पोखरेली एथलेटिक्सका नक्षत्र

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २७ गते २०८१ मा प्रकाशित


धन बस्नेत-पोखरा

सफलता त्यसै प्राप्त हुदैन् । त्यसको लागि त्याग र तपस्या चाहिन्छ । कडा मेहनत गर्नुपर्छ । संघर्षका पाईला अगाडि बढाउनुपर्छ । अनि उचाईको सिंढी चढ्न सकिन्छ । कडा मेहनत र संघर्षले सफलताको शिखरमा पुर्याउँछ तर त्यसको लागि धैर्यता पनि चाहिन्छ ।

खेलकुद आफैंमा पनि संघर्ष हो । संघर्ष मात्रै होईन्, धैर्यता र लगनशिलता चाहिन्छ । लगातारको संघर्ष र लगनशिलताले मात्रै सफलताको पाईला चुमिन्छ । शून्यबाट उचाईमा पुग्नु आफैंमा चुनौतिपूर्ण हुन्छ । चुनौतिलाई पार गर्दै उचाईमा पुग्नु सफलताको कडी हो । यस्तै संघर्षबाट सफलता चुम्ने थोरै मात्रै एथलिट छन् । जसमा उनको नाम पनि अग्र पंक्तिमा आउँछ ।

सानै उमेरदेखि एथलेटिक्स विधामा होमिएका सिद्धान्त अधिकारी यतिबेला एथलेटिक्सलाई कसरी माथि उठाउन सकिन्छ भनेर दिनोरात पोखरा रंगशालाको सिन्थेटिक ट्रयाकमा खटिन्छन् । ध्यान नै केवल अन्तराष्ट्रियस्तरको एथलिट उत्पादन गर्ने । त्यही ध्यानले उनको दैनिकी यतिबेला पोखरा रंगशाला वरिपरी नै वित्ने गरेको छ । उनी खेलाडी हुदाँको संघर्ष र प्रशिक्षण गराउदाँ गरेको संघर्षमै रमाउन उद्दत छन् ।

इतिहासको पाना पल्टाउँदा उनले २०६० सालमा पोखरा रंगशालाको धुले एथलेटिक्स ट्रयाकबाट शुरुवात भयो । पहिलो प्रतियोगिता थियो २०६२ सालको बीरेन्द्रशिल्ड प्रतियोगिता । बेनीको म्याग्दीमा आयोजित बीरेन्द्रसिल्ड प्रतियोगिताबाट उनको एथलेटिक्स खेलाडीको रुपमा जग बस्यो । विद्यालयस्तरीय प्रतियोगिताबाट जग बसालेका उनी २०६५ सालमा राष्ट्रियस्तरको प्रतिस्पर्धामा उत्रिए । नेपाल एथलेटिक्स संघले आयोजना गरेको प्रतिस्पर्धामा ४ सय मिटर दौडमा स्वर्ण पदक जित्दै नयाँ इतिहास कोरे । त्यसपछि उनी प्रथम युथ एशियन गेम्समा सहभागि बन्ने अवसर पाए ।

उम्दा करियरमा देखिएका उनले २०६५ सालमा काठमाडौें आयोजित पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले नेपाल पुलिस क्लबमा आवद्ध हुदैं खेले । दुई इभेण्टमा उनले रजत पदक जित्दै आफुलाई एथलेटिक्स खेलाडीको रुपमा दरिलो बनाए । उनको सबैभन्दा उचाईमा पुगेको धनगढीमा २०६८ सालमा आयोजित छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हो । उनले त्यस प्रतियोगितामा १५ सय मिटर दौडमा स्वर्ण, ८ सय मिटरमा स्वर्ण, चारसय चार गुणा रिलेमा स्वर्ण र ४ सय मिटरमा रजत पदक र रिलेमा कास्य पदकले उनको शीरलाई ठाडो मात्रै होईन गर्विलो बनाईदियो ।

छैटौं पछि उनको राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्ने सपनामा ब्रेक लाग्यो । करियरलाई उचाईमा पुर्याईरहेको अवस्थामा घरेलु ट्रयाकलाई चटक्कै विट मारे । उनको यात्रा तय भयो भारत । भारतमा उनी आर्मी स्पोर्टस इन्स्टिच्युडमा आवद्ध भए । उनको खेलकुद करियर नयाँ मोडमा पुग्यो । उनले त्यहाँबाट कोलकत्तामा राष्ट्रिय च्यामिपयनसिपमा सहभागित जनाउँदै एथलेटिक यात्रा तय गरे ।

