क्रिकेट संघले शुरु गर्यो एकेडेमी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ६ गते २०७७ मा प्रकाशित


क्रिकेट मैदानको पीच मर्मत गरिदैं ।

पोखरा-लामो समयपछि कास्की जिल्ला क्रिकेट संघले आफनै सेन्टर क्रिकेट एकेडेमी शुरु गरेको छ । सेन्टर क्रिकेट एकेडेमी स्थापना गर्न लामै समयको आन्तरिक गृहकार्यपछि शनिबारदेखि एकेडेमी शुरु गरिएको हो । उदघाटन नेपाल क्रिकेट संघ(क्यान)का केन्द्रीय सदस्य ऋषिराम गौतमले गरे ।

सरकारले खेलकुद गतिविधिमाथि पूर्ण रुपमा प्रतिबन्ध लगाएपछि शुरु गर्न एकेडेमी शुरु गर्न सकिएको थिएन् । तर सरकारले खेलकुद गतिविधि सञ्चालन गर्ने निर्णयसँगै संघले एकेडेमी शुरु गरेको हो । पोखरा रंगशालाभित्र बनाइएको नेटमा एकेडेमीले प्राक्टिस गर्ने छन् । एकेडेमी शुरु गर्न लामै समय गृहकार्यमा जुट्नु परेको थियो । संघभित्र नै तिक्तता रहदाँ एकेडेमी शुरु गर्न कठिनाई थियो ।

केन्द्रीय सदस्य गौतमले प्रशिक्षक रिजन प्रजु, विधान श्रेष्ठ र गोविन्द प्रधानलाई बल हस्तान्तरण गर्दै उदघाटन गरेका थिए । पोखरामा क्रिकेटको विकास र विस्तारसँगै युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एकेडेमी शुरु गरिएको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले सुनाए । उनले पोखरालाई क्रिकेट शहरको रुपमा विकास गर्ने ध्येय समेत रहेको उल्लेख गरे ।

एकेडेमी शुरुवातसँगै पोखरा रंगशालाभित्रको क्रिकेट मैदानको मर्मत सम्भार शुरु गरिएको छ । मैदानको घाँस काट्नेदेखि पीच मर्मतकार्य शुरु गरिएको छ ।