जिमको जग बसालेका शंकर

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १६ गते २०८१ मा प्रकाशित


धन बस्नेत/पोखरा

खेलकुदका रस बस्दै थियो । खेलकुदको रस्वादनसँँगै नपाउँदै पोखरामा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भयो । आफनै शहरमा भएको राष्ट्रिय खेलकुदमा वकिलमान(शंकरमान) उदास पनि सहभागि भए । उनी एथलेटिक्स खेलाडीको रुपमा पोखरा रंगशालामा उत्रिए । उनको ध्यान भने शारीरिक सुगठनमा थियो । बक्सिङ खेलेको अनुभव पनि उनीसँग छ ।

म्याराथन दौडिए । एथलेटिक्स खेलाडी भएपछि उनले म्याराथनसँगै वाकिङ(हिडाइ)मा समेत सहभागिता जनाए । सहभागिताको प्रमाणपत्र मात्रै हात लायो । पदक उनको नाममा भने लेखिएन् । उनले दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताबाट एथ्लेटिक्सलाई विट मारे र शारीरिक सुगठन तर्फ मोडिए । मोडिनुपर्ने कारण थियो राष्ट्रिय खेलकुद प्रतियोगितामा शारीरिक सुगठन खेलमा खेलाडीको शरीर देखेर उनी लोभिए । फुलेको शरीर देख्दा उनलाई पनि गेम भनेको त यो पो हो जस्तो लाग्यो । प्रतियोगितामा बलिष्ठ जीउ देखाउँदा उनी भित्र शारीरिक सुगठन नै आफनो लागि उपयुक्त हुने अनुमान गरे ।

दोस्रो राष्ट्रिय प्रतियोगिता अघि पोखरामा खासै खेलकुदको चहलपहल भने थिएन् । स्पोर्टसको शुरुवात नै त्यतिबेला नेवारी समुदायको बसोबास रहेको पालिखेचोक वरिपरि केन्द्रीत थियो । २०३२ सालमा महेन्द्रपुल स्पोर्टस क्लब स्थापित थियो । क्लबा प्राय सबै खेलका खेलाडीहरुको जमघट हुने गथ्र्यो । खासगरी शारीरिक सुगठन, भारोत्तोलन र बक्सिङ सिक्ने थलो थियो । त्यही क्लबबाट उत्पादन भएका थिए विद्या मर्सानी ,बुद्ध गुभाजु, सुरेन्द्रमान विजुक्छे, बुद्ध बज्रचार्य, विवेक शाक्य, सुवर्ण कायस्थ, सानुकाजी तझ्या खेलाडी थिए । स्पोर्टस क्लबको श्रेय भने कल्याण पालिखेलाई जान्छ । पालिखे स्वयं एथलेटिक्सका गण्डकी अञ्चलका धावक समेत हुन् ।

स्पोर्टस क्लबबाट उत्पादित खेलाडीले दोस्रो राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएपछि शंकरमानको विशुद्ध शारीरिक सुगठन तर्फ मोडिए । अनि शुरुवात गरे पोखराको तेर्सापट्टीमा पोखरा व्यायाम शाला । आफनै बलबुता र लगानीमा पोखरा व्यायामशाला स्थापनासँगै पोखरामा जिमको जग बस्यो । ‘मेहन्द्रपुल स्पोर्टस क्लबमा सबैखाले खेलको सिकाई हुन्थ्यो । तर विशुद्ध जिम मात्रै पोखरा व्यायामशालाबाट शुरु भयो ।’ ६२ वर्षिय उदास सम्झन्छन—‘पोखरा व्यायामशालाबाटै जिमको जग बस्यो ।’ उनले पोखरा व्यायामशालामा झण्डै ७० हजार रुपैयाँ लगानी गरे । २०४३ सालमा स्थापित जिमले धेरै राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलाडीलाई एरिनामा उतारिसकेको छ ।

झण्डै एकदशक उनले पोखरा व्यायामशालामै शारीरिक सुगठन सिकाउने काम गरे । ‘सिकाउने कोही थिएन् । हामी आफैं किताब हेरेर गर्थ्यौै । अनि अरुलाई सिकाउँथ्यौं ।’ उनी विगतलाई सम्झन्छन् । उनी आफै सिक्ने सिकाउने गर्दै युवाहरुको शारीरिक सुगठन प्रति मोह बढ्दै गयो । सिक्ने सिकाउने क्रममा उनी काठमाडौंमा आयोजित मिष्टर नेपालमा सहभागिता जनाए । २०५५/५६ साल तिर उनी सहभागितामा मात्रै सीमित भए । पदक उनको भाग्यमा लेखिएन् ।

