सर्वाधिक राशीको मदन भण्डारी गोल्डकप शुरु, आयोजकको विजयी शुरुवात

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ९ गते २०७४ मा प्रकाशित


बुटवल,(खेलाडी न्युज)—मोफसलकै सर्वाधिक पुरस्कार राशीको मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिता आजदेखि बुटवलमा शुरु भएको छ । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाडौ)ले सुदुर पश्चिमलाई ५—१ फराकिलो गोल अन्तरले पराजित गर्दै सुखद शुरुवात गरेको छ । जितसँग आयोजक स्पोर्टस एकेडेमी अन्तिम आठमा प्रवेश गरेको छ ।

चर्को घामसँगै शुरुभएको प्रतिस्पर्धामा दुवै टोलीले पहिलो हाफ निकै रस्साकस्सीमा विताए । १—१ गोलको अवस्थामा खेल्दै प्रतिस्पर्धात्मक एवं रोमाञ्चक बनेको खेल दोस्रो हाफ भने आयोजक पक्षमा गयो । विदेशी खेलाडीलाई समेत टोलीमा सामेल गरेको स्पोर्टस एकेडेमीले दोस्रो हाफमा निरन्तर दबाव दियो । प्रकाश बुढाथोकीले ६४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आयोजकलाई अग्रता दिलाए । उनले १८ औं मिनेटमा पहिलो गोल गरेका थिए ।

खेलाडी अबाले ७१ औं मिनेटमा, विशव अधिकारीले ७७ औं मिनेटमा र दिपेश आलेले ८९ औं मिनेटमा गोल गरे । ४४ औं मिनेटमा पूर्ण अन्जन बैंजूले सुदुर पश्चिमका लागि गरेको गोल सान्त्वन बन्न पुग्यो । प्रतियोगिताको दोस्रो खेल आइतबार झापा ११ र एपीएफ क्लबबीच हुनेछ । यसअघि प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । एक करोड बढी खर्चमा संचालन भएको प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । सेमिफाइनल पुग्ने टिमले १÷१ लाख पाउनेछन् भने उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिने मदन भण्डारी स्पोट्र्स एकेडेमीका प्रदेश नम्बर ५ अध्यक्ष नरबहादुर घर्तीले जानकारी दिए ।

प्रतियोगितामा नेपाल प्ुलिस, थ्री स्टार, नेपाल आर्मी, मलेसियाको हिमालयन फुटवल क्लव, एपिएफ क्लव, झापा ११, सुनौलो संगम, र मनाङ मस्र्याङदी सहभागि हुनेछन् । चैत १९ प्रतियोगिता समापन हुने छ ।