बुद्धिचाल संघ कास्कीका अध्यक्ष कोईरालाको निधन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १८ गते २०८० मा प्रकाशित


पोखरा-कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष अनिलबहादुर कोईरालाको निधन भएको छ । उनको उपचारको क्रममा बुधबार निधन भएको हो । तीन दिन अघि हृदयघात भएको थियो । अध्यक्षको निधनले कास्की जिल्ला बुद्धिचाल संघ स्तब्ध बनेको छ । संघले उनको निधनले कास्कीलाई अपुरणीय क्षति भएको महशुस गरेको छ । स्व. कोईरालाको पार्थिव शरीरलाई सेतीनदी किनार शान्तिघाटमा अन्त्येष्टि गरिने छ ।

कोईराला तीन पटकका कास्की च्याम्पियन हुन् । सानैदेखि बुद्धिचालप्रति अभिरुची राख्ने कोईरालाले २०५४ सालमा आयोजित कास्की ओपन च्याम्पियनसिपमा च्याम्पियन बनेका थिए । कोईराला बुद्धिचालका निर्णायाक(आर्विटर) समेत हुन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनी व्यवस्थापकको जिम्मेवारी सम्हालेका थिए ।

उनले विदेशमा समेत पुगेर बुद्धिचाल प्रतियोगितामा सहभागिता जनाईसकेका छन् । आफु मात्रै नभई छोरालाई समेत बुद्धिचाल प्रतिस्पर्धा गर्न विदेशसँगै लगेका थिए । बुद्धिचाल संघ कास्कीका सल्लाहकार तथा प्रदेश बुद्धिचाल संघ गण्डकीका प्रशिक्षक राम क्षत्रीका अनुसार कोईरालाले थाइल्इण्ड र इरानमा बुद्धिचाल प्रतिस्पर्धामा सहभागिता भएका थिए । आफुसँगै छोरालाई समेत प्रतिस्पर्धाको लागि विदेश लगेको प्रशिक्षक क्षत्रीको भनाई थियो ।

खेलकुदसँगै स्व. कोईराला सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेका थिए । स्व. कोईरालाका श्रीमती लीला, दुई छोरा अचल र अविनभ छन् ।