अफगानिस्तानसँग आजको खेल नेपालको लागि गर या मर

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २६ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—विश्वकप क्रिकेट छनोट अन्तर्गत आज नेपालले आफनो तेस्रो खेल अफगानिस्तानसँग खेल्दै छ । नेपालले यस अघिका दुई खेल जिम्बावे र स्कटल्याण्डसँग पराजित भईकेको छ । अफगानिस्तानको भने आज अन्तिम खेल हो । उसले तीन खेलमा पराजित भईसकेको छ । नेपालले अन्तिम खेल भने हङकङसँग दुईदिनपछि १२ मार्चमा खेल्ने छ ।

नेपालले सुपरसिक्सको लागि आजको खेल जित्नै पर्ने हुन्छ । आजको मात्रै नभई पर्सी हङकङलाई समेत पराजित गरेको अवस्थामा सुपरसिक्सको सम्भावना रहन्छ । अफगानिस्तानले आफनो टेष्ट मान्यताको प्रतिष्ठा जोगाउन पनि नेपाललाई जित्नैपर्ने मानसिकतामा खेल्ने छ । नेपालले अफगानिस्तानसँग मार्च १० मा खेल्ने छ । अफगानिस्तान क्रिकेटको एकदिवसिय बरियतामा ११ औं स्थानमा छ । टी—२० को बरियता भने नवौंमा रहेको छ । नेपाल र अफगानिस्तान बीच एकापसी परिचित प्रतिस्पर्धी हुन् । नेपालले २०१४ मा अफगानिस्तानलाई टी—२० मा पराजित गरेको थियो । नेपालले दिएको १४१ रनको लक्ष्यलाई अफगानिस्तान १३२ रनमा समेट्दै ९ रनले जितेको थियो ।

तर नेपालले वान डेको खेलमा अफगानिस्तानलाई पराजित गर्न सकेको छैन् । सन २००६ मा आईसिसी ट्रफीमा तेस्रो स्थानको प्ले अफ फाईनलमा नेपाल डकवर्थ लुईस अनुसार ६४ रनले पराजित भएको थियो । त्यस्तै सन २००८ मा आईसिसी डब्लुसिएल डिभिजन ५ सेमिफाईनलमा ३७ रनले पराजित हुन पुग्यो । २००८ कै एसीसी ईलाइट ट्रफीको तेस्रो स्थानको प्रतिस्पर्धामा अफगानिस्तान ३ विकेटले विजयी भएको थियो । २०१० मा पनि एसीसी इलाइट ट्रफी फाईनलमा ९५ रनले विजयी भएको थियो । २०१३ र २०१४ मा दुवै पटक डिएल अनुसार ३ र १०८ रनले पराजित भएको इतिहास छ ।

आजको खेलमा कप्तान पारस खड्काले निकै रणनीति बनाउनुपर्ने खाँचो छ । व्याटिङ लाईन पुरानै ढर्रामा चल्दै आएका छन् । ओपनरले खासै प्रभावकारी रन बनाई आफनो उपस्थितिलाई दरिलो बनाउन सकेको अवस्था छैन् । ओपनर न्युनतम १५ ओभर टिक्दै रन बटुले मध्यक्रमका व्याट्सम्यानलाई केही सहज हुने थियो । तर सस्तैमा पवेलियन फर्किदाँ पछिका व्याट्सम्यान दबावमा खेल्नपर्दा छिटो विकेट झर्दैै गएको छ ।

अफगानिस्तानी खेलाडी प्रतिबन्ध—आज नेपाल विरुद्धको खेलमा अफगानिस्तानका व्याट्सम्यान मोहम्मद शहजाद खेल्ने छैनन् । उनलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले विश्वकप क्रिकेट छनोटको दुई खेलमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धले आज नेपाललाई केही सहज हुने अनुमान गरिएको छ । काउन्सिलले पीचमा व्याट्ले हिर्काएको आरोपमा आचारसंहित २.१.८ अनुसार कारवाही गर्दै दुई खेलमा निलम्बित गरेको हो । शहजाद गतवर्ष समेत एकवर्षको लागि प्रतिबन्धित भएका थिए ।

तस्वीर रमन शिवाकोटी