फुटबलबाट मिडल रेसरको पहिचान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २८ गते २०८२ मा प्रकाशित


धन बस्नेत\पोखरा
भर्खरै पोखरा रंगशाला निर्माण भएको थियो । निर्माणसँगै दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको थियो । पोखरामै राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहँदा सोमबहादुर राना भने नेपाली सेनाको कम्ब्याटमा सजिएर पाईला चाल्दै थिए । यता प्रतियोगिता चलिरहँदा रानाको दैनिकी भने आर्मीको सैन्य तालिममा वित्दै थियो ।

त्यतिबेलाको श्री शेर गण(पोखराको फुलबारी व्यारेक) मा उनी तालिममा थिए । फुटबल प्रति रुची थियो । फुटबलमा राम्रै भएपछि नेपाली सेनाको हेडक्वार्टर प्रस्थान गए । फुटबलको तालिम चल्यो । तालिममा नियमित दौडिनुपथ्र्यो । फुटबलको प्रशिक्षण लिन पुगेका रानाको खेलकुद करियर एकाएक धावकमा रुपान्तरण भयो । रुपान्तरण हुने सल्लाह आर्मीबाटै भएको थियो । फुटबल होईन धावक बन्नुपर्छ भन्ने सल्लाह दिएपछि रानाको करियर मिडल रेसरको रुपमा परिचित बन्न पुग्यो ।

०४३ सालमा उनी पोखरा फर्किए । आर्मी हुदाँ आर्मीक्लब गठन भईसकेको थिएन् । क्लबबाट खेल्ने चाहना अधुरै रह्यो । तत्कालिन गण्डकी अञ्चलबाट उनी सहभागि बन्दै आए । तर दुर्भाग्य राना राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने अवसर नै पाएनन् । केवल एथलेटिक्सको राष्ट्रिय प्रतियोगितामा आफुलाई उभ्याए । मिडल रेसरको पहिचान बनाए ।

०४३ सालमै पोखरामा रसियन गुरुबाट दौडको प्रशिक्षण लिने अवसर पाए । त्यही प्रशिक्षणले उनलाई धावक बन्ने हुटहुटीलाई मूर्त रुप दिए । सोही वर्ष महेन्द्रनगरमा आयोजित एथलेटिक्सको राष्ट्रिय प्रतियोगितामा ८ सय मिटरमा उनको पहिलो सहभागिता रह्यो । गण्डकी अञ्चलबाट खेलेको उनले स्वर्ण पदक जिते । १५ सय मिटरमा पनि उनले आफुलाई उभ्याए । त्यसमा रजत पदक जिते । पदकसँगै राना मिडल रेसरमा आफुलाई दर्याए ।
……………………………
चालिसको दशक थियो । त्यतिबेला भारतीय सेनामा भर्ती हुने चलन थियो । गाँउ घरका अधिकांश युवा भारतीय भर्ती देखाउन जान्थे । सोमबहादुर राना(६१)ले भारतीय भर्ती देखाउन पुगे । तर फालिए । भारतीय सेनामा भर्ती नभएपछि उनको रोजाई नेपाली सेना भर्ती हुने सपना बुने । नम्बर तीन बाहिनी(फुलबारी व्यारके पोखरा)मा उचाई नापियो । स्वास्थ्य परीक्षण गरियो । पढाईलाई खासै महत्व दिईदैन्थ्यो । उमेरले २३ बर्ष लागेका थिए । त्यो उमेरमा उनी नेपाली सेनामा भर्ती भए ।

“भर्ती हुनुपर्छ है भनेर आमाले भन्नुभयो । आमाले नै भर्ती हुन पठाएपछि म पनि भर्ती हुन गए । नेपाली सेनामा भर्ती भएँ ।” २०४० सालमा भर्ती भएको प्रसंग कोट्याउँदै राना भन्छन—“भर्ती हुनलाई पढाईलाई खासै महत्व थिएन् । उचाई नापे। स्वास्थ्य परीक्षण गरेपछि छनोट भएँ । एउटा अल्लारे युवाको दैनिकी एकाएक फेरियो । आर्मीको रहनसहनमा बाँधिनुपर्यो ।

