कराँतेको जगमा उसुमा सफलता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ७ गते २०७७ मा प्रकाशित


झरना गुरुङ

पोखरा-मनमा एउटै कुरा खड्किन्छ । त्यो हो स्वर्ण पदक । खेलाडीको अन्तिम लक्ष्य नै स्वर्ण पदक हो । अन्तराष्ट्रिय प्रतिस्पर्धाको एरिनामा स्वर्ण पदक जित्ने धोको मनभरी छ । त्यो धोको पुरा गर्न उनले खाईपाई आएको राष्ट्रिय खेलकुद परिषदको प्रशिक्षकको जिम्मेवारीलाई त्याग्नि ।
झरना गुरुङ(कराँते÷उसु) उनको परिचय नेपाली खेलकुदलाई दिईरहनु पर्दैन् । अन्तराष्ट्रिय प्रतिस्पर्धामा स्वर्ण पदक जितेर आफनो अभिष्ट ईच्छा पुरा गर्ने दृढता छ । त्यसको लागि उनी अहिले खेल क्षेत्रबाट केही टाढिएकी छन् ।

नेपाली खेलकुदभित्र देखिने विरक्त लाग्दो राजनीतिबाट खाईपाई आएको उसुको प्रशिक्षकबाट राजीनामा दिएर आराममा छन् । स्वदेशमा होईन विदेशमा । विदेशिएको पनि चार वर्ष भईसक्यो । स्वदेश आउँदा मनमा एउटै कुरा खेल्छ त्यो हो सागमा स्वर्ण जित्ने चाहना । पाकिस्तानमा हुने सागमा स्वर्ण जितेर खेल जीवनबाट विश्राम लिने सोचाई छ । उमेर ढल्किर्दै गएको छ । ढल्किएकै उमेरमा पनि उनको जोश, दृढता, आत्मविश्वास छ । ‘उमेर त केवल नम्बर मात्रै हो ।’ झरना गुरुङ भन्छिन–‘ईच्छाशक्ति नै सबैभन्दा ठूलो बल हो ।’
………………………………………………………………………………………………………..
जबसम्म जग बलियो बन्दैन । तबसम्म खेलाडीले लक्ष्य हासिल गर्न सक्दैन् । उनको जग कराँते हो । तर सफलता भने उसुले दिलायो ।

पदक जितेपछि झरना ।

सन्दर्भ करीब २० वर्ष अघिको हो । जतिबेला पोखरामा कराँते चर्चाको शिखरमा थियो । घर भन्दा केही पर डोजो थियो । सेतो कपडा(गी) लगाएको खेलाडी देखेर मनभित्र उत्कट चाहना पलायो । मनभित्रै खेल्न थाल्थ्यो । घर छेवैको पावरहाउस(फेवा जलविद्युत आयोजना) नियमित प्रशिक्षण गरेको देख्थे । मनभित्रका चाहना पुरा गर्न झरना विरौटाको कराँतेको डोजोसम्म पुगिन् । बुवालाई लिएर कराँते सिक्ने चाहना पुरा डोजोमै पुगेर गरिन् । २०५८ सालमा कराँते(क्योकुशिन फुल कन्ट्याकन्ट कराँते) खेल्न शुरु गरे. । त्यसपछि पहिलो प्रतियोगिता २०६० मा ढुंगेसाँघुमा भयो । जहाँ उनले वेष्ट फाईटरको उपाधि जितिन् । ‘वेष्ट फाईटरको पुरस्कार थापेर घर फर्किदा खुट्टामा जुक्ता थिएन् ।’ उनले सम्झिन् ।

भर्खरै १५/१६ वर्षको उमेर थियो । खेल्ने भन्दा पनि घरभित्रको काम गर्नुपर्ने । पढ्नुपर्छ भन्ने मानसिकता थियो । समाजमा सानो स्वरमा बोल्नुपर्छ भन्ने अझै छ । उत्ताउलो भयो भनेर हेप्ने समाज छ । तर दृढ विश्वास मनमा थियो । समाजलाई एकातिर राखेर आफनो दृढ ईच्छा पुरा गर्न खेल्न थालें । कराँतेमा पाएको सफलताले समाज परिवर्तन हुन पुग्यो । ‘समाज पहिले र अहिले फरक छ ।’ उनको बुझाई थियो । शारीरिक समस्याको बेलामा गाह्रो हुन्थ्यो ।

त्यतिबेला कराँतेको माहौल निकै राम्रो थियो । सबै माया र सहयोगी भावना थियो । पारिवारिक बातावरण थियो । खेल्न थालेपछि गुरुहरुको विश्वास बढ्यो । उनी सम्झिन्छन–‘शुरुवाती दिनमा दिपक गोदारको सहयोग नहुँदो हो त खेल क्षेत्रमा आउने थिईन् । शुरु देखि नै दिपक गुरुले पारिवारिक बातावरण दिनुभयो जसले खेल्न सहज हुन पुग्यो ।’ पारिवारिक बातावरण भएपछि फुर्सद हुने वित्तिकै खेल्न जाउँ जाँउ हुन थाल्यो । घर परिवारले प्रोत्साहन गरे । प्रशिक्षण गर्ने डोजोमा पारिवारिक बातावरण मिल्यो जसले झरनालाई कराँते खेल्ने अझै प्रेरित गर्यो ।

