१७ वर्षको उमेरमा राष्ट्रिय कीर्तिमान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १० गते २०८२ मा प्रकाशित


पोखरा-पदक जित्ने सपना सबै खेलाडीको हुन्छ । त्यसमा पनि अझ कीर्तिमानसहितको पदक खेल जीवनकै अविष्मरणीय हुन्छ । कीर्तिमान खास गरी तोड्नकै लागि खेलाडीले आफुलाई खेलकुद एरिनामा उभ्याउँछन् । कतिले नयाँ बनाउँछन् । कतिले बनाएको कीर्तिमान भंग गर्दै आफनो नाममा लेखाउँछन् ।

हो यस्तै कीर्तिमान कास्कीकी नारायणी भण्डारीको नाममा लेखियो । राष्ट्रिय खेलकुद परिषदको कीर्तिमान कायम गर्ने खेलाडीको सूचीमा उनी थपिइन् । उनले २५ वर्ष अघिको कीर्तिमानलाई तोडेर नयाँ कीर्तिमान आफनो नाममा लेखाईन् । प्रसंग हो, १५ औं राष्ट्रपति रनिङ शिल्डको । मिडल रेसर भण्डारीले ८ सय मिटर दौडमा नयाँ कीर्तिमानी कायम गरिन् । उनले २ मिनेट १७ दशमलव ९ सेकेण्डको समयमा पुरा गर्दै कीर्तिमानी स्वर्ण जितिन् । उनले २०५७ सालमा टीका चौधरीको नाममा रहेको २ मिनेट २८ दशमलव ९ सेकेण्डको समयलाई तोड्नि । उनको कीर्तिमानले खेलकुदमा तरंग फैलिएको छ ।
…..
उमेरले भर्खरै १७ टेकेको छ । ११ सकिएर १२ को पढाई शुरु भएको छ । खेल्ने र पढ्ने दुवै उनको रुची हो । स्वास्थ्य मानसिकताले स्वास्थ्य नजिता आउँछ भन्ने पूर्ण विश्वास उनीसँग छ । त्यसैले त उनको एथलेटिक्ससँगै पढाई एकैनास अगाडि बढेको छ । पुरानो घर कृस्ति । अहिले पोखराको विरौटमा बस्दै आएकी भण्डारी छोरेपाटन माविमा अध्ययनरत हुन् । स्कुले जीवनदेखि नै एथलेटिक्समा होमिएकी भण्डारी खास गरी मिडल रेसर हुन् । खासमा ८ सय, १५ सय, ३ हजार र ५ हजार मिटर दौड उनको रुचीभित्र पर्छ ।

बढ्दो उमेरसँगै उनको गोडा पनि लम्किएको छ । ट्रयाकप्रतिको लगावले उनलाई धाविकाको परिचय मात्रै बनाईदिएको छैन, नयाँलाई प्रेरणाको स्रोत पनि । पोखराको विद्यालयस्तरीय खेलकुदको इतिहासमै पहिलो कीर्तिमानी हो । जसले उनलाई थप कीर्तिमान बनाउन हुटहुटी जागेको छ । त्यसैले त उनको नियमित प्रशिक्षणले उनलाई अरु कीर्तिमान बनाउन हौसला थपिदिएको छ ।