पोखरा व्यायामशाला सार्वजनिक जग्गामा बनाईएको भवनमा थियो । यद्यपी व्यायामशालाको लागि टोलबासीले विरोध भने कहिल्यै गरेनन् । सबैको साथ र सहयोग भएकै कारण व्यायामशाला अझै जिवन्त छ । विहान र बेलुका व्यायामशालामा विताउँदै घरपरिवारले पनि उनलाई भन्ने गरेको अझै सम्झन्छन—‘यसले खेलेर मात्रै खाने भयो केही नगर्ने भो ।’ आमा बुवाको चिन्ता पनि आफनो ठाँउमा थियो । उदासको एक मात्रै लक्ष्य र उद्देश्य नै खेलाडी उत्पादन थियो । खेलाडी उत्पादन गर्नुपर्छ भन्ने भाव र आमाबुवाले खेलेर मात्रै खाने भो भन्ने बचन मनमा लिएर उनले २०५७ सालमा रत्न श्री जिमको स्थापना गरे । जुन जिम सेन्टरलाई व्यावसायिक रुपमा अगाडि बढाए ।

उनको खेलकुदको किस्सा पनि निकै रमाईलो छ । १४ वर्षकै उमेरमा उनले हाफ म्याराथन दौडिएको सुनाउँछन् । २२ वर्षको उमेरमा आईपुग्दा एथ्लेटिक्स विधाको वाकिङमा सहभागिता जनाए । २५ वर्षको उमेरमा आईपुग्दा उनी शारीरिक सुुगठन तर्फ सोझिए । शारीरिक सुगठन तर्फ मोडिएपछि उनको पूर्णरुपमा ध्यान जिममै केन्द्रीत छ । आफनो आफुले सिक्ने क्रममा थोरै सामानबाट सिकेपनि अहिलेको युवापुस्तलाई जिमका हरेक सामान उपयोग गर्न पाउँछन् ।

शारीरिक सुगठन आफैंमा बढी पोषणयुक्त खानेकुरा खानुपर्छ । अहिलेको जस्तो सप्लिमेन्ट्स पहिला थिएन् । अण्डासँगै सातुको प्रयोग हुन्थ्यो । ‘अहिलेको जस्तो कहाँ डाईट खाने पाउनु । पहिला त आफैंले घरमै मकै, गहँु, भट्ट, चना र बदाम मिलाइएर बनाएको पिठो बनाएर खान्थ्यौं ।’ उदास भन्छन् । पोखरामा २०४३÷४४ सालमा मात्रै आएर शारीरिक सुगठन यस्तो हुन्छ भनेर हेर्ने अवसर पाएका थिए अर्थात एक्सपोज भएको थियो ।

जेसिजले प्रतिफ परिचय कार्यक्रम मार्फत शारीरिक सुगठनका खेलाडीलाई स्टेजमा उतारिएको थियो । पहिलो पटक स्टेजमै प्रदर्शन गर्दा उपस्थित महिलाहरु लाजले स्टेज नै छोडेर गएको किस्सा समेत उदाससँग । बुद्ध गुभाजू मार्फत जेसिजले पोखरा उद्योग वाणिज्य संघमा आयोजन गरिएको थियो ।

शारीरिक सुगठनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक विजेता बनिसकेका छन् । जीवन घिमिरे राष्ट्रिय च्याम्पियन बन्दा पछिल्लो समयका कमल भण्डारी अन्तराष्ट्रिय पदक विजेता समेत हुन् । उनीहरु बाहेक अन्य खेलाडीहरु पनि पोखराबाट राष्ट्रियस्तरमा उदाईसकेका छन् ।

समयसँगै शारीरिक सुगठन खेलको बारेमा युवापुस्ता प्रेरित हुदैं गए । उनले व्यवासायिक रुपमा रत्न श्री जिम शुरुगरेपछि शारीरिक सुुगठनले अझै व्यापकता पायो । ‘मैले रत्न श्री जिम मात्रै व्यवसायिक रुपमा जिम सेन्टर अगाडि बढाएँ । पोखरा व्यायामशालामा रुपमा शुल्क नलिई सिकाए । यता रत्न श्री जिममा भने शुल्क लिन शुरु गरे ।’ उनी भन्छन् । उनको मनमा एउटै कुरा खेल्थ्यो खेलाडी उत्पादन । अनि काठमाडौसँग कसरी प्रतिस्पर्धा गर्ने । काठमाडौंमा हुने प्रतिस्पर्धामा आफना खेलाडीलाई एरिनामा उतार्द जस्तो खुशी केही हुने थिएन् । पदक नै जित्दा त संसार जिते जस्तो अनुभव हुन्थ्यो ।

जिमबाट आम्दानी हुन थालेपछि पारिवारको दबाव पनि खासै रहेन् । व्यवसायिकसँगै उनले खेलाडी उत्पादनलाई मुख्य प्राथमिकतामा राखेका छन् । त्यसैले त हरेक राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिस्पर्धामा रत्न श्री जिमका खेलाडीहरु उपस्थिति हुने गरेको छन् । अहिले रत्न श्रीका ४ वटा शाखा छन् । चारवटा शाखामा करोडौंको लगानी भएको छ । सयौं खेलाडी प्रशिक्षण गर्दै आएका छन् । अब एउटै धोको उनको छ—‘पोखरा १७ रातो पैरोमा आफनै ९ रोपनी क्षेत्रफलमा स्वीमिङपुल सहित अत्याधुनिक जिमखाना खोल्ने ।’