अन्तराष्ट्रिय एरिनामा प्रतिस्पर्धा गर्दै झरना ।

संघर्ष पाईलै पिच्छे हुन्छ । खेलाडीले पनि संघर्ष गरेर उपलब्धी हासिल गर्न सक्छ । संघर्ष विना उपलब्धी शून्य हुन्छ । कराँतेलाई माया मार्दै उसु तर्फ उनको पाईला सर्यो । उसुसँगै उनको यात्रा पोखराबाट काठमाडौं पुग्यो । त्यसपछि संघर्षका दिनहरु शुरु भए । एकल संघर्षबाटै उसुमा उनले सफलता चम्दै गईन् । सफलताले रिस डाहा गर्नेको कमि छैन् । त्यसको शिकार पनि नभएको होईन् । मानसिक तनाब उस्तै । एक खेलबाट अर्को खेलमा जादाँ खेल्न नदिने प्रवृत्ति थियो । त्यो उल्झनलाई पार गरेर अगाडि बढेको थिँए । घर छाडेर काठमाडौं शहरमा एक्लै संघर्ष गर्दै समस्यासँग जुधें ।

मनभरी पीडा छ । जतिबेला एशियन गेम्समा रिप्समा समस्या शुरु भयो । चिकित्सकले खेल्न स्वीकृति दिएनन् । रिङमा नपुगि फर्किन्न भन्ने दृढ विश्वास थियो । भारतको सिलोङमाा भएको साउथ एशियन गेम्समा इन्जेक्सन लगाएर खेले । त्यो त केवल मलाई र चिकित्सकलाई मात्रै थाहा थियो ।
उसुबाटै उनले अन्तराष्ट्रिय एरिनामा आफुलाई उभ्याईन् । सफलता चुमिन् । मलेसियामा आयोजित विश्व च्याम्पियनसिपमा क्र्वाटरफाईनलसम्मको यात्रा गरिन् । २०१० मा चीनको ग्वाङजाओमा आयोजित एशियन गेम्समा पनि क्र्वाटरफाईनलसम्मको यात्राबाटै स्वदेश फर्किएन् । कोरियामा आयोजित एशियाली खेलकुदमा समेत उनको यात्रा क्र्वाटरफाईनलबाट अघि बढ्न सकेन् ।

भियतनाममा आयोजित आठौं एशियाली उसु च्याम्पियनसिपमा भने उनले कास्य पदक जितिन् । सिलोङमा आयोजित १२ औं सागमा उनले उसुमै रजत पदक जित्न सफल भईन् । उसुकै पहिलो एशियाली खेलकुद बैंककमा आयोजित प्रतिस्पर्धामा पनि कास्य पदक जितेर फर्र्किन् । उसुमै राष्ट्रिय खेलकुद प्रतियोगितामा २०६५ र २०६८ क्रमश काठमाडौं र धनगढीमा स्वर्ण पदक जितिन् । सिलोङमा सागमा उनी इन्जुरी भईन् । त्यही इन्जुरीकै कारण स्वर्ण पदकको प्रतिस्पर्धाबाट पछि हट्न बाध्य भईन् । त्यो नै उनको लागि सबैभन्दा नमिठो पीडा थियो ।

पदक जितेपछि सामुहिक तस्बिरमा झरना ।

काठमाडौं पुगेको दुईवर्ष पछि मात्रै उनी झरनासँग जोडिन पुगिन् । उसुमै उनले पीडा भोगिन् । संघर्ष गरिन् । अनि सफलता पनि चुमिन् । सन २०१६ पछि उनी खेलमा फर्किएकी छैनन् । खेल क्षेत्रभित्र देखिएको राजनीतिक खिचातानीको शिकार बनिन् । नेपालकी एक्ली उसुकी प्रशिक्षक बनेर इतिहास लेखिन् । तर इतिहासलाई इतिहासमै राखिन् । राजीनामा दिईन अनि विदेश उडिन् । ‘६ वर्ष प्रशिक्षक खाएँ । मूल्यांकन भएन् । मूल्यांकन नभएपछि मेरो इथिक्सले दिएन्, राजीनामा दिए ।’ उनले नेपाली खेलकुद भित्रको राजनीतिको शिकार हुदाँको पीडा सुनाईन् । विदेशमै उनले बच्चाहरुलाई प्रशिक्षण गराउँदै आएकी छन् । ‘स्पेनबाट फर्किएर सागमा स्वर्ण जित्ने अठोट मनभरी छ ।’ उनी आफनो दृढ ईच्छा सुनाईन् ।

-धन बस्नेत,पोखरा