डोरीले अड्याइएको फुटबल मैदानको गेट ।
पोखरा- पूर्वाधार नहुदाँ पूर्वाधार भएन भनेर विरोध भयो । पूर्वाधार बन्यो, खेल्न पाईएन भन्ने गुनासो रह्यो । तर अहिले बनेका पूर्वाधार संरक्षण र मर्मत सम्भार गर्नुपर्ने अवस्थामा पुगेका छन् । मर्मत गर्ने तर्फ सरकारी निकायको ध्यान खासै देखिदैन् । आम्दानीको स्रोत भएपनि मर्मत सम्भारमा निकायले आखाँ चिम्लिएको छ ।
खेलकुदका तीन सरकारी निकाय छन् । जिल्ला, प्रदेश र संघीय । जिल्ला खेलकुद विकास समिति कास्कीले उपभोग संरक्षण र सञ्चालनको जिम्मेवारी आफनो ठान्छ । प्रदेशले हाम्रै प्रदेशभित्रको जिल्लामा भएको सम्पति हाम्रो मातहतमा रहनुपर्छ भन्ने ठोकुवा गर्छ । संघीय एवं राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशालाको सबै सम्पति परिषदको हो भन्दै जिम्मेवारी दिन अस्वीकार गर्छ । आआफैं डम्फु बजाउँदा बनेको पूर्वाधारको संरक्षण र मर्मत सम्भार गर्ने तर्फ तीनै निकायको ध्यान छैन् ।
बनेका पूर्वाधारमा खेलकुद गतिविधि सञ्चालन गर्दा शुल्क तय गरिएको छ । तोकिएको शुल्क बुझाएपछि मात्रै जिल्ला खेलकुद विकास समिति कास्कीले स्वीकृति दिने गरेको छ । तर लिएको शुल्कबाट सम्बन्धित पूर्वाधारको मर्मत सम्भार गर्ने तर्फ ध्यान दिन सकेको छैन् । बहुउद्देश्यीय कभर्ड हलभित्रको पार्केटिङ फुटेका छन् । खेल्ने क्रममा खेलाडीका खुट्टामा समस्या आउन सक्छ । फुटबल मैदानको दक्षिण तर्फको गेट भाँचिएको छ । महिना दिन वित्नै लाग्यो । भाँचिएको गेटलाई डोरीले बाँधेर अड्काइएको छ । यो त केवल मर्मतको उदाहरण मात्रै हुन् । अन्य धेरै खेलकुदका समस्याहरु छन् । जसलाई समाधान गर्ने तर्फ सरकारी निकायको ध्यान छैन् ।
कभर्डहलको एकदिनको १० हजार शुल्क छ । फुटबल मैदानको उपयोग गरेवापत उत्तिकै शुल्क बुझाउनुपर्छ । ट्रयाकको ५ हजार रुपैयाँ लिने गरिएको छ । बुल्समेन प्लेग्राउण्ड र रंगशाला क्यान्टिनले मासिक भाडा बुझाउँछन् । दरिलो आम्दानीको स्रोत हुदाँ समेत पोखरा रंगशालाभित्रको भत्केका बिग्रिएका पूर्वाधार बनाउन गरेको आग्रह सुन्दैनन् । कर्मचारी र विजुलीको पैसा बुझाउँदैमा आम्दानी ठिक्क हुन्छ भन्दै सुनाउने गरेका छन् ।
बनेका पूर्वाधारलाई सम्बन्धित संघलाई उपभोगसहित संरक्षण र सम्बद्र्धन गर्न जिम्मेवारी दिन समेत जिल्ला खेलकुद विकास समिति आनाकानी गर्दै आएको छ । संघलाई जिम्मेवारी दिने वित्तिकै आम्दानीको स्रोत गुम्छ । आम्दानीको स्रोत आफैले उठाउनुपर्छ भन्ने भान परेकोले पनि समितिले संघलाई विश्वास गरेको देखिदैन् । फुटबल मैदानमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता मात्रै सञ्चालन गर्ने एकथरीको भनाई छ । क्लब, विद्यालय तथा अन्य संघसंस्थाले शुल्क बुझाएर बुकिङ गरे खेल्न दिने निर्णय गर्ने गरेको छ ।
पोखरा रंगशाला देशकै ठूलो रंगशाला हो । सबैखाले पूर्वाधार एउटै परिधिभित्र छ । ४१५ रोपनीमा फैलिएको रंगशालामा फुटबल मैदान, क्रिकेट मैदान, आर्चरी मैदान, टेनिस कोर्ट, स्क्वास भवन, व्याडमिन्टन हल, सेमी कभर्ड हल, ह्याण्डबल कोर्ट, भलिबल मैदान, बास्केटलबल कोर्ट, बहुउद्देश्यीय कभर्ड हल, स्केट पार्क छन् । कभर्ड हलमा तेक्वान्दो, कराँते, जुडो, टेबलटेनिस, मुआथाई लगायतका खेलहरु समेत खेलाइन्छ । तेक्वान्दोको छुट्टै हल निर्माणको क्रममा छ । पौडी पोखरी बनाउने सपना पोखरेलीले साँचेका छन् ।
१ अर्ब २८ करोडको फुटबल मैदान प्यारापिटसहितको एथलेटिक्स ट्रयाक छ । थप्नुपर्ने सिट अझै थपिएको छैन् । ३५ सय सिट थप्ने योजनासहित सामान झारिएको छ । त्यो सामान फुटबल मैदानको एक छेउमा अलपत्र छ । मैदान वरिपरी १७ वटा महिला तथा पुरुषको लागि शौचालय बनेका छन् । तर प्रतियोगिताको बेलामा भने शौच गर्ने पाईदैन् । पर्याप्त पानीको सुविधा छ । तर शौचालय सधैको फोहोर हुन्छ । सरसफाई गर्ने कर्मचारीको अभाव छ । त्यस तर्फ पनि ध्यान कसैको गएको देखिदैन् ।
भएको आम्दानीलाई पोखरा रंगशालाको मर्मत सम्भार गर्ने तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ । मर्मत सम्भार खर्च नपुगे राष्ट्रिय खेलकुद परिषदसँग मात्रै नभई सम्बन्धित खेल संघलाई समेत गुहार्नसक्नुपर्छ । संघहरुले पनि आफनो पूर्वाधारलाई संरक्षण र सम्बद्र्धन गर्ने तर्फ चासो देखाउनुपर्छ । मर्मत सम्भार नभए खेलकुद प्रतियोगिता सञ्चालन गर्न कठिनाई हुन्छ । त्यसको प्रत्यक्ष असर खेलाडीलाई पर्छ । त्यसैले बनेको पूर्वाधार एवं संरचनालाई सरकारी निकाय र सम्बन्धित खेल संघले हातेमालो गर्न जरुरी छ ।