दौडमा डोहोर्याउने काम स्कुलले गर्यो । स्कुलकै पीटि शिक्षक दिपक सुनार उनको दौडको प्रेरणाको स्रोत हुन् । उनै सुनारले विभिन्न प्रतियोगितामा उनलाई सहभागिता जनाउन डोहोर्याउँदै लगे । विद्यालयस्तरीय प्रतियोगितादेखि सडक दौडसम्म उनले राम्ररी अनुभव बटुलिन् । भन्छिन–‘पीटि टिचर दिपक सरले नै विभिन्न दौडमा सहभागिता जनाउन लैजानु हुन्थ्यो । उहाँले दौडमा भाग लिन प्रेरित गरेपछि म दौडिन थाले ।’ आठ कक्षा पढ्दा महानगरले आयोजना गरेको विद्यालयस्तरीय ५ किलोमिटर दौड(२०७६)मा उनको सहभागिता रह्यो । त्यसपछि २०७८ मा महानगर खेलकुद विकास समितिले आयोजना गरेको विद्यालयस्तरीय सडक दौडमा सहभागिता जनाउँदै प्रथम भईन् । त्यसपछि उनको मिडल रेसको यात्रा प्रारम्भ भयो । अहिले पनि मिडल रेसको यात्रा अविरल छ । गेम हुन्छ भनेर थाहै थिएन्, जब स्कुलबाट भाग लिन आएपछि मात्रै गेमको बारे बुझ्ने मौका पाईन् ।

सडक र चौरमा दौडिएकी उनको यात्रा एईई दिएपछि सिन्थेटिक ट्रयाकमा पुग्यो । उनी प्रशिक्षण गर्न बर्तमान कास्की जिल्ला एथलेटिक्स संघका महासचिव सिद्धान्त अधिकारी(जो आफैंमा १५ सय मिटर दौडको कीर्तिमानी धावक हुन्)सँग पुगिन् । अधिकारीकै प्रशिक्षणमा उनले झण्डै एक वर्ष प्रशिक्षण गरिसकेकी छन् ।
…..
विद्यालय झैं खेलकुदको पहिलो पाठशाला घर परिवार नै हो । परिवारको सहयोग विना खेलकुद सम्भव छैन् । उनलाई परिवारले पूर्ण सहयोग गरेको छ । परिवारिक सहयोगकै कारण उनको खेलकुद यात्रा कीर्तिमानसम्म तय भईसकेको छ । अझै कीर्तिमान बनाउने अभियान र लक्ष्यको हुटहुटीसँग छ । खेलकुदमा आउनु अघि उनी निकै कमजोरी थिईन् । सानैमा निमोनियाले अँठ्यायो । बुवा र काकाले रगत दिएर निमोनियालाई परास्त गरेर तंग्रिईन् । स्वास्थ्य भएपछि परिवारले नै खेलकुदको लागि हौसला थप्यो । ‘सानोमा निमोनिया भयो । अब बाँच्दिन समेत भने, कमजोर देखेर । सबैले त्यसो भनिरहँदा बुवाले हरेस खानु भएन् बुवा र काकाले रगत दिएर बचाउनुभयो ।’ निकै कठिन परिस्थितिबाट उठेर आएकी भण्डारी भन्छिन–‘निमोनियालाई जिते, त्यसपछि खेलकुदको यात्रा शुरु भयो । मेरो जितमा परिवारको खुशी मिसिएको छ ।’ उनी सम्झन्छिन सबैभन्दा पहिलो आफनो हेल्थ फिट हुनुपर्छ । हेल्थ नभएपछि खेलकुदको अर्थ रहदैन् । उनले आफुँ दौडिन थालेपनि स्वास्थ्य मात्रै नभई पढाईमा समेत सुधार भएको ठान्छिन् ।

‘ खेलकुद खेलेर पढाई बिग्रिदैन । जब मान्छे हेल्दी हुन्छ त्यसपछि मात्रै उसले अरु कुरा गर्न सक्छ ।’दश कक्षा पास भएपछि उनको दौडको यात्रा अझै फराकिलो बन्दै गयो । लेखनाथमा आयोजित हाफ म्याराथनको सन्दर्भमा भएको सडक दौड, वडास्तरीय सडक दौडमा उनको दरिलो उपस्थिति हुदैं गयो । गएको चैतमा कास्की जिल्ला एथलेटिक्स संघले आयोजना गरेको पोखरा ओपन एथलेटिक्स मिटमा १५ सय मिटर दौडमा विभागीय खेलाडीलाई पछि पार्दै स्वर्ण जितिन् । त्यो नै उनको सबैभन्दा ठूलो पदक थियो ।


