सुटिङ, रग्बी, हक्की र पौडीलाई खेलस्थलको पीरलो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ३२ गते २०७९ मा प्रकाशित


file pic

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चा चलिरहँदा केही खेललाई भने कहाँ खेलाउने भन्ने पीरलो छ । पोखरा रंगशालाभित्र धेरै खेलका पूर्वाधार छन् । तर पूर्वाधार भएर पनि ती खेल खेलाउन कठिनाई छ । पौडी, हक्की, सुटिङ र रग्बी खेलको ठ्याक्कै पूर्वाधार छैनन् । पोखरा रंगशालाभित्र सुटिङ रेन्ज र पौडी पोखरी बनाउने राष्ट्रिय खेलकुद परिषदको योजना कोरोना अघि देखिको हो । तर कोरोनाकै कारण देखाउँदै आलटाल भएपछि पौडी र सुटिङ प्रतियोगितालाई भेन्युुको पीरलो छ ।

रग्बी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएको छ । नेपालले केही दिन अघि मात्रै बंगलादेशमा गएर रग्बी १५को औपचारिक खेल खेलेर फर्किएको छ । रग्बी खेल प्रतिको चासो उत्तिकै छ । नवौंमा समावेश गरिएको रग्बीलाई कहाँ खेलाउने भन्ने पीरलो उस्तै छ । रग्बीको लागि फुटबल मैदानकै साईजको मैदान आवश्यक पर्छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रग्बी ७(सेभेन्स) खेलाईने छ । ‘पोखरा रंगशालाको फुटबल मैदानमा उदघाटन र समापन गर्ने योजना छ ।’कास्की जिल्ला रग्बी संघका अध्यक्ष सुवास खड्काले भने–‘खेलहरु भने कहाँ खेलाउने भन्ने समस्या छ ।’ उनका अनुसार रग्बी ७ पोखरा–१७ दोविल्लास्थित सुर्यबहादुर केसी स्मृति सहारा एकेडेमीको मैदानलाई सम्भावित खेलस्थलको रुपमा हेरिएको छ । रग्बीको लागि पोखरा–३३ भरतपोखरीस्थित शिशुुकल्याण स्कुलको खेल मैदानलाई दीर्घकालिन मैदान बनाउने विषयमा समेत छलफल अगाडि बढाईएको छ ।

रग्बीको लागि प्रशिक्षणस्थल नै छैन् । प्रशिक्षणको लागि फुटबल मैदान नै आवश्यकता पर्ने हुदाँ फुटबल मैदान खाली भएको अवस्थामा मात्रै प्रशिक्षण गराउनुपर्ने बाध्यता रहेको उनको भनाई थियो । प्रशिक्षणकै अभाव छ । आफनै मैदान नहुदाँ खेलाडी व्यवस्थापनमा कठिनाई हुने गरेको अनुुभव उनको थियो । रग्बीको लाग ७० मिटर चौडाई र ११० मिटर लम्बाईको मैदान आवश्यक पर्छ । रग्बीकै जस्तो समस्या हक्कीको पनि छ । हक्कीको आफनै खेलमैदान छैन् । मैदान नहुदाँ खेलाडीलाई प्रशिक्षणमा सकस छ । ‘हक्कीको ट्रेनिङ ग्राउण्ड नै छैन् । प्रतियोगिताको लागि कहाँ मैदान खोज्ने ।’ कास्की जिल्ला हक्की संघका अध्यक्ष मिलन केसी सुनाउँछन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि हक्की पोखरा–१९ लामाचौरस्थित गोस्ते खेलमैदान र पोखरा–२५ हेमजास्थित गैरी खेल मैदानमा खेलाउन सकिने विषयमा संघले तदारुकता देखाएको छ । ‘ लामाचौर र हेमजाको मैदानमा हक्कीको लागि सम्बन्धीत क्लब एवं संघसंस्थालाई पत्राचार गरेर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाउने योजना छ ।’ उनको भनाई थियो । गण्डकी प्रदेशमा पूर्वाधार नै नभएको सुटिङको हो । सुटिङ रेन्ज बनाउन पोखरा रंगशालाभित्र जग्गा समेत छुुट्टाएर राखेपनि बजेट अभावमै बनाउन सकिएको छैन् । राखेपले बजेट छुट्टाएपनि टेण्डर प्रक्रिया नहुदाँ काम अघि बढ्न सकेको होईन् ।

सुुटिङ ओलम्पियन भगवती केसीले आफनै गृहजिल्ला बाग्लुङमा आफनै घरमा प्रशिक्षण दिदैं आएकी छन् । प्रदेशमै अन्य ठाँउमा पूर्वाधारसँगै सुटिङलाई आवश्यक पर्ने बन्दुुक र गोली छैन् । राष्ट्रिय खेलकुद प्रतियोगितामा १० मिटर एयर राईफल्समा प्रतिस्पर्धा हुदैं आएको छ । तर पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाउने भनिरहँदा सुटिङ रेन्ज नै बनेको छैन् । कहाँ खेलाउने भन्ने चिन्ता छ । ‘तत्कालै सुटिङ रेन्ज बन्ने सम्भावना छैन् । पार्टी प्यालेसका हललाई भाडा तिरेर उपयोग गर्न सकिन्छ ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले भने–‘हलमा सामान फिट गरेर रेन्ज बनाउन सकिन्छ ।’ उनका अनुसार खेल सकिएपछि फिट गरिएको सामान निकालेर ल्याउन दोहोरो खर्चिलो हुन्छ ।

रंगशालाभित्र पौडी पोखरी निर्माण नहुुदाँ निजी क्षेत्रको पौडी पोखरीमै आयोजना गर्नुपर्ने बाध्यता छ । ‘पोखरा रंगशालाभित्र पौडी पोखरी बनाउन चासो देखिएन् । निजी पौडी पोखरीमै प्रतियोगिता आयोजना गर्नुपर्ने खाँचो छ ।’ कास्की जिल्ला पौडी संघका अध्यक्ष वैभब पौडेलले भने–‘पौडीकै लागि स्कुलकै पौडीपोखरी तथा व्यवसायिक रुपमा सञ्चालित पौडी पोखरी हेरिरहेका छौं । यद्यपी ठोस निर्णय कहाँ गर्ने भनेर गरिसकिएको÷भईसकेको छैन् ।’ उनका अनुसार फिष्टेल एकेडेमी, गण्डकी आवासिय विद्यालय, पोखरा–२५ हेमजास्थित पेन्गुुईन पौडी पोखरी लगायतका ठाँउहरु हेरिएको छ ।