आर्चरीका अभिभावक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण २३ गते २०८२ मा प्रकाशित


धन बस्नेत, पोखरा-कुनै समय थियो, तारा खेल(आर्चरी , परम्परागत धनुष वाण) खेलेर जग्गा किन्न सकिन्थ्यो । खेलेर बकस पाईन्थ्यो । त्यही बकसले जग्गा किन्न सकिन्थ्यो । आशिक(आशिर्वाद) हालेर खेलिन्थ्यो । बुढापाकाले त्यसरी नै खेल्न शुरु गरेको परम्परागत आर्चरी वित्दै जादाँ पैसा राखेर खेल्न शुरु गरियो । खोल हानेपछि पैसा पाईन्थ्यो । बाजी जितिन्थ्यो । त्यसले जग्गा किन्न सकिने जमाना थियो ।

कुरा सत्तरी दशक अघिको हो । जतिबेला हरिध्वज तुलाचन(८२) बालखै थिए । २००१ सालमा मुस्ताङको टुकुचेमा जमिन्एका तुलाचनलाई अझै सम्झना छ । २००६ सालमा आफना बुवाहरु परम्परागत धनुष खेल्थे । निश्चित दुरीमा राखेर काठको तार्गेट बनाई शर(वाण) हानिन्थ्यो । तार्गेटको बीचमा सानो खोल बनाईन्थ्यो । जहाँ शर प्रहार गर्यो पैसा पाईन्थ्यो । त्यतिबेला ५ रुपैयाँ १० रुपैयाँ जितिन्थ्यो । ‘पहिला तारा खेल खेलेर जित्नेले घरजग्गा किन्न सक्थे ।’ उनी इतिहास सम्झन्छन् ।

तारा खेल खास गरी थकाली समुदायले प्राचीन इतिहासदेखि नै खेल्दै आएका हुन् । शत्रुलाई पराजित गर्न हतियारको रुपमा प्रयोग हुन्थ्यो । तर पछि खेलको रुपमा परिणत हुदैं गयो । थकाली समुदाय भएको ठाँउमा परम्परागत तारा खेल खेलिन्थ्यो । विशेष गरी थकाली समुदायले फागुन पूर्णिमामा तोरन्ल पर्वमा तारा खेल्ने परम्परा अझै जिवितै छ । पाका उमेरका थकाली समुदायले अझै पनि परम्परागत खेललाई जीवन्त बनाईराखेका छन् ।

परम्परागत खेल विस्तारै परिमार्जन हुदैै गयो । आधुनिक आर्चरीमा परिणत हुन पुग्यो । महंगो बो र शरले आर्चरीलाई अझै आधुनिक बनाईदिएको छ । उनै तुलाचनले परम्परागत तारो हान्ने खेललाई आधुनिक आर्चरीसम्म ल्याईपुर्याए । युवा पुस्ताले आधुनिकता तर्फ उन्मुख हुदाँ मनमा भने अझै पनि परम्परागत धुनष वाणलाई पनि जर्गेना गर्नुपर्नेमा जोड दिदैं आएका छन् । ‘हामी बच्चदेखि नै खेल्थ्यौं । दाजुहरुले धनु र शर किनेर ल्याईदिन्थे ।’ उनीसँग पुराना स्मरण अझै ताजै छ ।

आर्चरी खासगरी एकखाले मेडिटेसन हो । मेडिटेसन विना आर्चरी सम्भावना नै छैन् । त्यसैले त ध्यान खेलको लागि अत्यावश्यक छ । हुन त उनी आफै पनि ध्यानमा बसेर दिक्षित भए । लामाको छोराको रुपमा जन्मिएका तुलाचनले विभिन्न समयमा गरी ११ वर्ष ध्यान बसे । ‘म लामाको छोरा । ध्यान बस्न मलाई मनै थिएन् । तर पनि विभिन्न समय गरी ११ वर्ष ध्यान गरे ।’ उनी भन्छन् ।

त्यतिबेला नै मुस्ताङबाट थकाली समुदायको बसाईसराई भईसकेको थियो । पोखराको विभिन्न ठाँउमा थकाली समुदायले परम्परागत धनुषवाण खेल्थे । थकाली सेवा समिति गठन भएपछि पम्परागत खेललाई अझै परिस्कृत गर्ने काम भयो । गठनपछि तारा खेल खेल्ने भनेर तय गरियो २०६० सालमा । त्यही प्रतियोगिताले कास्की जिल्ला आर्चरी संघ गठनको ढोका खुल्यो । नेपाल मै पहिलो पटक कास्की जिल्ला आर्चरी संघमा तुलाचनलाई अध्यक्षमा मनोनयन गरियो । भर्खरै खेलको विकास हुदैं गएको थियो । उनलाई अध्यक्षको जिम्मेवारी लिएपछि आर्चरीले फड्को मार्यो । उनकै समयमा आर्चरीले पोखरा रंगशालाभित्र जग्गा प्राप्त गर्यो । प्राप्त जग्गालाई तारजाली लगाई संरक्षण उनै तुचालनको पालाबाट शुरु भयो । जुन अहिने नेपालकै एकमात्र आधुनिक आर्चरी मैदान बनेको छ ।