११ कक्षामा पढ्दै गर्दा उनले जिल्ला हुदैं प्रदेश राष्ट्रपति रनिङशिल्ड खेल्न गोरखा पुगिन् । जहाँ उनले खेलाडीले पाउनुपर्ने सुविधा भन्दा भोग्नुपर्ने पीडा बढी रह्यो । सिन्थेटिक ट्रयाकमा दौडिएको खेलाडीले फेरी चौरमा दौडिनुपर्ने बाध्यता । एकातिर चोट पटकको चिन्ता छँदै थियो, अर्को तर्फ प्रदेशको लागि छनोट मात्रै नभई स्वर्ण जित्नु चुनौति थियो । गोरखामा उनले स्वर्ण जित्दै अगाडि बढ्नि । यद्यपी खेलाडीलाई एउटा खेल खेलेपछि कति रेष्ट चाहिन्छ भन्ने हेक्का आयोजकले नराख्दा भोग्नुपरेको पीडा उनीसँग छ । काठमाडौंमा भएको प्रतिस्धर्पामा खेलाडीले पाउनुपर्ने सुविधा भन्दा पनि दुख बढी भयो । ८ सय मिटरमा उनले नयाँ कीर्तिमान कायम गरिन् । कीर्तिमान स्वरुप परिषदले १० हजार रुपैयाँ प्रदान गर्यो । तर उनको कीर्तिमानलाई ख्यालै नगरी अर्को खेलाडीलाई उत्कृष्ट खेलाडी घोषित गरियो । त्यो घोषणाले उनको कीर्तिमानी ओझेलमा पर्यो ।

उनको कीर्तिमानको चर्चा नेपाली एथलेटिक्स क्षेत्रमा छ । तर गण्डकी प्रदेशमा भने उनको नाम गुमनाम छ । खेलाडीलाई सहयोग गर्नुपर्छ भन्ने ध्येय सरोकार निकायले राख्न नसक्नु दुखद हो । उनी भन्छिन–‘कीर्तिमान कायम गरेपनि प्रदेश र अन्य सरोकार निकायको सहयोग छैन् । खेलाडीलाई हौसला र प्रोत्साहित गर्नुपर्छ । जसले नयाँ खेलाडीलाई पनि खेल क्षेत्रमा आउन प्रेरित गरोस ।’ अहिले उनको तयारी कर्णाली प्रदेशको सुर्खेतस्थित बीरन्द्रनगर नगरपालिकामा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा छ । नियमित प्रशिक्षणमा छिन् । उनी भन्छिन–‘खेलाडीले नियमित प्रशिक्षणमा रहिरहन्छ । तर खेलकुद आयोजना हुन्छ भन्ने ठेगान नै हुदैन् ।

वर्षदिनको तयारी कामै लाग्दैन् । गेम नहुदाँ प्रशिक्षण खेर जान्छ, समस्या हुन्छ ।’ उनको भनाई अनुसार एउटा खेलाडीले प्रशिक्षण गरेर मात्रै हुदैन् उसको मेहनत देखाउने ठाँउ प्रतियोगिता नै हो । प्रतियोगिता विना खेलाडी उत्पादनको सम्भावना नहुने उनको ठम्याई छ । मनोबल बढाउन पनि खेलकुद प्रतियोगिता आवश्यक छ । नियमित प्रतियोगिता भए कीर्तिमान बनिरहने उनी सुनाउँछिन् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको लागि कास्की जिल्ला एथलेटिक्स संघले नियमित प्रशिक्षणसँगै डाईटको व्यवस्था गरेको छ । हिमालयन ईलिट रनले आवश्यक खेल सामाग्री सहयोग गर्दै आएको छ । जसले एथलेटिक्स खेलाडीलाई उर्जा थपिएको छ ।