आर्मीमा हुदाँ फुटबललाई आफनो सबैथोक ठान्थे । तर आर्मी हेडक्र्वाटरमा फुटबलको प्रशिक्षण लिन पुगेपछि नयाँ मोड लियो । फुटबल होईन दौड तर्फ जान अग्रजले सल्लाह लिदए । ”फुटबल प्रशिक्षणमा दौडिनुपथ्र्यो । मेरो दौड देखेर अरुले मलाई फुटबल होईन धावक बन्न सल्लाह दिए । त्यसपछि म मिडल रेसर धावक बन्न पुगे ।” उनी इतिहास कोट्याए ।
…………………….
आर्मी क्लब भर्खरै गठन भएको थियो । ०४५ सालमा आर्मी क्लब गठन भएपछि आर्मीभित्र नियमित प्रशिक्षण हुन थाल्यो । तर परिषदले आयोजना गरेको राष्ट्रियस्तरको प्रतियोगितामा उनले आफनो नामलाई चम्काउन पाएनन् । एथलेटिक्स संघकै अगुवाईमा हुने राष्ट्रियस्तरका प्रतियोगितामा भने उनले सहभागिता जनाउँदै आए । आर्मीमा हुदाँ उनले आफनो ८ सय मिटर दौडको समय १ मिनेट ५६ सेकेण्डको रेकर्ड रहेको सुनाउँछन् । ४ सय मिटर केवल ५१ सेकेण्ड र १५ सय मिटर भने ३ मिनेट ५५ सेकेण्डका रहेको सुनाउँछन् ।

बीरगंज, पोखरा लगायतका शहरमा भएका एथलेटिक्स प्रतियोगितामा सहभागिता जनाएको स्मरण सुनाउँछन् । आर्मीमा रहँदा एथलेटिक्स प्रतियोगिताहरुमा आफुले पाएको सफलताको कडी जाँच्ने अवसर भने एशियन गेम्समा प्राप्त भयो । १९९४ मा जापानमा आयोजित १२ औं एशियन गेम्समा उनी नेपालको प्रतिनिधित्व गर्दै छनोट भए । ८ सय मिटर उनको मुख्य इभेण्ट हो । त्यही इभेण्टमा उनले नेपालको जर्सी लगाए । छैटौं स्थान प्राप्त गरेको उनी बताउँछन् । त्यस लगत्तै १९९५ मा भारतको मद्रासमा आयोजित साफ च्याम्पिनसिपमा सहभागिता जनाएर फर्किए ।
दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर फर्किएपछि उनको आर्मीको रोजगारीलाई निरन्तरता दिए । २०५२ सालदेखि देशमा माओवादी विद्रोह शुरु भयो । त्यसपछि उनको दैनिकी ब्यारेकभित्र सीमित रह्यो । कहिले कता कहिले कता हुदैं दैनिकी वित्यो ।
………………………………………………
उनको रमाईलो किस्सा छ । आर्मीमा भर्ती भईसकेपछि मात्रै नेपाली नागरिकता बनाए । भन्छन्—“आर्मीमा भर्ती हुदाँ नागरिकता थिएन् । भर्ती भईसकेपछि फुलबारी व्यारेकमा हुदाँ नागरिकता बनाएँ ।” पोखराबाट आर्मीको यात्रा शुरु गरेका रानाले जनआन्दोलनको समय २०६२ सालमा सेनाको जीवनबाट विदा लिए । बीस बर्से सेवापछि अवकाश लिए ।

पोखरा ३१ लामास्वाँरामा जन्मिएका रानाले पोखरापछि सिंहदरबार(०४५), त्यसपछि धनगढी टेघरी व्यारेक(०४७), चितवन राष्ट्रि निकुन्ज कसरा(०५१), फेरी सिंहदरबार(०५३) त्यसपछि दोलखामा(०५९—०६२) हुदैं रिटायर्ड भएको बताउँछन् ।

आर्मी हुदाँ सुखद र दुखद दुवै अविस्मरणीय घटना भएको सुनाउँछन् । दोरम्बा घटना हुदाँ आफनो सहकर्मी(सिपाही)को माओवादी आर्कमणमा निधन भयो । बाक्लो हुस्सु कुहिरो लाएको थियो । केही देखिदैन्थ्यो । त्यो क्षण निकै दुखद रहेको बताउँछन् । सुखद घटना भने एशियन गेम्समा सहभागि हुन पाउँदाको क्षण सम्झन्छन् । “एशियन गेम्स खेल्न जादाँ आर्मीले क्लोज क्याम्प पठायो । हिरोसिमामा २१ दिन बसियो । दैनिक ४ डलर भत्ता दिएका थिए । त्यो नै सुखद क्षण रह्यो ।” उनी सम्झन्छन् ।

दुई छोरा र एक छोरीका पिता रानालाई केही दिन अघि मात्रै कास्की जिल्ला एथलेटिक्स संघले अग्रज खेलाडीको रुपमा सम्मान गर्यो । नगद १० हजार राशीसहित सम्मानित गरिएको थियो । संघद्वारा सम्मानित हुने उनी पहिलो एथलेटिक्स खेलाडी हुन् ।