दुई कार्यकाल अध्यक्ष जिम्मेवारी सम्हालेकै बेला मैदानलाई बारबन्धन गरियो । बारबन्धन गरेपछि नियमित रुपमा प्रतियोगिता हुन थाल्यो । प्रतियोगितालाई बैंकले आर्थिक सहयोग गर्यो । प्रतियोगिताको लागि पृथ्वीबहादुर पाँडेले गरेको आर्थिक सहयोग मनभरी सम्झिरहन्छन् । उनी भन्छन् ‘उहाँको(पाँडे)को बैंकले गरेको आर्थिक सहयोगले प्रतियोगिता वर्षेनी आयोजना गर्दै आयौं । जसले आर्चरी खेलको विकासमा कोशेढुंगा नै भयो ।’

तुलाचनले बसालेको आर्चरीको जगलाई बलियो बनाउने काम भने सिंगापुरबाट फर्किएका किशोरकुमार गुरुङले गरे । गुरुङले आधुनिक आर्चरीको आधारशिला तयार पारे । नियमित प्रशिक्षण शुरु गराए । त्यँहीबाट कास्कीको आर्चरीको नयाँ अध्याय शुरु भएको थियो । अहिले पनि गुरुङले नियमित प्रशिक्षण गराउँदै आएका छन् । आर्चरीका अभिभावक रुपमा रहेका तुलाचन भन्छन–‘त्यतिबेला नियमित रुपमा महिलाहरु प्रशिक्षणमा थिए । उनीहरु केही वर्ष अझै रहेको भए सायद आर्चरीमा नेपालीले ओलम्पिक खेल्ने थिँए । तर विडम्बना विवाह गरेर गएपछि सबैको आर्चरी खेल बन्द भयो ।’

संघको नेतृत्वमै रहँदा उनले अन्नपूर्ण आर्चरी क्लब गठन गरे २०६४ सालमा । जिल्लाको नेतृत्वपछि केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाले । केन्द्रीय उपाध्यक्ष बन्दै २०७३ सालमा आईपुग्दा केन्द्रीय अध्यक्षको बागडोर सम्हाले । त्यसअघि जिल्ला अध्यक्ष हुदाँ विदेश जाने अवसर प्राप्त गरे । २०६८ सालमा उनी स्वीटजलर््याण्ड पुगे । ‘नेपाल भनेपछि माग्छन् भन्ने आम बुझाई थियो । तर मैले केही मागिन । सबै अचम्म परे ।’ विदेश यात्राको स्मरण गर्दै भन्छन् ‘त्यहाँ पुगेपछि मात्रै खेल खेलेर पहिचान बनाउनुपर्छ भन्ने थाहा पाँए ।’

