केन्याली स्टेफन र नेपाल प्रहरीकी प्रसाँई पोखरा म्याराथन च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ७ गते २०७८ मा प्रकाशित


महिला हाफ तथा खुल्ला पोखरा म्याराथनका विजेता धावकहरु उपाधिसहित ।

पोखरा-सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले उपाधि रक्षा गर्न सफल भईन् । नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६औं सस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन् । उनी पोखरा म्याराथन जित्ने दोस्रो विदेशी धावक हुन् । १४ औं संस्करणमा जापानीज धावक योसुके ताकानासीले उपाधि जितेका थिए ।

केन्याली धावक कोसगेईले २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै चार लाख नगद राशीसहितको पुरस्कार प्राप्त गरे । पोखरा म्याराथनमा उनको किर्तिमानी समय हो । यसअघि नेपाल आर्मीका धावक अर्जुनकुमार बस्नेतले छैटौं पोखरा म्याराथनमा २ घण्टा २५ मिनेट ०१ सेकेण्डमा पुरा गर्दै किर्तिमानी बनाएका थिए । जुन किर्तिमानलाई केन्याली धावकले एकदशकपछि तोडेका हुन् ।

पहिलो पटक नेपालमा म्याराथनको लागि पोखरा आएका कोसगेईले उपाधि जित्दा खुशी व्यक्त गरे । उनले म्याराथन दौडिदा सुरक्षाकर्मीको सहयोग निकै राम्रो रहेको उल्लेख गरे । ‘प्रदुुषणरहित, स्वच्छ बातावरण र हावा चलेन् ।’ उनले अनुुभव साट्दै भने–‘बाटोको अवस्थामा राम्रो देखियो । सबैको सहयोग रह्यो । आयोजकप्रति धन्यवाद छ ।’ खुल्ला म्याराथनकै दोस्रो पुरस्कार पनि केन्याली धावकको नाममा लेखियो । सिमिओन किप्लागातोले २ घण्टा २१ मिनेट ०३ सेकेण्डमा पुरा गर्र्दै दुईलाख नगर राशीको पुरस्कार प्राप्त गरे । त्यस्तै नेपाली सेनाका धावक मोहनदेव जोशीले २ घण्टा ३३ मिनेटमा ४४ सेकेण्डमा पुरा गर्दै तेस्रोस्थानमा आउँदा शसस्त्र प्रहरी बलका धावक सन्तोषविक्रम विष्टले २ घण्टा ३४ मिनेट ४८ सेकेण्डमा पुरा गर्दै चौथो बने । पाँचौ स्थानमा भने सोलुखुम्बुका सुमन कुलुङले २ घण्टा ३९ मिनेट ४७ सेकेण्डमा पुरा गरेका थिए ।

महिला तर्फको हाफ म्याराथनको उपाधि प्रसाईले दोस्रो पटक उचालिन् । राजुपुराले गतवर्षको समयलाई सुधार्दै १ घण्टा २१ मिनेट २६६ सेकेण्डमा पुरा गर्दै उपाचि जित्न सफल भईन् । गतवर्ष उनले उपाधि जित्दा १ घण्टा २७ मिनेट ०१ सेकेण्डको समय लगाएकी थिईन् । शसस्त्र प्रहरी बलकी बृन्दा श्रेष्ठले १ घण्टा २७ मिनेट ४१ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा रहिन् । जुम्लाकी धाविका राममाया बुढाले १ घण्टा ३० मिनेट ४८ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा आउँदा बेलायतकी हेनाह केरसले १ घण्टा ३२ मिनेट ५८ सेकेण्डमा पुरा गर्दै चौथो स्थानमा रहिन् ।


खुल्ला म्याराथन विजेताले नगद ४ लाख, दोस्रो हुनेले २ लाख, तेस्रो स्थानमा रहने धावकले १ लाख र चौथो स्थानमा रहेका धावकले भने सान्त्वना रुवरुप ३० हजार प्राप्त गरे । महिला तर्फ हाफ म्याराथन विजेताले नगद १ लाख, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वना स्वरुप १५ हजार नगद राशी प्राप्त गरे । उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पदकसहित नगद प्रदान गरेका थिए । पुरस्कार वितरण गर्दै मुख्यमन्त्री पोखरेलले पोखरालाई खेलकुदको हब बनाउन वर्षेनी आयोजना गरिने गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पारे ।

खुल्ला म्याराथनमा १६२ जना पुरुष धावकहरुले प्रतिस्पर्धा गरेका थिए । म्याराथनमा केन्याका २ जना धावक पहिलोपटक पोखरा आएका थिए । केन्याली धावकसहित बंगलादेश, भारत, बेलायत, अमेरिकन धावकले प्रतिस्पर्धा गरेका थिए । १७ जिल्लाका धावकहरुले प्रतिस्पर्धा गरेका थिए । दौड पोखरा रंगशालाबाट शुरु भई पोखराको विभिन्न ठाँउ परिक्रमा गरेर पोखरा रंगशालामै आई टुंगिएको थियो ।
महिला हाफ म्याराथनमा ३९ धाविकाले प्रतिस्पर्धा गरेका थिए । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत अन्य ६ वटा इभेन्टहरु आयोजना गरिदैं आएको छ । चैत्र १२ गते शनिवार महिला÷पुरुष १० किमि दौड, विद्यालयस्तरीय छात्र÷छात्रा ५ किमि दौड, महिला÷पुरुष ह्विलचियर तथा दृष्टिविहीन दौड आयोजना गर्ने मञ्चले तय गरेको छ ।

पोखरालाई खेलकुद शहर एवं खेलकुद पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित २०५८ सालदेखि मञ्चले पोखरा म्याराथन आयोजना गर्दै आएको छ । शुरुवातको समयमा राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको थियो । त्यसपछि राजनीतिक अस्थिरतासँगै वाणिज्य बंैंकले मुख्य प्रायोजनबाट पछि हट्यो । २०६५ सालमा १० किलोमिटर दौड मात्रै आयोजना गरिएको थियो । त्यसपछिको संस्करण एकैपटक ०७२ सालमा आएर आयोजना गरिएको थियो । २०६४ पछि २०७२ सम्मको अवधिमा मुख्य प्रायोजनकै अभाव र आर्थिक सहयोग जुटाउन नसक्दा मञ्चले म्याराथनलाई थाँती राख्यो । पोखराको प्रतिष्ठासँग जोडिएको म्याराथनलाई सुजल डेरीको उत्पादन सफल दूधले प्रायोजन गरेपछि फेरी निरन्तरत पाएको हो । सफल दूधले निरन्तर मुख्य प्रायोजन गर्दै आएको छ ।