कास्कीमा एकदर्जन खेल प्रशिक्षकविहीन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ९ गते २०७४ मा प्रकाशित


पोखरा (खेलाडी न्युज)—चार प्रशिक्षक, चार सहायक प्रशिक्षक । एक दर्जन खेल भने प्रशिक्षक विहीन । तर पदक जित्नै पर्ने दबाव भने वर्षेनी उस्तै । आठौं राष्ट्रिय खेलकुद नजिकिदैं छ । तर पदकको आशा गरिएको खेलको प्रशिक्षक भने छैनन् । खेलकुदको राजधानी पोखराको बास्तविकता हो यो । प्रशिक्षक विहीन भएपनि खेलाडीको मेहनतले भने पदक जित्दै पोखराको गरिमालाई जोगाईराखेका छन् ।

कृष्ण तिमिल्सिना(जिमन्याष्टिक) ,ईन्द्रा मल्ला(एथलेटिक्स), बखतमान श्रेष्ठ(भारोत्तोलन), कौशिला खत्री(भलिबल) मात्रै प्रशिक्षक छन् । जीवन घिमिरे(शारीरिक सुगठन), सुरेन्द्र गुरुङ(सितेरियो कराँते),सुनबहादुर लामा(तेक्वान्दो), अरुण दत्त(उसु) सहायक प्रशिक्षकले प्रशिक्षण गराउँदै आएका छन् । ‘भएका प्रशिक्षकहरुले जिल्ला र क्षेत्रीय खेलकुद हेर्नुपर्ने बाध्यता छ ।’ जिल्ला खेलकुद विकास समिति कास्कीका प्रशिक्षक विभाग प्रमुख कृष्ण तिमिल्सिनाले भने—‘पुर्वाधार नभएपनि खेलाडीलाई प्रशिक्षण दिईराखिएको छ ।’

भारोत्तोलन, उसु, जिमन्याष्टिक र कबड्डीको आवश्यक पुर्वाधार समेत नभएको विभाग प्रमुख तिमिल्सिनाको भनाई थियो । २०४० साल ताका निर्माण भएका दुई इण्डोर हल छन् । एउटा व्याडमिन्टन कभर्ड हल हो । अर्को मार्शल आर्टको लागि । मार्शल आर्टको लागि भएपनि परिषद नियुक्त प्रशिक्षकले प्रशिक्षण गराउँदैनन् । स्वयं सेवक प्रशिक्षकले सातामा आलोपालो गरी प्रशिक्षण गराउँदै आएका छन् । तेक्वान्दो, उसुले प्रशिक्षण भने खुल्ला मैदानमा गराउँदै आएको छ ।
फुटबल, ह्याण्डबल, बास्केटबल, क्रिकेट, हकी, कवड्डी, पौडी, लन टेनिस, आर्चरी, बक्सिङ, व्याडमिन्टन, फुल कन्ट्याक्ट कराँते र टेवलटेनिस खेलका भने प्रशिक्षक विहीन छन् । प्रशिक्षक विहीन भएको पनि वर्षौ भईसकेको छ । सम्बन्धीत खेलका खेलाडीले व्यक्तिगत मेहनत गर्दै आएका छन् । केही खेलका स्वयंसेवक प्रशिक्षक छन् ।
‘हामीले राष्ट्रिय खेलकुद परिषद र खेलकुद मन्त्रालयमा समेत रिक्त रहेको खेलका प्रशिक्षक नियुक्तको लागि पहल गरिरहेका छौं—जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङले भने—‘परिषद र मन्त्रालयबाट केवल आश्वासन मात्रै आएको छ । प्रशिक्षक नियुक्त गरिएको छैन् ।’ पोखरा रंगशालाभित्र विभिन्न खेलका आवश्यक पुर्वाधार निर्माणको चरणमा छन् ।

खेलकुदमा दर्ता भएका संघहरुले पुर्वाधार निर्माणको लागि दबाव दिदैं जग्गा छुट्टाउन आग्रह गरिरहेका छन् । समितिमा ८९ संघ दर्ता छन् । ती मध्ये ३३ संघले गतिविधि गर्दै आएको तथ्यांक छ । ‘पदक जित्ने आशा गरिएको खेल र नियमित प्रशिक्षण हुने खेलको पुर्वाधार रंगशालाभित्र निर्माण हुनुपर्छ । सबै खेलको पुर्वाधार निर्माण गरिए ४१७ रोपनी क्षेत्रफल सबै कंक्रिटमय बन्छ ।’जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने—‘अरु खेलका पुर्वाधार रंगशाला भन्दा बाहिर रहनुपर्छ ।’ साग, एशियन गेम्स र ओलम्पिकमा नेपालले सहभागिता जनाउने खेलका पुर्वाधार बनाउने तर्फ ध्यान दिन जरुरी रहेको खेलकुदकर्मी नै बताउँछन् । photo by sanjay shakya