नेपाल चार विकेटले पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २४ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—ओपनर कायले कोइट्जरले नटआउट ८८ रन हिर्काएपछि नेपालले दिएको १५० रनको लक्ष्यलाई स्कटल्याण्डले छ विकेटको क्षतिमा ४१ ओभर ३ बल खेल्दै पुरा गर्यो । विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत नेपाल चार विकेटले पराजित हुदैै लगातार दोस्रो हार व्यहोर्यो । सन २०१५ मा आईसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल स्कटल्याण्डसँग ३ रनले पराजित भएको थियो ।

कायलेले १३६ बल खेल्दै सात चौका र ३ छक्का हिर्काए । एकपछि अर्को विकेट झर्दै गएको अवस्थामा दबावमा रहेको स्कटल्याण्डलाई उनले उकास्दै जितसम्म डोहोर्याए । ओपनर म्याथ्यु क्रसलाई स्कटल्याण्डले १४ रनमै गुमाएको थियो । कलुम म्याकलेडले १५, क्रयाग वालेसले १७ रन र जर्ज मुन्सेले केवल १० रन जोडे ।बसन्त रेग्मी र सन्दीप लामिछानेले दुई दुई विकेट लिए । ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले एक एक विकेट लिएका थिए ।

टस जितेर व्याटिङ रोजेको नेपालले स्कटल्याण्डलाई १५० रनको लक्ष्य दिएको छ । केवल ४७ ओभर ४ बल खेल्दै नेपाल १४९ रनमा अलआउट हुन पुग्यो । कप्तान पारस खड्काले ६३ रनमा आउट भए । उनले ६८ बल खेल्दै आठ चौका हान्दै आफनो अर्धशतक पुरा गरेका थिए । ७५ बल खेल्दै ८४ को स्ट्राईकरेटमा उनले ६३ रन बनाई नेपालीको रनरेट केही माथि उकासे । बसन्त रेग्मीले पनि २४ रनको महत्वपूर्ण योगदान दिए । सोमपाल कामीले १८ रन बनाई रन आउट भए ।

ज्ञानेन्द्र मल्ल एक रनमा र दिलिप नाथलाई चार रनमै गुमाउन पुग्यो । दिपेन्द्रसिंह ऐरीलाई पनि नेपाललाई सस्तैमा गुमायो । शरद भेषवाकरलाई पनि नेपालले शून्यमै पवेलियनको बाटो लिए । अरिफ शेखलाई पनि नेपालले सस्तैमा गुमाउँदा व्याटिङ फेरी धर्मराउन पुग्यो । नेपाली व्याट्सम्यानलाई निकै हतार भईरहेको जस्तो देखिएको छ । धैर्यताको खाँचो रहेपनि व्याटिङमा सुधारोन्मुख देखिएन ।सोमपाल कामीले पारस खड्कासँग ४२ रनको साझेदारी गरेका थिए । त्यो नै नेपालको लागि सबैभन्दा ठूलो  साझेदारी थियो । सोमपाल भने १८ रन बनाई पारस खड्कालाई साथ दिईरहँदा रन आउटको शिकार भए । स्कटल्याण्डका स्टुअर्ट हिटिङघमले ३५ रन खर्चिएर ३ विकेट लिए । सफ्यान सरिफले २१ रनमा २ विकेट र अलाधर इभान्सले २४ रन खर्चिएर २ विकेट लिएका थिए ।

स्कटल्याण्डले सन १९९९ मा वल्र्डकप खेलेको छ । पाँच पटक विश्वकप छनोटमा सहभागिता जनाई सन २००५ र २०१४ मा छनोट च्याम्पियन समेत भईसकेको छ । १९९४ मा आईसिसीको स्कटल्याण्डलाई एकदिवसीय बरियता र टी —२० को स्टाटस पाएको थियो । ७ मे १८४९ मा इग्ल्याण्ड ११ सँग पहिलो अन्तराष्ट्रिय खेल समेत खेलेको थियो ।