उनले सन २०१६ मा दिल्लीमा आयोजित फेडेरेसन कपमा किर्तिमान बनाए । १५ सय मिटर दौडमा उनले ३ मिनेट ४६.३८ सेकेण्डमा दौडिदैं कीर्तिमान कायम राखे । जुन नेपाली धावकको नाममा रहेको कीर्तिमानी हो । सोही वर्ष उनले इन्टरनेशनल एथलेटिक्स च्याम्पियनसिपमा १५ सय मिटर दौडमा स्वर्ण पदक जित्दै नयाँ छाप छोडे । सन २०१९ मा आईपुग्दा उनले नेशनल म्याराथन(दिल्ली)मा छैटौं स्थानमा रहँदै प्रतियोगिता टुग्याउँदा उनले भारतीय भूमीमा आफनो खेलाडी जीवनलाई पनि त्यही छोडेर नेपाल फर्किए । ८ वर्ष आर्मी स्पोर्टसमा रहेर खेलकुदमा रमेका उनी नेपाल फर्किए लगत्तै प्रशिक्षण तर्फ अग्रसर रहे ।

लक्ष्य उनको ठूलो थियो । जुन लक्ष्य प्राप्तको लागि गरिएको संघर्षले उनलाई अहिले अन्य एथलिटको करियर बनाउने ठाँउमा ल्याईपुर्याएको छ । सन २००४ मा एथेन्स ओलम्पिकमा एथलेटिक्सको प्रत्यक्ष प्रशारण हेरेर एथलेटिक्स खेलमा होमिएका अधिकारी घरेलु प्रशिक्षणमा व्यस्त छन् ।
जिल्ला, अञ्चल हुदैं क्षेत्रीय खेलकुद देखेका र भोगेका अधिकारीले पछिल्लो समय गण्डकी प्रदेशको एथलेटिकलाई सगरमाथाको शीरमा पुर्याउने अभियानमा छन् । आम्दानीको स्रोत नहुदाँ खेलाडी पलायन हुदै गएको अवस्था छ । त्यसैले त उनले पनि नेपाल प्रहरीमा आफनो भविष्य कोर्ने सपना साँच्दै सम्झौता गरे । ४ वर्षको सम्झौतामा उनले प्रहरीमा हुदाँ पनि उल्लेख्य प्रगति भने देख्न र हेर्न सकेनन्, कारण एउटै थियो प्रतियोगिता नहुनु ।

एउटा खेलाडीको सपना नै धेरै भन्दा धेरै प्रतियोगितामा आफुलाई उभ्याउनु हुन्छ । जुन उद्देश्य प्राप्तिको लागि नेपाल प्रहरीमा आवद्ध भए त्यहाँ उनले सोचे अनुसार पाउन सकेनन् । सुविधा र अवसर दुवैबाट बन्चित भएपछि उनले मासिक २ हजार र पछि ४ हजारसम्म पारिश्रमिकलाई त्यागे । खेलाडीको रुपमा भारतीय सेनामा आवद्ध हुदाँ उनले ३५हजार रुपैयाँ पाउँथे । त्यसपछि बढेर १ लाख ५ हजारसम्म पाए । तर त्यसलाई पनि उनले चटक्कै छोडेर खेलाडी उत्पादनमा केन्द्रीय बने । भारतमा उनले राखेको कीर्तिमान आफनो व्यक्तिगत भएकोमा भन्दा पनि नेपालको प्रतिनिधित्व गर्न नपाएको चिन्ता दुखेसो र गुनासो थियो ।

खेलाडीको अवस्था हिजो जस्तो र आज पनि उस्तै छ । व्यवसायिकता भन्ने शब्द खेलकुदमा नअटाएको हो कि भन्ने उनलाई लाग्छ । अन्य खेलमा खेलाडीलाई व्यवासयिक रुपमा अनुबन्धन गर्दा एथलेटिक्स भने ओझेलमा परेको गुनासो उनीसँग छ । आफु जुनस्थितिबाट खेल करियर थालेका थिए अहिलेका अवस्थामा दुरुस्तै छ । उनी भन्छन्–‘मलाई परिवारले साथ सहयोग गरे । अरुको सहयोग शून्य रह्यो । अहिले पनि खेलाडीले आफ्नै तरीकाले खर्च गर्दै खेल्नुपर्ने बाध्यता छ । खेलकुदमा व्यवसायिकता केवल शब्दमा मात्रै सीमित छ । अझ पछिल्लो समय खेलकुदको निकायमा हुने राजनीतिक नियुक्तले खेलकुदलाई उचाईमा होईन अधोगति तर्फ धकेल्ने काम गरेका छन् । खेलाडीको मर्म र धर्मलाई कुल्चिएर अगाडि बढ्ने प्रयत्नमा जुट्छन् ।’

