नेपालको आज पपुवा न्युगिनीसँग निर्णायक खेल, जितले दिने छ एकदिवसीय मान्यता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—अन्तराष्ट्रिय क्रिकेटमा दुई दशकको यात्रा गरेको नेपालले आज इतिहास लेख्ने अभियानमा छ । जिते इतिहास लेखिने छ । पराजित भए अर्को अवसर कुर्नुपर्छ । क्रिकेटको विश्वकप छनोटमा सहभाागिता जनाउँदै क्रिकेटमा इँटा थपेको नेपालले अर्को इतिहास लेख्ने मात्रै एक कदम बाँकी छ । जितले नेपाललाई क्रिकेटको एकदिवसीय मान्यता पाउँछ ।

विश्वकप छनोटमा सुपर सिक्समा प्रवेश गर्न असफल भएको नेपालको लागि आज पपुवा न्युगिनीसँगको भेट एकदिवसीय मान्यताको लागि अन्तिम अवसर पनि हो । त्यो अवसरलाई आज नेपाली क्रिकेटरले चुकाउनु हुदैन् । जुन निर्णायक पनि हो । नेपालले आज हरारेस्थित हरारे स्पोर्टस क्लबको मैदानमा खेल्ने छ । नेपालको लागि त्यो मैदान भने विल्कुलै नयाँ हुने छ ।

नेदरल्याण्डले हङकङसँग अर्को प्लेअफ खेल्दै छ । नेपालले एकदिवसीय मान्यता पाउन नेदरल्याण्डले हङकङलाई पराजित गर्नुपर्ने हुन्छ । नेपालले पपुवा न्युगिनीलाई र नेदरल्याण्डले हङकङलाई हराए एकदिवसीय मान्यताको हकदार बन्ने छ । तर नेपालले जित र नेदरल्याण्ड पराजित भए सातौं स्थानको लागि नेपाल र हङकङ बीच प्रतिस्पर्धा हुने छ जुन एकदिवसीयको लागि निर्णायक हुने छ । चार वर्षको लागि नेपाली क्रिकेटको भविष्य लेखिने छ । पराजित टोली डिभिजन २ मै फर्किने छन् ।

हेड टु हेडमा पछाडि
नेपाल हेड टु हेडमा पपुवा न्युगिनी भन्दा पछि छ । नेपाल र पपुवा न्युगिनी बीच पहिलो पटक सन २००५ मा मलेसियामा भएको आईसिसी विश्व क्रिकेट लिग डिभिजन २ को छनोट चरणमा प्रतिस्पर्धा गरेका थिए । जहाँ नेपाल ७० रनले पराजित हुन पुगेको थियो । त्यस्तै सन २०१५ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पपुवा न्युगिनीसँग २ विकेटले पराजित भएको थियो । दोस्रो लेगमा पनि नेपाल ३ विकेटले पराजित हुन पुग्यो ।

बलिङको भरमा मात्रै विपक्षीलाई सस्तैमा समेट्ने प्रयासमा जुटिरहने नेपालको व्याटिङ अर्डर निकै खराब छ । उपकप्तान ज्ञानेन्द्र मल्लको व्याटबाट लिग डिभिजन २ र विश्वकप छनोटमा प्रभावकारी प्रदर्शन हुन नसक्दा सबैले निराश व्यक्त गरिरहेका छन् । ओपनिङ व्याट्सम्याच बीचको कम रनको साझेदारीले मध्यक्रमको व्याट्सम्यानलाई दबाव हुन्छ । तेस्रो नम्बरमा जाने कप्तान पारस खड्का समेत सस्तैमा आउट भएको स्थितिमा नेपाल मानसिक दबावमा खेल्नुपर्ने बाध्यता आउँछ । पपुवा न्युगिनीको विरुद्ध पनि बसन्त, सन्दीपको बलिङको भर र कप्तान पारस तथा रोहितकुमार पौडेलको व्याटिङमा भरपर्नुपर्ने बाध्यता छ । जुन पछिल्लो खेलमा देखिएको प्रदर्शनको यथार्थता हो ।