनले आर्मीविरुद्ध फाइनलका लागि आफूहरु तयार रहेको बताए । प्रशिक्षक थापाले सेमिफाइनलमा संकटासँगको खेल सोचेभन्दा राम्रो भएको प्रतिक्रिया दिए । ‘खेल बिगत दिनभन्दा स्पेसल भयो । हाम्रा लागि हरेक खेल नयाँ हुने गरेको छ,’ उनले भने–प्रतिद्वन्द्वी हेरेर हामीले रणनीति बनाउने गरेका छौं । आजको रणनीतिमा सफल भयौं । आर्मी सँगको फाइनल भिडन्त ५०÷५० हुने बताउँदै उनले पुलिसले सेमिफाइनलकै सेट उतार्ने र उपाधि जित्ने दाबी गरे । पोष्टम्याच कन्फ्रेन्समा संकटाका प्रशिक्षक सल्यान खड्गीले सहभागिता जनाएनन् ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाखसहित शिल्ड र मेडल प्राप्त गर्ने प्रतियोगिता संयोजक विशाल घोषले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद १५ हजार रुपियाँ नगद प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद ५० हजार रुपियाँको व्यवस्था गरिएको छ । प्रतियोगिता सुमन भोम्जन खेलकुद प्रतिष्ठानले आयोजना गरेको हो । हेटौंडेली खेलपत्रकार भोम्जनले २०७२ को भुकम्पमा काठमाडौंमा ज्यान गुमाएका थिए । शब्द, तस्वीर रोशन पराजुली