खेलेरै जीवनयापन गर्न सकिने अवस्था अझै बनेको छैन् । नियमित खेलकुद नहुदाँ खेलाडी कतिन्जेल प्रशिक्षण गर्ने भन्ने अन्यौलमा हुन्छन् । नियमित प्रतियोगिताले मात्रै खेलाडीलाई आफनो क्षमता कति छ भन्ने देखाउन पाउँछन् । तर त्यो अवस्था राज्यले सृजना गर्न नसकेको दुखेसो उनीसँग छ । उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रको नाम विश्वसामु चिनाएका खेलाडी यतिबेला पलायन भईसकेका छन् । केही पलायनको संघारमा छन् जुन कुराले उनलाई सधैं थकथक्याउने गरेको छ ।

संरचना बनेका छन् । ती संरचना केवल सीमित शहरमा मात्रै छन् । एथलेटिकको लागि चाहिने सिन्थेटिक ट्रयाक केवल चारवटा शहरमा मात्रै छ । संघीयताले बनेका प्रादेशिक संरचनाले खेलकुद कार्यक्रम केहीहदसम्म ल्याउँदै प्रभावकारी बनाउने प्रयास नभएको होईन् । तर दक्षजनशक्तिकै अभावमा रुमलिनुपर्ने बाध्यता अझै छ । प्राविधिक पक्षबाट अब्बल प्रशिक्षणमा दख्खल राख्ने प्रशिक्षक नहुदाँ खेलाडीको प्रदर्शन पनि सोचे जस्तो आउँदैन् । राईट म्यान राईट प्लेस भन्ने भनाई खेलकुदमा लागु नहुदाँ खेलक्षेत्र ध्वस्त हुदैं गएको छ । गैर खेलकुदकर्मीलाई राजनीतिक नियुक्त गरिदाँ खेलकुद अधोगतिमा गएको छ । खेलाडीमा निराशा छाएको छ ।

हिजोको एथलेटिक्स खेलाडीहरुको पारम्परिक शैलीकै कारण अहिले पनि एथलेटिक्स खेल धानिएको छ । पोखरा पूर्वाधारमा धनी छ तर त्यसलाई प्रभावकारी रुपमा अगाडि बढाउने प्राविधिक दक्षता र क्षमता भएका प्रशिक्षककै अभाव छ । विज्ञता नहुदाँ खेलाडीले प्रशिक्षण पनि राम्रो पाउन सकेका छैनन् । उनको एउटै गुनासो सधैं रहन्छ प्राविधिक रुपमा दक्ष प्रशिक्षक हुदोँ हो त खेलाडीको प्रदर्शन कस्तो हुन्थ्यो होला ।
सायद त्यही भएर होला आफुसँग भएको दक्षता र क्षमताकै आधारमा उनले खेलाडी प्रशिक्षण गराउँदै आएका छन् ।

स्वयंसेवक प्रशिक्षकको रुपमा विहान बेलुकी ट्रयाकमा उभिएर उनले नियमित प्रशिक्षण गराउँदै आएका छन् । ३५ जना प्रशिक्षार्थी छन् । हिजो एथलेटिक्स शून्य थियो । आज ३५ जना नियमित प्रशिक्षणमा छन् । प्रशिक्षणरत खेलाडीहरुले पाकिस्तानमा आयोजित क्रसकन्ट्री युथ साउथ एशियन च्याम्पियसिपमा कास्य पदक जितेर फर्किए । खेलाडीले पाएको पदकलाई उनले आफनो प्रशिक्षणको करियर बल्ल थालनी भएको अनुमान लगाउँछन् । भन्छन–‘गन्तव्य टाढा छ गन्तव्यमा पुग्न पहिलो पाईला चालेका छौं । विस्तारै प्रतिफल देखिन्छ । केवल खाँचो छ धैर्यता, मेहनत र लगनशिलताको ।’