कुमुदिनी होम्स र सत्यवती एक्सपर्ट कलेज क्रिकेटको फाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १२ गते २०७४ मा प्रकाशित


पोखरा, (खेलाडी न्युज)—स्याङजा बहुमुखी क्याम्पसलाई ३९ रनले पराजित गर्दै सत्यवती उच्चमावि दमौली तेस्रो एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार पहिलो सेमिफाईनल खेल्दै गत वर्षको विद्यालयस्तरीय एक्सपर्ट क्रिकेट लिगको विजेता समेत रहेको सत्यवतीले स्याङजालाई ६७ रनमै खुम्च्याएपछि फाईनल सुरक्षित गरेको हो ।

१०७ रनको लक्ष्य पछ्याएको स्याङजाका रामु थापाले ३५ रन बाहेक अन्य व्याट्सम्यान भने दोहोरो अंकको रन विहीन हुदैं पवेलियन फर्किएपछि सत्यवतीले फाईनल पुग्दै खुशीयाली बनायो । जितपछि सेल्फी लिदैं खुशीयाली मनाएको सत्यवतीले कलेज प्रिमियर लिगको उपाधिको लागि कुमुदिनी होम्स गैह्रपाटन पोखरासँग खेल्ने छ । म्यान अफ दि म्याच विनय भण्डारीले चार विकेट लिएपछि स्याङजा धरासायी बन्न पुग्यो । पहिलो ओभरमै दुई विकेट गुमाएपछि दवावमा रहेको स्याङजाले एकपछिअर्को विकेट गुमाएपछि सस्तैमा अलआउट हुन पुग्यो । सौरभ अली र शुशिल गिरीले २—२ विकेट लिए । स्याङजाका चार व्याट्सम्यान शून्यमै आउट भएका थिए ।

टस जितेर व्याटिङ रोजेको सत्यवतीले १०६ रन बनाई इनिङ टुंग्यायो । रुपक बरालले ४३ बलमा २८ रनको योगदान दिए । विनय भण्डारीले २७ बलमा २४ रन बनाए । अर्जुन श्रेष्ठले ३६ बलमा २६ रनको योगदान दिए । किस्मतजंग कार्कीले दुई विकेट लिए । अशोक श्रेष्ठ, विपिन काफ्ले र विश्व थापाले एक एक विकेट लिए । यसैगरी पोखरा विश्वविद्यालयलाई ३१ रनले पराजित गर्दै कुमुदिनी होम्स फाईनलमा प्रवेश गरेको छ । टस जितेर व्याटिङ गरेको कुमुदिनी होम्सले २० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा ११६ रन बनायो । साहिल कार्कीले १९ बलमा २७ रन हिर्काए । विकास अधिकारीले २६ बलमा २३ रन बनाए । बलिङ तर्फ सुमन रसाईलीले चार ओभरमा ३१ रन दिदैं ३ विकेट लिए ।

११७ रनको लक्ष्य पछ्याएको पोखरा विश्वविद्यालय भने १६ ओभर २ बल खेल्दै ८५ रनमा समेटियो । सुमन रसाईलीले २२ रन, कप्तान सागर कोइरालाले १७ रन र सन्देश रेग्मीले १४ रन जोडे । विश्वास पराजुलीले चार ओभर एक मेडन राख्दै १३ रनको खर्चमा ५ विकेट लिए । एकै खेलमा पाँच विकेट लिएको यो पहिलो हो । सम्राट खनालले दुई विकेट लिए । पाँच विकेट लिएका विश्वास पराजुली म्यान अफ दि म्याच घोषित भए । उनलाई प्रतियोगिताका सयोजक तथा क्रिकेटका राष्ट्रिय खेलाडी विधान श्रेष्ठले ट्रफी हस्तान्तरण गरे । तस्वीर भगवान श्रेष्ठ