पीडा, तनाब र दुख के हो भन्ने तुलाचनलाई राम्ररी थाहा छ । ६ वर्षकै उमेरमा आमा गुमाएको पीडा मनभरी थियो । आमा गुमाएपछि हुर्काउनुभएकी ठुलो आमाले पनि सानै उमेरमा छाडेपछि तुलाचन नितान्त एक्लो बने । उनलाई हुकाउने जिम्मेवारी बुवाको काँधमा थियो । बुवाले मलाई लामा बनाउन चाहनुहुन्थ्यो । तर मलाई मनै पर्दैन्थ्यो । लामा बन्न ध्यान बस्नुपर्ने थियो । मलाई ईच्छा थिए । तरपनि मैले ११ वर्ष ध्यान गरेर दिक्षा लिएको सुनाउँछन् । २०१२ सालमा ठुली आमा गुमाएपछि उनले २०१५ सालमा केवल १५ वर्षकै उमेरमा विवाह गरे ।
त्यतिबेला बालविवाह चल्थ्यो । सानै भएपनि घरव्यवहार चलाउनुपर्ने दायित्व र जिम्मेवारीले उनलाई विवाह गर्नुपर्ने बाध्यता आईपर्यो । उनले विवाह पनि स्कुल सँगै पढ्ने सहकर्मीसँग गरे । विवाहको किस्सा पनि कम्ती रमाईलो छैन् । ३ सय रुपैयाँ लिएर स्कुले साथीलाई भगाई पोखरा जाने सुर कस्दा गाँउले समातेर कोठामा थुनेर राखे । बुवालाई खबर गरे । विवाहको सबै कुरा सुनेपछि बुवा पनि खुशी हुनुभयो । खुशी हुनुपर्ने कारण एउटै थियो, घर नारी विहीन । नारी विना घर चल्दैन भन्ने चलन थियो । त्यही भएर बुवाले पनि विवाहको लागि राजी हुनुभयो । विवाहपछि २०१६ सालमा पोखरा झरे । पोखरा खास गरी तीर्थ जाने भनेर आँए । त्यतिबेला भारतमा दलाई लामाको बौद्ध सम्मेलन थियो । भारतमा दलाई लामासँग भेट भयो । गाउँ फर्किए । एकवर्षपछि २ हजार ४ सय रुपैयाँ लिएर ०१७ सालमा पोखरा ओर्लिए । त्यतिबेला उद्देश्य थियो, पोखरामै घडेरी किन्ने । विवाहको दुईवर्ष पछि छोरी जन्मियो । तर भगवानको प्यारो भएपछि उनीमाथि बज्रपात भयो । जेनतेत सम्हालिए । अर्को वर्षपनि जन्मिएको सन्तानले धर्तीलाई राम्ररी चिन्नै सकेन् । खेर गएपछि अर्को चोट थपियो ।

पोखरा झरेपछि उनले औषधी पसल थाप्ने सल्लाह साथीभाइ डाक्टरले दिए । उनले पनि गाँउमा हुदाँ आफनै बुवा आम्ची थिए । बुवाँसँग औषधी उपचार गर्ने आम्ची बनेर सेवा गर्थे । औषधी पसल थाप्न पैसा थिएन । पैसा नभएपछि पोखराबाट दुईदिन हिडेर तुलाचन गाँउ पुगे । गाँउबाट बुवासँग ३ हजार रुपैयाँ लिएर फेरी फर्किए । पसल थापे । आम्दानी गरेपछि २१ हतको घडेरी जोडे । जोडेको घडेरीमा दुईकोठा बनाए । विरामी उपचारको लागि । औषधीमुलो मात्रै नभई सुई समेत लगाउँथे । त्यसैले त उनीमाथि सर्वसाधारणको विश्वास थियो । पैसा जम्मा हुदैं गएपछि दुईकोठालाई बढाएर ७ वटा कोठा बनाए । गाँउघरबाट आउने युवाहरुलाई बास बस्ने व्यवस्था गरे ।

गाँउमै हुदाँ आम्ची मात्रै नभई थान्का कोर्थे । चित्र बनाउँथे । मूर्ति कुँदथे । राजा परिवारलाई थान्का बनाएर पठाउँथे । त्यसबापत ५ सय देखि एकहजार सम्म बकस आउँथ्यो । २०३० सालमा बुवाको निधनपछि उनले जीवनमा सबै गुमाएको अनुभूति भयो । पोखरामा आफनो व्यवासयिक जग बसाउने सुरसार कस्दा बुवाको निधनले आघात पुग्यो । २०३४ सालमा बीरेन्द्र राजाको राज्यभिषेक बेला ऋण स्वीकृत भएपछि होटल बनाउन शुरु गरे । आर्चरीका संस्थापक हुदैं आम्ची र थान्का कोर्न मात्रै नभई उनको परिचय फेरियो होटलिएर बनेर । उनै तुलाचन तत्कालिन क्षेत्रीय होटल संघ पोखराका संस्थापक अध्यक्ष हुन् ।

आर्चरीलाई मात्रै नभई उनले गल्फलाई पनि उत्तिकै माया गर्थे । मेजर लछिमीप्रसाद गुरुङले गल्फर बने । गल्फमा उनले झण्डै १५ वर्ष विताए । गल्फ बिताए पनि आफनो थातथलोको परम्परागत खेल आर्चरीलाई भुल्न सकेनन् । वर्षेनी थकालीहरुको महान पर्व तोरन्लमा तारो हान्न अघि सर्छन् । भन्छन–‘परम्परागत धनुषवाणलाई आधुनिक आर्चरीसँग जोड्नुपर्छ । आर्चरीको शर स्थानीयस्तरमै उत्पादन हुन्छ । त्यसलाई व्यवसायिक रुपमा अगाडि लैजानुपर्छ ।’