आर्मीलाई सिजनको छैटौं उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १२ गते २०७४ मा प्रकाशित


हेटौंडा,(खेलाडी न्युज) —डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीले हेटौंडा गोल्डकपको उपाधि उचालेको छ । आर्मीको नकाउट फुटबलमा यो सिजनको छैटौं उपाधि हो ।

शनिबार हेटौंडामा पुलिस क्लबलाई हराउँदै आर्मी क्लबले गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको हो । निर्धारित समय गोलरहित भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा आर्मीले पुलिसलाई ४–३ ले हराउँदै नगद ५ लाखसहित उपाधि जित्न सफल भयो । टाइब्रेकरमा आर्मीका किपर बिकेश कुथु, सन्तोष तामाङ, दीप लामा र विवेक बस्नेतले गोल गर्दा नवयुग श्रेष्ठको प्रहार पोष्टमा लागेर फर्किएको थियो । पुलिसका सुमन लामा, अजित राजभण्डारी र दिनेश राजवंशीमात्र गोल गर्न सफल भए । कुथुले पुलिसका तेज तामाङ र बुद्ध लामाको बल निस्तेज पारेपछि आर्मीको जित सहज भएको हो ।

उत्कृष्ट फर्ममा रहेको आर्मीले तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता–२०७४ को उपाधि रक्षा गर्दै यस वर्षको सर्वाधिक सफल क्लबका रुपमा आफूलाई उभ्याएको छ । उपविजेता पुलिस नगद तीन लाख रुपियाँ, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । आर्मी यस वर्ष मोफसलका आठ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो भने पुलिस पाँच वटा प्रतियोगिताको फाइनल प्रवेश गरेको थियो । नेपाल पुलिस क्लब भने पहिलो पटक हेटौंडा गोल्डकपको फाइनल पुगेको थियो ।

हेटौंडा गोल्डकपको पहिलो र दोस्रो संस्करणमा फाइनल खेलेको आर्मी दोस्रो संस्करणको विजेता हो । पहिलो संस्करणमा मनाङ मस्र्याङ्दीसँग पराजित आर्मीले दोस्रो संस्करणमा मनाङलाई २–० ले पराजित गर्दै उपाधि जितेको थियो । आर्मी र पुलिसको नकाउट फुटबलमा यो पहिलो भेट थियो भने राष्ट्रिय खेलकुद परिषद्ले गरेको राखेप च्याम्पियनसिपमा भने पुलिसले आर्मीलाई पराजित गर्दै स्वर्ण पदक जितेको थियो । घरेलु फुटबलमा निकै लयमा देखिएको आर्मी एकपछि अर्को उपाधि उचाल्दै उत्कृष्ट फर्ममा देखिएको छ ।

रुस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्दै आर्मी पुनः लयमा फर्केको हो । ६ नकाउट फुटबल उपाधि उचाल्दै एकै सिजनमा सर्वाधिक उपाधि उचाल्ने टोलीमा आफ्नो नाम लेखाउन आर्मी सफल भएको छ । हेटौंडा गोल्डकपसँगै आर्मीको यस सिजनमा दशौं नकआउट फुटबल प्रतियोगिता हो । आर्मीका बिमल पाण्डे सर्वोत्कृष्ट खेलाडी घोषितहुँदै नगद ५० हजार रुपियाँ प्राप्त गरे । उत्कृष्ट गोलरक्षक आर्मीका विकेश कुथु, डिफेन्डर पुलिसका दिनेश राजवंशी, मिडफिल्डर पुलिसका तेज तामाङ, फरवार्ड पुलिसका अभिषेक रिजाल र प्रशिक्षक आर्मीका नवीन न्यौपाने घोषित भए । उनीहरुले जनही नगद १५ हजार रुपियाँ प्राप्त गरेका थिए । अन्तिम खेलका म्यान अफ द म्याच आर्मीका गोलकिपर कुथु भए । उनले नगद ५ हजार पुरस्कार पाए । गत साता रुस्लान नवौं सिमरा गोल्डकपको उपाधि जितेको आर्मीले त्यसअघि नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप, मेत्री नेत्रालय काकरभिट्टा गोल्डकप, सताक्षी गोल्डक र बीरगञ्जमा विशाल स्मृति गोल्डकप जितेको थियो । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनमा फागुन ५ गते शुरु प्रतियोगितामा ८ टिमको सहभागिता थियो ।